२०८३ बैशाख २५

सूचीकरणको बहानामा सूचना स्वतन्त्रतामाथि प्रहार गर्न पाइदैन: रास्वपा

काठमाडौँ । सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसविरुद्ध स्पष्ट आपत्ति जनाएको छ ।

प्रतिनिधि सभामा बिहीबार बोल्दै सांसद अशोककुमार चौधरीले भने, “सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर, सरकारले जुन शैलीमा धम्की दिँदै बन्द गर्ने तयारी गरिरहेको छ, त्यो सरासर अनुचित छ।”

उनले सामाजिक सञ्जालका विषयमा सर्वोच्च अदालतले पहिले नै स्पष्ट निर्देशन (परमादेश) दिइसकेको भन्दै सरकारलाई हतारको निर्णय होइन, कूटनीतिक संवाद र दीर्घकालीन योजनामार्फत अघि बढ्न आग्रह गरे ।

“सरकारले अदालतको आदेशलाई अक्षरशः लागू गर्नु पर्दछ,” चौधरीले भने, “तर त्यसका लागि मेटा, गुगल जस्ता प्लेटफर्मसँग वार्ता गर्नुपर्छ। धम्की दिएर बन्द गर्नु भनेको जनताको पहुँचमा अंकुश लगाउनु हो। यो जनहितमा हैन।”

यसअघि सरकारको तर्फबाट सात दिने अल्टिमेटम दिइएको थियो, जुन बुधबार राति सकिएको छ। तर अहिलेसम्म फेसबुक (मेटा), युट्युब (गुगल) जस्ता प्रमुख कम्पनीहरू सम्पर्कमा आएका छैनन्। यसैका आधारमा सरकारले ‘सूचीकरण नभएका सञ्जालहरू बन्द गर्न सकिन्छ’ भन्ने संकेत दिँदै आएको छ।

Read More

दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु: विभाग

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई–७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ ।

विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि थाहा भएको भन्दै अहिलेसम्म इ-७ भिसामा पठाउने प्रक्रिया स्वरूप कुनै पनि संस्थालाई पुर्व स्वीकृति दिने कार्य शुरु नभएको बताएको छ ।

साथै बिभागले अनधिकृत तवरले इ-७ भिसामा दक्षिण कोरिया पठाउछु भन्नेहरुसँग सतर्क हुन आग्रह गर्दै प्रलोभनमा नपर्न र अनधिकृत व्यक्ति वा संस्थालाई रकम नबुझाउन अनुरोध गरेको छ । 

Read More

रास्वपा र राप्रपाको संसद बहिस्कारलाई आज पनि निरन्तरता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपाका सांसद धवलशमशेर जबराले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा सांसद चौधरीले सरकारले हचुवाका भरमा हतार गरेर सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाउदै उनले भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए । 

त्यस्तै राप्रपा सांसद राणाले निजी विद्यालयका माग सुनेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

Read More

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक अभियानका विषयमा छलफल हुने एजेण्डा रहेको छ । माओवादी केन्द्रको स्थगित भएको जागरण अभियान सुचारु गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Read More

सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिन: महानिरीक्षक खापुङ

काठमाडौँ ।  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सकेको राम्रो काम गर्ने तर, नराम्रो काम नगर्ने बताएका छन् ।
बिहीबार बिहान गृह मन्त्रालयमा दज्र्यानी चिन्हबाट सुशोभित पछि बोल्दै महानिरीक्षक खापुङले सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको बताए । उनले भने- ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ ।’

अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको जानकारी दिए ।

गृह मन्त्रालयद्धारा आयोजित एक समारोहकाबिच गृहसचिब गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्हबाट सुशोभित गरेका थिए । समारोहमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा मन्त्रालय र प्रहरीका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Read More

शुभ साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याइयो

काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको छ । काठमाडौँको बसन्तपुरमा आज विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा लिङ्गो ठड्याएर इन्द्रध्वजको उत्थान गरेसँगै इन्द्र जात्रा शुरु भएको छ । 

यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत गरिदैछ । इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने बताइएको छ । 

इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको समेत पाइन्छ ।

Read More

एआईको भर पर्दा गुगलले भोगेको गल्ती, आफ्नै कर्मचारीलाई पठायो अफिसियल जागिरको प्रस्ताव

