२०८३ बैशाख २२

अमेरिका-इरानबीच युद्धविरामको समय सकिदै गर्दा सहमतिको प्रयास तिब्र

काठमाडौँ । अमेरिका र इरानबीच २१ अप्रिलमा समाप्त हुने अस्थायी युद्धविरामअघि महत्वपूर्ण सम्झौताबारे छलफल तीव्र भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला वार्तामा प्रगति देखिए पनि केही मुख्य विषयमा अझै सहमति बन्न सकेको छैन ।

यसैबीच तेहरानमा इरानी अधिकारीहरू र पाकिस्तानका सेनाप्रमुख असिम मुनीरबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ । मुनीर यसअघि नै तेहरान पुगेर इरानका विदेशमन्त्री अब्बास अराघाचीसँग भेट गरिसकेका छन् । उनी अमेरिकाको सन्देश लिएर गएको बताइएको छ । यस वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीलाई मध्यस्थकर्ताको भूमिकामा राखिएको छ । 

उता अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्स, स्टीव विटकोफ र जेरेड कुश्नर वार्तामा सक्रिय रहेको र प्रस्तावको मस्यौदा आदानप्रदान भइरहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार सम्झौताको सम्भावनाका लागि युद्धविराम अवधि थप गर्ने विषयमा छलफल भइरहेको छ, तर अमेरिकाले अहिलेसम्म औपचारिक सहमति जनाएको छैन ।

अमेरिकी पक्षले होर्मुज जलडमरूमध्यमा बढाइएको नौसैनिक दबाब र आर्थिक अवरोधका कारण इरानमाथि सम्झौताका लागि दबाब बढेको दाबी गरेको छ । पछिल्ला दिनमा त्यहाँको अवस्थाले व्यापारिक जहाज आवतजावत प्रभावित भएको उल्लेख गरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पछिल्ला ४८ घण्टामा इरानी बन्दरगाहतर्फ जान लागेका केही जहाजहरू फिर्ता पठाइएको दाबी गरिएको छ ।

इरानले दैनिक करिब १५ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसबाट ठूलो आम्दानी हुने भए पनि हालको अवरोधले त्यसमा असर पर्ने अनुमान गरिएको छ । खार्ग टापुबाट हुने ठूलो हिस्साको तेल निर्यात पनि प्रभावित हुन सक्ने बताइएको छ ।

यदि निर्यात ठप्प भयो भने उत्पादन नै रोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै इरानको अर्थतन्त्र अझै दबाबमा पर्ने आकलन गरिएको छ । प्रतिबन्धका कारण पहिलेदेखि नै कमजोर रहेको अर्थतन्त्र पछिल्ला घटनाले थप संकटमा पुगेको बताइन्छ ।

यसैबीच इरानको परमाणु कार्यक्रमबारे चलिरहेको वार्तामा केही प्रगति भएको दाबी गरिएको छ। पछिल्ला कूटनीतिक प्रयासपछि दुवै पक्ष समझौताको दिशामा अघि बढिरहेको उल्लेख छ । पाकिस्तानी सेनाप्रमुख असिम मुनीरको तेहरान भ्रमणलाई पनि यही कूटनीतिक प्रक्रियाको महत्वपूर्ण भागका रूपमा हेरिएको छ । यद्यपि वार्तामा प्रगति भए पनि दुवै पक्षबीच अझै मतभेद कायम रहेको र केही पक्षहरू सम्झौताप्रति असन्तुष्ट रहेको बताइएको छ ।

Read More

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

काठमाडौँ । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो । 

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताएकी थिइन् ।

त्यस क्रममा महानिरीक्षक कार्कीले, महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताएका थिए ।

छलफलका क्रममा लागू औषधको दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ् व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो । 

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सहित महानगरपालिकाका अधिकारीहरु र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरु सहभागी थिए । 

Read More

टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोली चल्यो, ९ विद्यार्थीको मृत्यु

काठमाडौँ । टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोलीकाण्ड भएको छ ।

बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । आक्रमणपछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रान्तीय गभर्नर मुकर्रम उनलुएरका अनुसार आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत विद्यार्थी थिए । उनी विद्यालय आउँदा झोलाभित्र पाँच थान हतियार र सात वटा म्यागजिन रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार ती हतियार पूर्व प्रहरी अधिकृत रहेका उनका बाबुको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अनुसन्धान सुरु गरिएको छ । गभर्नरका अनुसार आक्रमणकारी विद्यालयभित्र छिरेर पाँचौँ कक्षाका विद्यार्थी पढिरहेको दुई कक्षामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये केहीको शल्यक्रिया भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यसबीच सामाजिक सञ्जालमा आएका भिडियोहरूमा गोली चलिरहेको बेला विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको माथिल्लो तलाबाट हाम फालेको देखिएको छ । न्यायमन्त्री अकिन गुरलेकले घटनाको गम्भीर छानबिन सुरु गरिएको जानकारी दिएका छन् ।

