२०८३ बैशाख २४

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । परिवर्तिनी एकादशीको व्रतले अतुलनीय पुण्य दिने मान्यता रहदै आएको छ ।

हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ । पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो ।

आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुको आज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गर्ने चलन पनि छ ।

त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादी देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गरेर, तेजस्वी बलिसँग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गरेको शास्त्रमा उल्लेख छ । महाबलीले ती तीन पाइला जमीन आफ्नालागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गरेका थिए । तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राखेको र दोश्रो पद स्वर्गलोकमा राखेको उल्लेख छ । अब तेस्रो पदकहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिएको कथन छ । बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहेको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको मान्यता छ । 

Read More

आजको मौसम: देशभर साधारणतया बदली, पहाडी भेगमा मध्यम तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम मौसम महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

हाल कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखा आगामी २४ घण्टा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध रहेको छ ।

Read More

आजको राशिफल: शुभ यात्राको समय, अवसर र सावधानीहरू, आज कस्को दिन कस्तो रहला ?

आज भदौ १८ गते बुधवार ई.सं. २०२५ सेप्‍टेम्‍बर ०३ नेपाल सम्बत ११४५ ञलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल एकादशी , चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, आयुष्मान योग, वणिज करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल वा धनिया राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४३ मिनेट देखि ०७ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा हरिपरिवर्तिनी एकादशी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँके/ताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्‌नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार/विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्‌नो सही पहिचान कायम गर्न सकिने छ । आफ्‌नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।

Read More

भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने

पोखरा । भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने जनाएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो ।

हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।

पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई समेत आग्रह गरे ।

यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्डुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ ।

Read More

किम चढ्ने रेल किन यति विशेष छ ?

काठमाडौँ । सामान्यतया जब कुनै देशको सर्वोच्च नेता अर्को देशमा जान्छ, उसले यात्राको सबैभन्दा छिटो र आरामदायी विकल्प रोज्छ, जुन हवाईजहाज हो, तर किम जोङ उन भने यस मामिलामा फरक छन् ।

उत्तर कोरियाका शासक किम जोङ उन सोमबार आफ्नो बख्तरबंद रेल चढेर मंगलबार चिनियाँ सीमामा प्रवेश गरे । रेलले उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङसम्म लगभग १३ सय किलोमिटरको दूरी पार गरेको थियो । बुधबार चीनको राजधानी बेइजिङमा ‘विजय दिवस’ परेड आयोजना हुँदैछ । किम जोङ उन चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य विश्व नेताहरूसँग यसमा भाग लिदैछन् ।

दक्षिण कोरियाको योनहाप एजेन्सीका अनुसार यो रेल भारी सुरक्षा व्यवस्थाले सुसज्जित छ, त्यसैले यो ढिलो गतिमा चल्छ । उत्तर कोरियाको रेलवे नेटवर्क धेरै पुरानो छ, त्यसैले यो रेलको सुस्त गतिको कारण पनि हुन सक्छ ।

उत्तर कोरियाली नेता किम जोङ उन रेलबाट यति लामो दूरी यात्रा गर्नु नयाँ होइन । किम जोङ उनभन्दा पहिले उनका बुबा र हजुरबुबाले पनि यो धेरै पटक गरिसकेका छन् । यो परम्परा उनका हजुरबुबाले सुरु गरेका थिए । यो परम्परालाई किम जोङ उनका बुबा किम जोङ इलले अगाडि बढाएका थिए । किम जोङ इललाई विमानबाट यात्रा गर्न डर लागेको बताइएको छ । नोभेम्बर २००९ मा, एक दक्षिण कोरियाली समाचार आउटलेटले यो बुलेटप्रुफ रेलमा ९० कोचहरू रहेको उल्लेख गरेको थियो । पहेंलो धर्का भएको यो गाढा हरियो रेलमा सम्मेलन कक्ष, दर्शक कक्ष, शयनकक्ष, उपग्रह फोन र फ्ल्याट स्क्रिन टेलिभिजनहरू छन् । केही अन्य तस्बिरहरूमा, यस रेलको कोचहरूमा रातो छालाको कुर्सीहरू देख्न सकिन्छ ।