काठमाडौँ । मेटा, गुगल, ओपनएआई र एन्थ्रोपिक जस्ता ठूला कम्पनीहरूले ठुलो मात्रामा कर्मचारी भर्ना गरिरहेका छन् । हालै मार्क जुकरबर्गको कम्पनी मेटाले आफ्नो प्रतिद्वन्द्वी कम्पनीका विज्ञहरूलाई लाखौं डलर बराबरको प्याकेज प्रस्ताव गरेर हेडलाइन बनाएको थियो । त्यस्तै एलन मस्कको कम्पनी एक्सएआईले पनि त्यस्तै गरिरहेको छ ।

तर हालै गुगलले यस्तो काम गर्‍यो, जसले सबैलाई छक्क पार्यो । गुगलको भारतको टोलीले आफ्नै कर्मचारीलाई जागिरको प्रस्ताव गरेको विषय बाहिरिएपछि टेक जगतमा यो विषय चर्चाको विषय बनेको छ ।

गुगलका वरिष्ठ वैज्ञानिक राज डाब्रेले घटनाको उल्लेख गर्दै गुगलको नयाँ कर्मचारी भर्ना टोलीले उनलाई इमेल पठाएको र गुगल इन्डियामा जागिरको प्रस्ताव गरेको उल्लेख गरेका छन् । जबकि राज पहिले नै गुगलमा काम गरिरहेका छन् । उनले यो इमेलको स्क्रिनसट पनि सेयर गरे, त्यसपछि यो भाइरल भयो ।

राजले पछि अर्को पोस्टमा यति ठूलो गल्ती कसरी भयो भनेर बताए । उनले उनको लिंक्डइन प्रोफाइल छैन र उनको व्यक्तिगत वेबसाइट लामो समयदेखि अपडेट गरिएको छैन । सायद यही कारणले गर्दा गुगलको स्वचालित भर्ती प्रणाली वा तेस्रो-पक्ष उपकरणहरूले उनलाई गुगल बाहिरको उम्मेदवार ठान्यो । राजले स्पष्ट पार्दै यसमा प्रणालीमा त्रुटि भएको बताउदै प्रविधि जतिसुकै उन्नत भए पनि, मानिसहरू सधैं अगाडि रहने उल्लेख गरेका छन् ।

प्रविधि कम्पनीहरूले एआई क्षेत्रमा अगाडि रहन आफ्नो टोलीमा सक्षम व्यक्तिहरू ल्याउन चाहन्छन् । यसका लागि, तिनीहरू स्वचालित उपकरणहरूमा निर्भर छन् । स्वचालित उपकरणहरूले तपाईंको पृष्ठभूमि प्रमाणित नगरी तपाईंले दिएको जानकारीको आधारमा जागिर प्रस्ताव पत्रहरू पठाउँछन् । केही कम्पनीहरूले प्राविधिक त्रुटिहरूका कारण यो प्रक्रिया पनि रोकेका छन् । गुगलले पनि अनलाइन उपलब्ध डेटामा भर परेर यो भर्ती गरेको थियो । यसपछि, धेरै प्रयोगकर्ताहरूको प्रतिक्रिया बाहिर आयो । धेरैले स्वचालित उपकरणहरू जतिसुकै आधुनिक भए पनि, भर्ती जस्ता कार्यहरूमा मानव पर्यवेक्षण आवश्यक रहेको देखिएको छ ।

प्रविधि संसारमा प्रतिस्पर्धा छ, कम्पनीहरूले उचित अनुसन्धान बिना नै मानिसहरूलाई प्रस्ताव दिइरहेका छन् । गुगल जस्तो विशाल कम्पनीको प्रविधिले पनि धोका पाएर आफ्नै कर्मचारीलाई जागिरको प्रस्ताव दियो । यसले प्रविधि जगतलाई मात्र नभई बाहिरका मानिसहरूलाई पनि आश्चर्यचकित बनाएको छ ।