यसअघि मंगलबार पनि टर्कीको सनलिउरफा प्रान्तमा अर्को गोलीकाण्ड भएको थियो । त्यहाँ १८ वर्षका एक युवकले आफ्नो पुरानो विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १६ जना घाइते भएका थिए । तीमध्ये विद्यार्थी र शिक्षक दुवै थिए । आक्रमणपछि ती युवकले पनि आफैँमाथि गोली प्रहार गरेका थिए । त्यो घटना एक व्यावसायिक उच्च विद्यालयमा भएको थियो । आक्रमणकारी पूर्व विद्यार्थी रहेको र उनले शटगन लिएर विद्यालय पुगेको बताइएको छ । उनले कुनै निश्चित लक्ष्य नछानी गोली चलाएको र पछि विद्यालयभित्र लुकेर बसेको जनाइएको छ । उक्त घटनामा १० विद्यार्थी, ४ शिक्षक, एक क्यान्टिन कर्मचारी र एक प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले विद्यालयलाई घेरेर विशेष कारबाही थालेको थियो। आक्रमणकारीले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि कारबाहीका क्रममा उनले आफैँमाथि गोली चलाएका थिए । लगातार दुई दिन विद्यालयमा भएका यी घटनाले टर्कीमा सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।

Read More

नेतृत्वको अस्तित्व जोगाउन ‘वाम एकता’ को प्रयास गरिदैछ- सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले बहस चलाइएको वाम एकता नेतृत्वको अस्तित्व जोगाउन भएको टिप्पणी गरेका छन् ।

नेता पाण्डेले नेतृत्वमाथि संकट आइलाग्यो भनेर फेरी बाम एकताको दौडधुपमा रहेको बताउदै हिजो पद प्राप्तिका लागि एकता गरेको र अहिले अस्तित्व जोगाउन एकता गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’

पाण्डेले एमाले आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभमात्र हेरेर नहुने र दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी रहेको बताएका छन् । 

उनले विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्ने बताउदै अहिलेको वास्तविक आवश्यकता पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु रहेको स्पष्ट गरेका छन् । 

नेता पाण्डेले विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम भोगिसकेको बताउदै हिजो मौन बस्नु आफुहरुको गल्ती भएको र आज पनि नबोल्नु गम्भीर मूर्खता हुने बताएका छन् ।  पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिदै नेता पाण्डेले एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नुपर्ने बताएका छन् ।

Read More

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १ सयले बढेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५२५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२२० मा कारोबार भएको थियो ।

Read More

दाइजो लिने दिने विवाहमा सहभागी नहुने उपसभामुख रुबी कुमारीको घोषणा

काठमाडौँ । उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो लिने दिने प्रथाविरुद्ध कडा सन्देश दिँदै यस्ता विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको सुरुवात आफूबाटै गर्नुपर्ने उल्लेख गर्दै सानो व्यक्तिगत प्रयासले पनि ठूलो सामाजिक परिवर्तन सम्भव हुने र आफु दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् ।

उनले पछिल्लो समय धेरै विवाहका निमन्त्रणापत्र प्राप्त भइरहेको तर तीमध्ये कुनैमा पनि ‘दाइजोमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नभेटिएको जनाएकी छन् । यसले समाज अझै पनि दाइजो जस्तो गम्भीर कुरीतिबाट मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ ।

दाइजो लिनु र दिनु मात्र नभई, त्यस्तो प्रथामा आधारित विवाह स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज खानु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुने उनले उल्लेख गरेकी छन् । यस्तो अभ्यासले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष असर पर्ने उनको धारणा छ ।

समाज परिवर्तन र देश विकासका लागि कुरीतिविरुद्ध उभिन आवश्यक रहेको बताउँदै उनले परिवर्तनको सुरुवात व्यक्तिगत तहबाट गर्नुपर्नेमा जोड दिएकी छन् ।

यसै सन्दर्भमा, दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी हुन नसक्ने जानकारी गराउँदै उनले सबैलाई दाइजोमुक्त, समानतामा आधारित र सभ्य विवाहलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् । साथै, विवाह निमन्त्रणापत्रमै ‘दाइजोमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न उनले अनुरोध गरेकी छन् । सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ अघि बढ्न उनले आह्वान गरेकी छन् ।

Read More

प्रधानमन्त्री बालेनले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो २ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक  विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने सचिवालयले बताएको छ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहेका छन् ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ ।

Read More

सोपान फर्मास्यूटिकल्सको आइपिओ आजदेखि खुला

काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ८ गतेसम्म रहनेछ ।

आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Read More

संसदीय समितिका सभापतिको मनोनयन दर्ता आज

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार दर्ता दिउँसो १ देखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ । त्यस्तै दिउसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

समिति सभापतिको निर्वाचन भने शुक्रबार १ बजेका लागि तोकिएको छ ।

Read More

चलचित्र ‘महाराजधिराज’ मा ‘महारानी’ को रूपमा भित्रिइन् केकी

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् ।

“महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ ।

केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो । लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम  र पोस्टर सार्वजनिक गरेको थियो । 

पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका थिए । ‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा ‘पिरियड ड्रामाको झल्को दिएको छ । यही वैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेकोचलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।

चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Read More