२०८३ बैशाख २४

बुङ्गल हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आज भदौ १६ गते सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता सेयर निष्कासन गरी बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखाबाट, साथै ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत गर्न सकिनेछ । यस आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म तोकिएको छ ।

कम्पनीको जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न स्वीकृति पाएको हो । यसअन्तर्गत ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र २ लाख ७ हजार ५०० कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । ती दुबै समूहलाई छुट्याइएको सेयर निष्कासन भई बाँडफाँड समेत भइसकेको छ ।

यस पटक सर्वसाधारणलाई जारी गरिएको आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

बुङ्गल हाइड्रोले गत असार १५ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति प्राप्त गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित पहिलो चरणको निष्कासन पछि अहिले सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिएको हो । यस आईपीओमा उल्लेखनीय संख्यामा लगानीकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

Read More

नबिल बैंकको नयाँ सेवा: ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा उपलब्ध

काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि अब नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत २०० भन्दा बढी देशका लागि डाटा ई–सिम खरिद गर्नसक्ने भएका छन् । साथै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि सोही एपमार्फत लिन सकिनेछ ।

सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडालगायत मुलुकका लागि ग्राहकले आफ्नो मोबाइल एपमार्फत सजिलै अनुकूल डाटा प्याकेज छनोट गरी खरिद गर्न सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन वा भ्रमणमा जाने व्यक्तिहरूलाई विदेश पुगेपछि इन्टरनेट सेवामा समस्या नहोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बाजगाईँले परम्परागत रूपमा विदेशमा सिम खरिद गर्दा केवाइसी फाराम, विदेशी मुद्रा बुझाउनुपर्ने झन्झटलाई हटाउन यो सम्झौता गरिएको बताए । उनले भने, “एनबैंक एपमार्फत ग्राहकले १० मिनेटभित्रै आफ्नो आवश्यक डाटा प्याकेज खरिद गर्न सक्छन्, जुन पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित छ ।”

यस्तै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि एपमार्फत २४ घण्टाभित्रै डिजिटल वा फिजिकल कार्डका रूपमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यो अनुमतिपत्र १९० भन्दा बढी मुलुकमा मान्य हुने बैंकले जनाएको छ ।

निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे ।

निम्बजलाई सुपर एपको रूपमा चिनिन्छ, जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी सेवा, डिजिटल वालेट, गेम तथा अन्य सुविधाहरू उपलब्ध छन् ।

Read More

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

काठमाडौँ । आइतबार राति अफगानिस्तानमा आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । 

भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको बताइएको छ। साथै, ११५ भन्दा बढी घाइते भएका छन्, जसलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्राधिकरणले जानकरी दिएको छ  ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ।

Read More

आसामसँग आज नेपाल ए को फाइनल खेल

काठमाडौं । नेपाल ए र आसाम राज्य टिमबीचको सिरिजको अन्तिम एवं निर्णायक खेल आज हुने भएको छ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि हुने छ ।

सिरिजमा यस अघि खेलिएका चार खेलमा दुवैले २-२ खेल जितेपछि आजको खेल फाइनल हुने भएको हो ।

सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएपछि आसामले डिएलएस मेथड अनुसार जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेपाल ए ले ९६ रनको जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेल पनि नेपाल ए ले ९ रनले जितेको थियो भने चौथो खेलमा नेपाल ए १८ रनले पराजित भएको थियो । 

यो सिरिज खेल्ने नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

Read More

एआई च्याटबटमा अल्टम्यानको दबदबा, टक्कर दिदै मस्क

काठमाडौँ । २०२५ का  शीर्ष एआई उपकरणको सूची सार्बजनिक गरिएको छ । पछिल्ला केही महिनाहरूमा एआई च्याटबटहरूको संख्या बढेको छ ।

च्याटजीपीटी जस्ता प्रसिद्ध एआई च्याटबटहरूलाई गुगलको जेमिनी र एक्सएआईको ग्रोकले कडा प्रतिस्पर्धा दिइरहेका छन् । यद्यपि, अन्य कम्पनीहरूले अन्तर घटाए पनि च्याटजीपीटी अझै पनि वेब र मोबाइलमा शीर्ष स्थानमा रहेको छ । यसको अर्थ साम अल्टम्यानको एआई च्याटबट च्याटजीपीटीले एलन मस्कको ग्रोक एआई च्याटबटलाई उछिनेको छ । फेरि एक पटक साम अल्टम्यानले एलन मस्कलाई उछिनेका छन्, तर मस्कको च्याटबटले यस पटक निश्चित रूपमा अन्तर घटाएको छ ।