Read More

खतिवडाको कडा टिप्पणी: परराष्ट्रमन्त्री आरजु राणा बाहेक सबै मन्त्री फेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले कांग्रेस-एमाले गठबन्धन सरकारले जनतामा आशाको किरण छर्न नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले सरकारले गठबन्धनको स्पिरिटमा काम गर्न नसकेको बताएका हुन् । तरपनि, गठबन्धन भने यही निरन्तर कायमै रहने उनले बताए । ‘गठबन्धन भइसकेपछि पनि हामीले जुन स्पिरिटमा काम गर्नुपर्ने हो, त्यो स्पिरिटमा जान सकेका छैनौं । सरकारले जनतामा जुन रुपमा आशाका किरणहरु छर्नुपर्ने हो, त्यो गर्न सकेको छैन,’– उनले भने ।

साथै, नेता खतिवडाले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबाहेक सबै मन्त्रीहरुले काम गर्न नसकेको बताए । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नै क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न नसकेको र विरुद्धमा बोल्नेलाई समातेर थुन्ने काम गरेको उनले बताए । ‘परराष्ट्रका कुराहरु अहिले सबै सकारात्मक रुपमै आएका छन् । अन्य मन्त्रीहरुले त्यसरी सकारात्मक रुपमा कसैले पनि केही दिन सकेका छैनन् । आज जहाँ खानेपानी मन्त्री हुनुहुन्छ, त्यही जिल्लामा सबैभन्दा धेरै कहिले खानेपानीको समस्या छ, कहिले हैजाको समस्या छ । मन्त्रीको बारेमा बोल्यो भने समातेर भित्र थुन्न थाल्छन् मान्छेहरुलाई । अरु पनि मन्त्रीहरुले जुन रुपमा काम गर्नुपर्ने हो काम गर्न सकेजस्तो भएको छैन,’– उनले भने ।

नेता खतिवडाले प्रयास सबैले गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको इन्टेन्सन पनि काम गरौं भन्ने नै रहेपनि मन्त्रिमण्डलमा काम गराउन नसकेको हो कि भन्ने देखिएको बताए । एमालेभित्रकै केही मन्त्रीहरु विवादमा रहेको र कांग्रेसका मन्त्रीहरुले पनि काम गर्न नसकेको उनले बताए ।

Read More

ट्रम्पलाई निशाना बनाउदै पुटिनले भने: आफ्ना साझेदारहरूसँग कुरा गर्ने भाषा मिलेन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् ।

बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प प्रशासनले एसियाका दुई ठूला शक्तिहरूलाई कमजोर आँकेको आरोप लगाए । उनले भने- ‘तपाईं भारत वा चीनसँग यसरी कुरा गर्न सक्नुहुन्न । अमेरिकाले थप कर र प्रतिबन्ध लगाएर यी देशहरूमाथि दबाब दिन चाहन्छ ।’

पुटिनले भारत र चीनको इतिहास आक्रमणले भरिएको छ । यदि यी देशहरूको कुनै नेताले कमजोरी देखाए भने, उनको राजनीतिक करियर समाप्त हुन सक्छ । उनले अमेरिकाको मनोवृत्ति पुरानो र रूढीवादी भएको टिप्पणी गरे । पुटिनले भने- ‘औपनिवेशिक युग अब समाप्त भइसकेको छ । अमेरिकाले बुझ्नुपर्छ कि यो आफ्ना साझेदारहरूसँग यस्तो भाषामा कुरा गर्न सक्दैन ।’

यद्यपि, उनले भविष्यमा तनाव कम हुने र सामान्य राजनीतिक संवाद पुनः सुरु हुने आशा व्यक्त गरे । पुटिनको यो टिप्पणी यस्तो समयमा आएको हो जब भारतले रूसी तेल खरिद गर्दा अमेरिकी करको सामना गरिरहेको छ र चीन अमेरिकासँग व्यापार युद्धमा फसेको छ ।

ट्रम्पले भारतलाई रूसी तेल खरिद गरेको कारण युक्रेन युद्धलाई बढावा दिन रूसलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् । ट्रम्पले आफ्नो करलाई युद्ध समाधान गर्ने हतियार भनेका छन् । ट्रम्पले बुधबार द स्कट जेनिंग्स रेडियो शोमा यो नीतिले अमेरिकालाई बल दिने बताउदै करलाई जादुई हतियार भन्दै यस मार्फत उनले ७ युद्धहरू रोकेको दाबी गरेका थिए ।

Read More

आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि स्थित रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४८०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २४८० मै कारोबार भएको थियो ।

Read More