२०८३ बैशाख २५

प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्: दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु अदालतको आदेश अनुसार निष्क्रिय हुने बताएका छन् ।

रिमाल केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको उल्लेख गर्दै सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुने बताएका छन् ।

दर्ता हुन दिएको म्याद गएराती सकिएसँगै सरकारले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने चर्चा चलिरहेको बेला प्रमुख सल्लाहकार रिमालले  यस्तो टिप्पणी आएको हो । 

उनले भनेका छन्- 
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ? 

सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।

लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्। 

Read More

सामाजिक सञ्जालमाथि सरकारको प्रहार: आज साँझदेखि फेसबुक-युट्युब लगायत बन्द गर्ने तयारी

काठमाडौँ । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालमाथि कडाइ गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

एक हप्ता अघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाललाई सूचीकरणको लागि दिएको म्याद बुधबार राति सकिएको हो।

अब त्यस अनुसार, आज साँझदेखि नै सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः बन्द गरिने सरकारको योजना छ। मन्त्रालयका अनुसार, आज दिनभरीमा यस विषयमा मन्त्रीस्तरीय तहबाट निर्णय लिइनेछ, र कार्यान्वयन सुरु हुनेछ ।

कसरी बन्द गरिन्छ ?
सरकारले यसअघि नै मन्त्री परिषदबाट सूचीकरण अनिवार्य गर्ने निर्णय गरिसकेको छ। अब कार्यान्वयन चरणमा सूचना तथा प्रविधि मन्त्रालय अगाडि बढ्नेछ। बन्द गर्ने प्रक्रिया प्राविधिक र कानुनी आधारमा अघि बढाइने जनाइएको छ।

सूचीकरणमा आएका र नआएका सञ्जालहरू
अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट जस्ता सञ्जालहरू सूचीकरणमा परेका छन्। टेलिग्राम र ग्लोबल लिंक सूचीकरण प्रक्रियामा छन्।

तर, फेसबुक, युट्युब, एक्स (पूर्व ट्विटर) जस्ता सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालहरूले अझैसम्म सूचीकरण प्रक्रिया पुरा गरेका छैनन्, जसले गर्दा यिनै प्लेटफर्महरू बन्दको मुख्य निशानामा छन् ।

पछिल्लो सन्देश के हो?
सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाललाई नेपाली कानुन अनुरूप सञ्चालन गर्न आग्रह गर्दै आएको छ। अब यसको पालना नगर्नेहरूलाई बन्द गरेर मात्रै अघि बढ्ने सरकारको संकेत प्रष्ट देखिएको छ।

Read More

नवनियुक्त महानिरीक्षक खापुङले गरे दर्ज्यानी चिन्ह ग्रहण

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।    

भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।

Read More

सामाजिक सञ्जाल बन्द हुने सङ्केत सहित पोखरेलको टिप्पणी: फेसबुक नखुल्दासम्म समाज सुधारौं

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने सङ्केत गरेका छन् ।

विहिबार बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै महासचिव पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गर्न आग्रह गरेका छन् ।

दर्ता हुन दिएको म्याद गएराती सकिएसँगै सरकारले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने चर्चा चलिरहेको बेला महासचिव पोखरेलले यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्- सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद अनुभूती हुनेछ ।

Read More

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

पोखरा । पोखरामा हुने दोस्रो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी ) को ट्रफी सार्वजनिक गरिएको छ । यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए । 

भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ । आयोजकका अनुसार सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ । यस अधि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल हुनेछ ।

Read More

चीनले बनायो अन्तरिक्षमा लुगा धुने वासिङ मेसिन !

काठमाडौँ । चीन प्रविधिको हिसाबले द्रुत गतिमा अगाडि बढिरहेको छ । चीनले यस्ता आविष्कारहरू भइरहेका छन्, जसले सारा संसार छक्क परेको छ । रोबोटिक्सको क्षेत्रमा ठूला प्रयोगहरू गरेपछि, चीनले अब एउटा अद्भुत वासिङ मेसिन बनाएको छ । जसले लुगा धुन डिटर्जेन्ट पनि प्रयोग गर्दैन । अझ महत्त्वपूर्ण कुरा, यो वासिङ मेसिन अन्तरिक्षमा प्रयोग गर्न सकिन्छ । यसले अन्तरिक्ष यात्रीहरूलाई ठूलो सुविधा दिएको छ, किनभने उनीहरूसँग अन्तरिक्षमा लुगा धुन सक्ने कुनै पनि मेसिन थिएन । 