उद्यम फर्म एन्ड्रीसेन होरोविट्जको रिपोर्टका अनुसार शीर्ष एआई उत्पादनहरूको सूचीमा १४ कम्पनीहरू समावेश छन् । यसमा च्याट जिपिटी, परप्लेक्सिटी, पो, क्यारेक्टर एआई, मिड जर्नी, लियोनार्दो, वीड, कटआउट, इलेभेन ल्याबस,फोटोरुम, गामा, क्विलबोट, सिभिटाई र हगिंगफेस रहेका छन् । यी कम्पनीहरूले खोज इन्जिन, डिजिटल साथी, फोटो र भिडियो सम्पादन वा भ्वाइस ओभर जस्ता विभिन्न क्षेत्रमा काम गर्छन् ।

रिपोर्ट अनुसार, एन्ड्रीसेन होरोविट्जले यो रिपोर्ट पाँचौं पटक जारी गरेको हो । यस बाहेक, पहिलो रिपोर्ट बाहेक सबै रिपोर्टमा क्लाउड, डीप एआई, जेनरेटर एआई, पिक्सेलकट र सुनो जस्ता पाँच कम्पनीहरू पनि समावेश गरिएका छन् । एलन मस्कको कम्पनी एक्सएआईको ग्रोकको लोकप्रियता पनि बढिरहेको छ । यो वेबमा चौथो स्थानमा र मोबाइलमा २३औं स्थानमा रहेको छ ।

त्यस्तै अर्कोतर्फ ठुलो लगानी गरिरहेको मेटाको जनरल असिस्टेन्ट एआई वेबमा ४६औं स्थानमा छ तर मोबाइल एआइ एपहरूको शीर्ष सूचीमा समावेश हुन सकेको छैन । रिपोर्टमा मेटा एआईले घाटा बेहोरेको उल्लेख छ,  किनभने हालै यसको प्रयोगकर्ताहरूको डेटा लिक भएको थियो ।

चिनियाँ एआई कम्पनीहरूले पनि विश्वव्यापी रूपमा प्रसिद्धि कमाएका छन् । अलिबाबाको क्वार्क वेबमा ९औं र मोबाइलमा ४७औं स्थानमा छ । त्यस्तै बाइटडान्सको डुबाओ वेबमा १२औं र मोबाइलमा चौथो स्थानमा छ भने मुनशट एआईको किमी १७औं स्थानमा छ । यी एपहरूको ७५ प्रतिशत ट्राफिक चीनबाटै आउँछ । चीनले एआई कम्पनीहरूलाई प्रवर्द्धन गर्न र अमेरिकाको प्रभुत्व कम गर्न रणनीति अपनाएको छ, जसमा यो द्रुत गतिमा काम गरिरहेको छ ।  

Read More

न्यायालयको अपमान भयो भन्दै नारायणकाजी विरुद्ध अवहेलना मुद्दा, कारबाही माग गर्दै रिट दायर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दायर भएको छ ।

न्यायपालिकाको निष्पक्षता र मर्यादामाथि गम्भीर आघात पुऱ्याउने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोप लगाउँदै कानूनका विद्यार्थी आयुष दाहालले आइतबार रिट दायर गरेका हुन्।

रिटमा उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टले समग्र न्यायपालिकाप्रति अनास्था फैलाएको र अदालतको गम्भीर अवहेलना भएको जिकिर गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भदौ ६ गते आफ्नो आधिकारिक फेसबुक पेजमा न्यायालयको अवस्थाप्रति टिप्पणी गर्दै न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति नरहेको लेखेका थिए ।

उनले लेखेका थिए-

हाम्रो देशको विकास र समृद्धि को प्रक्रिया तिब्र हुन नसक्नुमा मुख्य जिम्मेवार राजनीतिक क्षेत्रमा देखिएको समस्या हो भन्ने बारेमा धेरै चर्चा भैरहेका छन् ।तर साथसाथै यो पनि त्यत्तिकै महत्त्वको विषय हो की राज्यका अन्य अंगहरुको लोकतान्त्रिक परिवर्तन अनुरूप पुनसंरचना र रुपान्तरण नहुनु पनि यस निम्ति जिम्मेवार छ । त्यस मध्ये न्यायपालिका एउटा हो । अहिले न्यायालय को स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुंच द्वारा न्यायधीशलाई भन्न , भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन ।यो यतिमा मात्र सीमित नभएर सरकारमा रहेका राजनीतिक नेतृत्वको बदला , प्रतिशोध र राजनीतिक स्वार्थ पूर्ति गर्ने औजार समेत अदालत बन्न पुगेको महशुस हुनु ज्यादै पीडाको विषय हो । अझ अगाडि बढेर आफ्नो पदीय वा निजी स्वार्थका निम्ति न्यायाधीशहरूले सरकारको राजनीतिक नेतृत्व सँग उनीहरूको इच्छा अनुसार मुद्दा फैसला गरिदिने लेनदेन ( trade ) प्रवृति देखाउनु चरम लज्जा र चिन्ताको विषय बन्न गएको छ ।यसरी संविधान कार्यान्वयनको प्रक्रिया बाट विचलित भई देशमा संकट थपिने स्थितिको जिम्मेवारी कसले लिने ? न्यायबाट वञ्चित भई जेलमा कोचिने , जायजेथा सबै समाप्त हुने स्थितिको शिकार भई पीडित हुने व्यक्तिहरूले के गर्ने ? न्याय कसरी पाउने ? न्यायमुर्तीको जिम्मेवार पदमा बस्नेहरुले सोच्नु पर्दैन ? तसर्थ राज्यका महत्वपूर्ण अङ्गहरूको पुनसंरचना र रुपान्तरण अनिवार्य भएको छ।तर त्यसका लागि त्यस अनुरुपको राजनीतिक नेतृत्व आवश्यक छ र त्यसका लागि राजनीति सफा गर्नु (clean politics ) आवश्यक छ ।