बीबीसीले उत्तर कोरियाको शीर्ष नेताको विशेष रेलको गति प्रति घण्टा ५० किलोमिटर मात्र रहेको बताएको छ । यस रेलको नाम तायेङहो हो । कोरियाली भाषामा, यो शब्दको अर्थ सूर्य हो, जुन उत्तर कोरियाका संस्थापक किम इल सुङको प्रतीक मानिन्छ ।

लामो दूरीको यात्राको लागि रेल प्रयोग गर्ने परम्परा किम इल सुङले सुरु गरेका थिए । किम जोङ उनका हजुरबुबा किम इल सुङ त्यतिबेला भियतनाम र पूर्वी युरोपमा रेलबाट यात्रा गर्थे । यस रेलको सुरक्षा उत्तर कोरियाली सुरक्षा एजेन्टहरूले सम्हाल्छन् । तिनीहरूले बम वा अन्य खतराहरूलाई ध्यानमा राखेर रेल मार्ग र आगामी स्टेशनहरू स्क्यान गर्छन् । रेलमा यात्रा गर्नु उत्तर कोरियाली नेताहरूका लागि नयाँ कुरा नभएको बताइन्छ । यी नेताहरू सामान्यतया विमानबाट यात्रा गर्दैनन्, किनभने उनीहरूले यसलाई सुरक्षित पाउँदैनन् ।

उत्तर कोरियाली नेताहरूले रेलमा यात्रा गर्छन् किनभने उनीहरू यसलाई सुरक्षित पाउँछन् । किम जोङ उनका बुबा रेलबाट यात्रा गर्थे । उनका हजुरबुबा कहिलेकाहीं विमानबाट यात्रा गर्थे, तर मुख्यतया रेललाई प्राथमिकता दिन्थे । यो रेल उनको आफ्नै, विशेष हो र उनको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो ।

२००१ मा, किम जोङ उनका बुबा किम जोङ इलले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न दस दिनको लागि मस्कोको यात्रा गरेका थिए । किम जोङ उनका बुबा र हजुरबुबाले पनि सीमित संख्यामा यात्राको लागि रेललाई प्राथमिकता दिन्थे । यो एक गोप्य देश हो र यसको नेताको रूपमा, उनी आफ्नो जीवनलाई पनि गोप्य राख्न चाहन्छन् । उनी के खान्छन्, के गर्छन् भनेर कसैलाई थाहा दिँदैनन् । उत्तर कोरियाली नेताले आफूले अभ्यास गर्ने राजनीतिलाई हेर्दा, देश भित्र र बाहिर केही खतरा महसुस गरेको हुनुपर्छ ।

यद्यपि, किम जोङ उन आफ्ना बुबा जस्तै उडान गर्न डराउँदैनन् किनभने उनी आफ्ना धेरै यात्राहरूको लागि रूसी-निर्मित निजी जेटहरू प्रयोग गर्दै आएका छन् ।

२००१ मा उत्तर कोरियाली नेता किम जोङ इलसँग एउटै रेलमा यात्रा गर्ने रूसी सैन्य कमाण्डर कन्स्टान्टिन पुलिकोभस्कीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘त्यो रेलमा रूस, चीन, कोरिया, जापान र फ्रान्सबाट कुनै पनि परिकार अर्डर गर्न सकिन्छ ।’

रुसी कमाण्डरले भ्लादिमिर पुटिनको निजी रेलमा पनि किम जोङ इलको रेल जत्तिकै आराम नभएको दाबी गरेका छन् । अर्का रुसी राजदूत जर्जी टोलोरायाले २०१९ मा उही रेल यात्राको बारेमा लेखेका थिए । उनले यो रेलमा विभिन्न प्रकारका मासु र पेय पदार्थहरू कसरी दिइन्थ्यो भनेर सम्झे । रुसी मानक भोड्का पनि रेलमा उपलब्ध रहेको उनले बताएका थिए । उत्तर कोरियाको राज्य सञ्चालित मिडियाले २०११ मा यही रेलमा यात्रा गर्दा किम जोङ इलको हृदयघातबाट मृत्यु भएको रिपोर्ट गरेको थियो ।