अन्तरिक्षमा त्यस्तो कुनै मेसिन छैन, जसले तपाईंको लुगा धुन सक्छ। यस कारणले गर्दा, अन्तरिक्ष यात्रीहरूले आफ्नो लुगा धेरै फोहोर वा दुर्गन्धित नभएसम्म लगाउँछन् । अन्ततः, तिनीहरूले यी लुगाहरू फ्याँक्छन् । तर अब चिनियाँ वैज्ञानिकहरूले एउटा अद्भुत मेसिन बनाएका छन् जसले अन्तरिक्षमा लुगा धुने समस्या समाधान गर्न सक्छ । यो मेसिन सानो र हलुका मात्र होइन, यसले धेरै कम पानी पनि प्रयोग गर्दछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, चीनको एस्ट्रोनट रिसर्च एण्ड ट्रेनिङ सेन्टरले यो वासिङ मेसिन बनाएको हो । यो मेसिन सुटकेसभन्दा अलि ठूलो छ र यसको तौल केवल १२ किलोग्राम छ । यो मेसिनले लुगा धुन डिटर्जेन्ट पाउडर प्रयोग गर्दैन । यसले धुलो र ओजोन ग्यास प्रयोग गर्दछ ।

अन्तरिक्षको लागि विकसित गरिएको धुने मेसिनले एक पटकमा ८०० ग्राम लुगा धुन्छ । यसका लागि, यसले केवल ४०० मिलीलीटर पानी प्रयोग गर्दछ, जुन सानो गिलास भन्दा कम हो । यो पानी धेरै साना थोपाको रूपमा कपडामा छर्किन्छ । यस पछि, मेसिनले यूभी प्रकाशको मद्दतले ओजोन सिर्जना गर्दछ, जसले कपडाबाट कीटाणुहरू हटाउँछ । यो प्रविधिले कपडालाई पाँच पटकसम्म पुन: प्रयोग गर्न सकिन्छ । यसमा पानी वा ग्यास चुहिने कुनै जोखिम हुँदैन ।

यो मेसिनले ३० मिनेटको चक्रमा काम गर्छ । पहिले कपडामा मसिनो धुलो छर्किन्छ, त्यसपछि ओजोन ग्यास प्रयोग गरेर कीटाणुहरू नष्ट गरिन्छ । यस पछि, तातो हावा प्रयोग गरेर लुगा सुकाइन्छ । मेसिनमा सेन्सर र फिल्टरहरू छन् । परीक्षणमा, यो मेसिन ९९.९ प्रतिशत कीटाणुहरू मार्न सफल भएको बताइएको छ ।  

Read More

सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ ।

हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो अन्तिम समयसिमा सकिएपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने या नगर्ने बारे आज निर्णय लिने बताइएको छ ।  

सरकार मन्त्रिपरिषद्को बैठकबाटनै समयभित्र दर्ता नगर्ने सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय गरिसकेको छ ।  मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले सो सूचना जारी गरेको थियो ।

मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् । त्यसैगरी टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया शुरु गरेको बताइएको छ ।

Read More

इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिदै

काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिदै छ ।

इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।

इन्द्रजात्राका लागि आज विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने शुभ साइत निकालिएको छ । 

यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत गरिदैछ । इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ । 

Read More

किम र पुटिनको शिखर सुरक्षाको भित्री कथा: औंलाको छाप मेटाउदै गिलासदेखि दिसासम्म फिर्ता लगे

काठमाडौँ । चीन भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति पुटिनलाई भेटेका थिए । डेली मेलका अनुसार, यो भेटपछि किम जोङका गार्डहरूले उनको प्रयोग गरिएको गिलास आफूसँगै लगे । उनीहरूले किम बसेको कुर्सी र टेबललाई पनि सावधानीपूर्वक सफा गरे ।

रुसी पत्रकार अलेक्ज्याण्डर युनाशेभले बैठकपछि कुर्सी, टेबल र वरपरका सामानहरू यसरी सफा गरिएको थियो र किमको कुनै पनि निशान बाँकी नराखेको बताए । विज्ञहरूले यो रूस वा चीनको जासुसीबाट बच्नको लागि गरिएको प्रयास हुन सक्ने वा किमले आफ्नो स्वास्थ्य जानकारी लुकाउन चाहेको विश्लेषण गरेका छन् । नेताको डीएनए र स्वास्थ्यसँग सम्बन्धित गोप्य जानकारी उनको औंलाको छाप र दिसाबाट पत्ता लगाउन सकिन्छ ।

कुनै पनि व्यक्तिको गोप्य कागजातहरूमा पहुँच औंलाको छाप मार्फत प्राप्त गर्न सकिन्छ । औंलाको छाप फोन, ल्यापटप र गोप्य स्थानहरूमा प्रवेशको लागि पनि प्रयोग गरिन्छ । कुनै पनि देशको नेताको स्वास्थ्यलाई ‘अति गोप्य’ मानिन्छ । यदि यो जानकारी बाहिर आयो भने, शत्रु देशहरूले उनको कमजोरीहरूको फाइदा उठाउन सक्छन् ।

