२०८३ बैशाख २५

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जालका बारेमा गरेको निर्णय गलत भएको टिप्पणी गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै सरकार उल्टोबाटो हिडेको उल्लेख गर्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको उल्लेख गर्दै यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्-  

सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ। 

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ।

सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले  यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ । त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस ।

Read More

सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयपछि बालेनले लेखे कविता

काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् ।

बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।

उनले लेखेका छन्- 
भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

Read More

अख्तियारको नक्कली कर्मचारी बनेर धम्काउने दुई जना पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन् ।

उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै टोखा नगरपालिका-८ बस्ने पीडितलाई तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सूचना प्राप्‍त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्न १ करोड रकम दिएमा फाईल बन्द गरीदिन्छौ नत्र सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई धम्काएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, मोबाइल ४ थान र १ गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

Read More

नेप्से ६.५५ अंकले घट्यो, ५ अर्ब १४ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५  अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

११ जनाको ज्यान गएको भेनेजुएलाको डुङ्गामा ट्रम्पको आदेशमा आक्रमण गरेको खुलासा

काठमाडौँ । अमेरिकी सेनाले भेनेजुएलाको डुङ्गामा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त डुङ्गामा आक्रमणको आदेश ट्रम्प आफैंले दिएको खुलासा गरेका छन् ।

यो आक्रमण मंगलबार क्यारिबियन सागरमा भएको थियो । रुबियोले चाहेको भए त्यो डुङ्गा कब्जा गर्न सक्थे भने, तर ट्रम्पले त्यसलाई उडाउने आदेश दिएका थिए । रुबियोले लागूपदार्थको खेप जफत गर्नाले मात्र कार्टेललाई असर नगर्ने तर तिनीहरूलाई समाप्त गर्नु पर्छ भने, तिनीहरूलाई उडाउनु पर्ने बताए । रुबियोले डुङ्गामा रहेका मानिसहरूलाई कुनै चेतावनी नदिइएको र यो ‘कोकेन वा फेन्टानिल’ लागूपदार्थले भरिएको बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले जहाजमा ‘ट्रेन डे अरागुआ गिरोह’ का सदस्यहरू रहेको दाबी गरेका थिए । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । ट्रम्पले डुङ्गामा ठूलो मात्रामा लागूपदार्थ रहेको दाबी गरेका थिए ।

ट्रम्पले भनेका थिए- हामीसँग उनीहरूको कुराकानीको टेप छ। हाम्रो देशमा ठूलो मात्रामा लागूऔषध आउँदै थियो, जसले धेरै मानिसहरूको ज्यान लिन सक्छ । यो कुरा सबैले बुझेका छन् । तपाईं आफैंले देख्न सक्नुहुन्छ कि डुङ्गामा लागूऔषधका प्याकेटहरू थिए र त्यसमाथि आक्रमण भएको थियो। अब तिनीहरूले फेरि यस्तो गर्ने छैनन् ।’

अमेरिकी रक्षा अधिकारीहरूले अहिलेसम्म यो आक्रमणको बारेमा विस्तृत जानकारी दिएका छैनन् । सेनाले किन डुङ्गा रोक्नुको सट्टा उडाउने निर्णय गर्‍यो भन्ने कुरा पनि स्पष्ट गरेको छैन । सामान्यतया तटरक्षक वा अमेरिकी नौसेनाले लागूऔषधले भरिएका डुङ्गाहरू समातेर चालक दललाई हिरासतमा लिने र उनीहरूलाई मुद्दा चलाउने काम पनि गर्दै आएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी नौसेनाले पहिले अन्तर्राष्ट्रिय पानीमा शंकास्पद जहाजहरूलाई रोकेर अनुसन्धान गरेको छ। तर मंगलबार क्यारिबियन सागरमा भएको आक्रमण पूर्णतया फरक थियो किनभने यस पटक प्रत्यक्ष आक्रमण गरिएको थियो । ट्रम्प प्रशासनले यस कारबाहीको लागि कुनै कानुनी तर्क दिएको छैन ।

Read More

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडाको मनोनयन दर्ता

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिका लागि नेपाली कांगेसका सांसद रामहरी खातिवाताले मनोनयन दर्ता गरेका छन् । 

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुदैछ । 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । 

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

Read More

अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक हेलिकोप्टर

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक ‘हेलिकोप्टर’ हस्तान्तरण गरेको छ । विहिबार अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । 

यी स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिका-नेपालको स्थायी र बहुआयामिक साझेदारीको प्रतीकात्मक यो हस्तान्तरणले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै अमेरिका-नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा गरिरहेको कामलाई निरन्तरता दिने बताएकी छन् ।

Read More

मङ्सिर ११ सम्म २५ लाख इम्बोस्ड नम्बर जडान नभए ३ अर्ब ९१ करोड तिर्नुपर्ने अवस्था छ: मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातयात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सरकारले गरेको सम्झौताका कारण अहिले इम्बोस्ड नम्बरमा अनिवार्य गर्न हतार गरिएको बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै मन्त्री दाहालले इम्बोस्ड नम्बर छपाई र जडान गर्न अमेरिकी तथा बाङ्ग्लादेशी संयुक्त लगानीको डेकाटुर टाइगर आईटी कम्पनीसँग २०७३ मा गरिएको सम्झौता अनुसार मङ्सिर ११ सम्म छपाई र जडान नगरिएमा सरकारले ३ अर्ब ९१ करोड तिर्नुपर्ने बताएका हुन् । उनले तोकिएको समयमा २५ लाख इम्बोस्ड नम्बर व्यक्तिकरण नगरेमा ९५ प्रतिशत रकम मुल्यतालिका अनुसार भुक्तानी गर्नुपर्ने सम्झैता रहेको बताए ।

उनले हालसम्म कम्पनिलाइ ९३ लाख ६४ हजार १९४ डलर भुक्तानी गरिसकिएको जानकारी दिदै हालसम्म ६ लाख ३५ हजार ५४५ छपाई गरिएको र ८७ हजार ९७९ जडान गरिएको बताएका छन् । 

डेकाटुर टाइगर आईटी कम्पनीसँग रहेको २५ लाख इम्बोस्ड नम्बरको सम्झौता भएकोमा अझै १८ लाख बाँकी रहेको उनले जानकारी दिए । 

२०७३ सालमा भएको यो सम्झौता अहिलेसम्म विभिन्न कारणले ३ पटक म्याद थपिएको अवस्था रहेको मन्त्री दाहालले जानकारी दिएका छन् । मन्त्री दाहालले भाषाको विषयमा सर्वोच्च अदालतले नै अंग्रेजी भाषामा इम्बोस्ड नम्बर छपाई गर्न समस्या नहुने भन्दै दिएको फैसलाको आधारमा सरकार अगाडी बढेको स्पष्ट गरेका छन् ।   

Read More

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूर सञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले निर्देशन अनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन निर्देशन दिएको हो । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरण गरेमा सक्रिय गराउन समेत प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिएको छ ।  

मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । 

यस अवधिमा पनि फेसबुकसहितका सामाजिक सञ्जाल कम्पनीहरु दर्ता हुन नआएपछि सरकारले अब नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय बनाउने निष्कर्षमा पुगेको हो ।

मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् । त्यसैगरी टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया शुरु गरेको बताइएको छ ।

Read More

जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More