दोस्रो विश्वयुद्ध पछि कोरियाली युद्ध भयो र दुई छुट्टाछुट्टै स्वतन्त्र देशहरू गठन भए । त्यसपछि शीतयुद्ध सुरु भयो र दुवै देशहरू फरक-फरक गुटमा सामेल भए । उत्तर कोरिया सोभियत संघमा सामेल भयो र दक्षिण कोरिया अमेरिकामा सामेल भयो । उत्तर कोरियाको सिमाना पहिले सोभियत संघ (अहिले रूस) र चीनसँग थियो र यी सबै देशहरूको विचारधारा पनि एकअर्कासँग मेल खान्छ । विश्वका ठूला शक्तिहरूले यी देशहरूलाई विभाजित गरेका थिए र तिनीहरूको विभाजन भारत र पाकिस्तानको विभाजन भन्दा फरक थियो ।

त्यस्तै उत्तर कोरियाली नेताहरू धेरै कम यात्रा गर्थे र यो पहिले पनि कम वा कम उस्तै थियो । कोरिया सानो देश थियो । १९१०-१९४५ को बीचमा, कोरिया जापानको औपनिवेशिक देश थियो । यस्तो अवस्थामा उत्तर कोरियाका नेताहरू पहिले सोभियत संघ र पछि रुस वा चीनको भ्रमण गर्थे र त्यो पनि रेलबाट । 

Read More

भदौ १७ गते मंगलबार दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो । विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ । प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो ।

२- नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ । क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ । नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो । अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।

३- काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार श्रेष्ठको घरबाट करिब ३ करोड ७५ लाख नगद भेटिएको छ । त्यस्तै उनको घरमा करिब ३ किलो जति सुनका गहना पनि भेटिएको छ । प्रहरीले विशेष सुराकीको आधारमा गोरखा नगरपालिका-१ घर भई हाल काठमाडौं-२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरमा छापा मार्दा सो रकम र सुन भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले सुन धितो राखेर पैसा दिने काम गर्ने गरेको खुलेको छ ।

४- एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेल तालिका सार्बजनिक गरिएको छ । भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने भएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ । गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।

५- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छान्ने भएको छ । मंगलबार बसेको राप्रपाको संसदीय समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत छान्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । बैठकले रुपन्देही-३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

६- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो । बैठकमा भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फर्किने कार्यसूची रहेको छ । यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।

७- निर्वाचन आयोगले कार्तिक १७ गते हुने मनाङको प्रदेश सभा सदस्यको उपनिर्वाचनको निर्वाचन तालिका सार्बजनिक गरेको छ । आयोगले मनाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा भदौ १९ देखि २५ सम्म दल दर्ताको आव्हान गरिसकेको छ । आयोगले उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने तालिका रहेको छ । त्यस्तै उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ । त्यसपछि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार आगामी कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जानएको छ । त्यस्तै आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको समेत जानकारी गराएको छ ।

८- प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

९- शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ । सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो ढुंगा खसेका कारण हटाउन समय लागेको थियो । सडक अवरुद्ध हुदा करोडौंको स्याउ बोकेका ट्रकसमेत रोकिन पुग्दा स्याउ कुहिनसक्ने चिन्ता बढेको थियो । सडक डिभिजनले जिल्ला प्रशासन कार्यालय कालिकोट, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा सडक सुचारु भएको जानकारी दिएको छ ।

१०- दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

११- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएकोसम्बन्धी रिट पूर्ण इजलासमा पठाएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । हालसम्म लिखित जवाफ दर्ता नभएको र मुद्दामा अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले फैसलाको सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै मंगलबारका लागि पेसी तोकेको थियो । इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मागेको थियो ।

१२- अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मुजाहिदका अनुसार भूकम्पको असर कुनार प्रान्तको नुरगल, सोका, जबा दरह, बिश दरह, ताबोर र असदाबाद क्षेत्रमा धेरै रहेको छ । भूकम्पबाट अहिलेसम्म ३ हजार १२४ जना घाइते भएका छन् भने ५ हजार ४१२ घर भत्किएको उनले जानकारी दिएका छन् । भूकम्पपछि अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ । रोयटर्ससँग कुरा गर्दै तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने- ‘हामीलाई सहयोग चाहिन्छ । भूकम्पका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन्, धेरै घरहरू ध्वस्त भएका छन् । यो विनाशले अफगानिस्तानको समस्यालाई अझ बढाएको छ । यहाँ पहिले नै विदेशी सहायता उपलब्ध छैन, जसका कारण देशमा आर्थिक संकट झन् बढेको छ ।’

