२०८३ बैशाख २६

देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ । 

काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् ।

काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् ।

प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासतर्फ जादै गरेको समुहलाई प्रहरीले रोकेको छ ।

भक्तपुरमा दरबार स्क्वायर क्षेत्रमा युवाहरुले प्रहरीलाई लखेटेका छन् । 

काठमाडौँ बाहिर विभिन्न जिल्लामा राजनीतिक दलका कार्यलयमा तोडफोड र आगजनीका खबर प्राप्त भएका छन् ।

Read More

रास्वपाको अर्घाखाँची जिल्ला पार्टी कार्यालय तोडफोड

बुटवल । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।

मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए । 

यस अघि एक समुहले नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।

Read More

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

झापा । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन् ।

प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

Read More

ओलीले अबिलम्ब छोड्नुपर्छ, काँग्रेस यो परिस्थितिको थप साक्षी बन्न सक्दैन: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने  बताएका छन् ।

महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहन सक्दैन भन्दै पार्टीको बैठकबाट सरकारबाट तत्काल फिर्ता हुने निर्णय गराउन लाग्ने बताएका छन् ।

उनले भनेका छन्- 
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।

Read More

आजको शेयर कारोबार स्थगित

काठामाडौं । आजको शेयर कारोबार स्थगित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।

Read More

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । 

कांग्रेसबाट मन्त्री बनेका अधिकारीले जेनजीले गरेको सोमबारको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन् ।

राजीनामाको घोषणा गर्दै उनले भनेका छन्- 
आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल !
म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ‘नेता हौं’ भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

Read More

जेनजीको आन्दोलन उग्र हुदै, प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ ।  उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन्  ।

यसैक्रममा प्रदर्शनकारीहरुले नेताहरुको घरलाई निशाना बनाएका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् ।

त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Read More

युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ: विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

मंगलबार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमबारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनले जानकारी दिएका छन् ।

बैठक बारे जानकारी दिदै पुनले भने- प्रतिपक्ष दलहरुको तर्फबाट गणतन्त्रकै कलंकको रुपमा भन्न सकिने घटना भएको छ । यो ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश र भ्रष्ट सरकारको रवैया अस्वीकार्य छ । त्यसैले सबै घटनाको जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ । युवाहरुको मागलाई सम्बोधन गर्दै सबै स्थिति साम्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । सामाजिक सञ्जाल बन्द गरिसकेपछि भएको युवाहरुको असन्तुष्टिलाई निरङ्कुश सरकारले बुझ्ने सकेन, स्वछाचारी ढंगले अगाडी बढ्न खोज्यो ।’  

प्रचण्डले बोलाएको आजको बैठकमा रास्वपा भने उपस्थित भएको थिएन । आजको बैठकमा माओवादी केन्द्रसहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरु सहभागी भएका थिए ।

Read More

आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् ।

कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन् ।

उनले भनेका छन्- ‘डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन। चारजना मन्त्रीहरू छलफलमा छन भन्ने कुरा एक जना मन्त्रीले जानकारी दिनुभयो ।

Read More

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ।

सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।

Read More