कानूनका विद्यार्थी दाहालले आफू संवैधानिक सर्वोच्चता, सुशासन र विधिको शासनमा विश्वास गर्ने सचेत नागरिक भएको र स्वतन्त्र न्यायपालिकाको मर्यादा र गरिमाका लागि निवेदन पेस गरेको उल्लेख गरेका छन्। श्रेष्ठ मुलुकको एक स्थापित नेता समेत भएकोले उनको अभिव्यक्तिलाई सामान्य रूपमा लिन नसकिने निवेदकको तर्क छ।

निवेदक दाहालले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ बमोजिम श्रेष्ठलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्। उनले श्रेष्ठलाई सशरीर अदालतमा उपस्थित गराई बयान लिने, विवादित सामग्री सामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिने र न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय गर्न माग गरेका छन्।

Read More

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि

काठमाडौं । लिग कपको रोमाञ्चक फाइनल खेलमा इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप च्याम्पियन बनेको हो । सिएटल साउन्डर्सको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै जित सुनिश्चित गरेको थियो । इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेसीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

यो जितसहित सिएटल साउन्डर्सले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ ।

लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए ।

Read More

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

काठमाडौँ । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ ।

आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २७८ रनको लक्ष्य श्रीलंकाले ४९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले १२२ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चरिथ असलंकाले ७१ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ७ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गर्दै २-० ले जितेको छ ।

Read More

भारत र चीनबीच छिट्टै हवाई उडान सुचारु हुने, मोदी र जीङपीङबीच अरू के विषयमा भयो छलफल ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा रहेका बेला राष्ट्रपति सी जीङपीङसँग दुइपक्षीयभेटवार्ता गरेका छन् ।

चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भागलिने क्रममा चीन पुगेका मोदीले राष्ट्रपति सीसँग गरेको भेटवार्ता र छलफल भएका विषय बारे विदेश सचिव विक्रम मिश्रीले जानकारी दिएका छन् । मिश्रीले भारत र चीन बीच छिटै सिधा उडान हुने बताउदै चाँडै नै भारत र चीन बीच सिधा उडानहरू फेरि सुरु भएको देख्ने बताए ।
मिश्रीले विगत केही हप्ता र महिनादेखि दुवै देशले यस विषयमा गहन छलफल गरिरहेको र आगामी केहि हप्तामै सिधा उडान शुरु हुने बताए ।

त्यस्तै भारत र चीनबीच सीमा वार्ताको बारेमा पनि छलफल भएको छ । मिश्रीले भने- ‘यो कुराकानी अगाडि बढाउन समर्पित संयन्त्रहरू सिर्जना गरिएको छ । हामी आशा गर्छौं, भारत र चीन बीचको सीमा क्षेत्रमा सहयोग र समन्वयको लागि अवस्थित संयन्त्र आगामी दिन र हप्ताहरूमा भेट्नेछ । दुवै पक्षका नेताहरूले सीमा सीमाङ्कनसँग सम्बन्धित वार्तालाई कसरी अगाडि बढाउने भनेर आपसमा निर्णय गर्नेछन् ।’

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको बारेमा छलफल गरेको मिश्रीले बताए । उनीहरूले वर्तमान परिस्थितिले विशेष गरि अमेरिकी करले धेरै चुनौती ल्याएको विषयमा छलफल गरेका थिए । यद्यपि, छलफलको मुख्य केन्द्रबिन्दु द्विपक्षीय सम्बन्ध रहेको मिश्रीले बताए । दुवै नेताहरूले अन्तर्राष्ट्रिय स्तरमा के भइरहेको छ र यसबाट उत्पन्न हुने चुनौतीहरूलाई पनि स्वीकार गरे, तर उनीहरूले यी परिस्थितिहरूलाई पारस्परिक समझदारी बढाउन र भारत-चीन व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कसरी प्रयोग गर्न सकिन्छ भनेर हेर्ने प्रयास गरेको मिश्रीले बताए ।

२०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हो । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हो । 

Read More