विदेशी एजेन्सीहरूले स्वास्थ्य रिपोर्टहरू चुहावट गर्न सक्छन् र राष्ट्रपति कमजोर वा बिरामी भएको छवि सिर्जना गर्न सक्छन् । यसले घरेलु राजनीति र जनताको विश्वासलाई हल्लाउन सक्छ । यही कारणले गर्दा विश्वका धेरै देशका सुरक्षा एजेन्सीहरूले विदेश भ्रमणमा आफ्ना नेताहरूको औंठाछाप सफा गर्छन् र उनीहरूको दिसा र पिसाब फिर्ता लैजान्छन् ।

पत्रकार युनाशेभका अनुसार किम र पुटिनबीचको भेटघाट राम्रो रह्यो । दुवै नेता खुसी थिए र पछि सँगै चिया पिउन गए । किमले पुटिनलाई भने – यदि म रूसको लागि केही गर्न सक्छु भने, म खुसी हुनेछु । पुटिनले युक्रेनमा सेना पठाएकोमा उत्तर कोरियालाई धन्यवाद दिए । कोभिड-१९ पछि किम जोङको यो पहिलो चीन भ्रमण थियो । यहाँ उनले पुटिनसँग चीनको विजय दिवस परेडमा भाग लिए ।

पुटिनका अंगरक्षकहरूले उनको दिसा र पिसाब पनि लगे
ट्रम्प र पुटिनको गत महिना अलास्कामा भेट भयो । यस क्रममा पुटिनका अंगरक्षकहरू विशेष सुटकेस लिएर आइपुगे । यसलाई पप सुटकेस भनिन्छ । रिपोर्टका अनुसार, यो सुटकेस पुटिनको दिसा र पिसाब सङ्कलन गर्न थियो । त्यसपछि मिडिया रिपोर्टहरूमा  पुटिनको टोलीले यो काम गर्छ ताकि कुनै पनि विदेशी एजेन्सीले उनको स्वास्थ्यसँग सम्बन्धित जानकारी सङ्कलन गर्न नसकोस् । फ्रान्सेली पत्रिका पेरिस म्याचका अनुसार, यो सुरक्षा प्रोटोकल नयाँ होइन । यो २०१७ को फ्रान्स भ्रमण र भियना भ्रमणको समयमा पनि गरिएको थियो । यद्यपि, क्रेमलिन (रूसी राष्ट्रपति कार्यालय) ले सधैं यी अफवाहहरूलाई अस्वीकार गर्दै आएको छ ।

Read More

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको हैसियत बढायो: परराष्ट्र मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचदिने चीन भ्रमणले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि सुरु भएको भ्रमण भदौ १८ गते सम्पन्न भएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका उपलब्धिहरूबारे जानकारी दिँदै यसले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी, उपराष्ट्रपतिसहित अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई नेपालको सहभागिता स्तर अभिवृद्धि गर्ने र राष्ट्रिय हित प्रवर्द्धन गर्ने रहेको थियो । उनले सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षीयता सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन र दिगो विकासका विषयमा विचार प्रस्तुत गरे ।

भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपतिसँग द्विपक्षीय सम्बन्धबारे खुला र सकारात्मक छलफल गरेका थिए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाको शीघ्र कार्यान्वयन, रासायनिक मल आपूर्ति, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि र जनस्तरको सम्बन्ध सुदृढीकरणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै, भारत–चीनबीच लिपुलेक नाकामार्ग सम्बन्धी समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न आग्रह गरे ।

यसैबीच, ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न मुलुकका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै व्यापार, लगानी, शिक्षा, संस्कृति, हवाई सम्पर्कलगायत क्षेत्रमा सहकार्यबारे छलफल गरेका थिए । उनले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए ।

भ्रमण क्रममा ओलीले थियानजिनस्थित धान अनुसन्धान क्षेत्र, चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक संग्रहालयलगायत स्थलको अवलोकन गरे । बेइजिङमा उनले उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गरी नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन छलफल गरे । साथै, उनले चीनको ८०औँ विजयोत्सव र विशेष सैनिक परेडमा पनि सहभागिता जनाए ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, सांसदहरू तथा उच्चपदस्थ कर्मचारीहरू समेत भ्रमणमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले भ्रमणलाई नेपालको राष्ट्रिय हित, कूटनीतिक प्रभावकारिता र अन्तर्राष्ट्रिय प्रतिष्ठामा अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

Read More