१३- आज नेप्सेमा गिरावट आएको छ । आज मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

१४- अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । कानुनका विद्यार्थी आयुष दाहालले दायर गरेको रिटमा श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको पोष्टले अदालतको अवहेलना भएको दाबि गरिएको छ । श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत् अदालतप्रति अनास्था फैलाउने खालको सामग्री पोस्ट गरेको निवेदकको दावी छ । माओवादी नेता श्रेष्ठले अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न,भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन भनेर लेखेका थिए ।

१५- रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिनअघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो । चौधरीले यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए । रुपन्देहीको थारु समुदायमा चौधरीको विशेष पकड रहेको मानिन्छ ।

१६- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।

१७- चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन अघि भएको थियो । पुटिनले दुई देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा रहेको वर्णन गरेका छन् । उनले भने- ‘हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।’ सीलाई सम्बोधन गर्दै पुटिनले भने- ‘प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एक पटक भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।’ साथै, सो अवसरमा सी जिनपिङले भने- ‘चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको छ । अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न रूससँग काम गर्न चाहन्छ ।’ बुधबार, सी जिनपिङले चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिनेछ ।

१८- दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा भाद्र १६ गते दिउँसो भएको अटो दुर्घटनामा परि वेपत्ता भएका यात्रुहरु मध्ये दुई जनाको शव फेला परेको छ । होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो । अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ बर्षिया आरुषा धामीको शव घटना स्थलबाट करिव ७ मिटर पश्चिम र १७ बर्षिया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिम बाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ । वेपत्ता ४७ बर्षिया चाखुरी देवी धामीको खोजीकार्य भईरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१९- नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।

२०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ मा उम्मेदवारमा छनौट भएका डा. लेखजंग थापाले आफ्नो दुई विवाह भएको र पहिलो विवाहमा सम्बन्ध विच्छेद भएको स्पष्ट गरेका छन् । रुपन्देही-३ को उम्मेदवार छनौट भएपछि थापाले बहुविवाह गरेको र पार्टीको बैठकमा क्यामरा भएको चश्माको प्रयोग गरेर पार्टीको गोपनियतामा खलल पुर्याएको आरोप लगाइएको थियो । थापाले आफ्नी पुर्व श्रीमतीसँग २०७९ को मागमा सम्बन्ध बिच्छेद भएको अदालतको आदेश समेत सार्बजनिक गरेका छन् । उनले आफुले आफ्नो निजी जीवन बारे पार्टीलाई जानकारी गराएको र पार्टीले यसको कानुनी पाटोमा परामर्श गरेरै आफुलाई उम्मेदवार छानेको आफुले बुझेको बताएका छन् ।

Read More

राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो । 

विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ ।

प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो । 

Read More

नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको खेल तालिका सामान्य परिवर्तन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ ।

क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ । नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो ।  

अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।

Read More

रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका लागि राप्रपा नेपालबाट अर्जुन थापा ‘कालू’ एकल सिफारिस

काठमाडौँ । राप्रपा नेपालबाट रुपन्देही–३ को उपनिर्वाचनमा अर्जुन थापा ‘कालू’ उम्मेदवार सिफारिस भएका छन् ।

जिल्ला समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले थापालाई उम्मेदवारको रुपमा केन्द्रमा एकल सिफारिस गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार टुंगाउने प्रकृया गरिरहेका बेला राप्रपाले भने प्रारम्भिक निर्वाचन गरेर उम्मेदार टुंगो लगाउने निर्णय गरेको छ ।

त्यस्तै रास्वपाले भने रुपन्देही-३ बाट डा’ लेखजंग थापालाई उम्मेदवार छानिसकेको छ ।

Read More

टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा अवरुद्ध भएको छ ।

टेलिकमले प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको छ । 

साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिदै ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Read More