1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बीमा बजारमा गति फर्कियो, मंसिरमा २ लाख ५९ हजारभन्दा बढी पोलिसी बिक्री

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा निर्जीवन बीमा व्यवसायले उल्लेखनीय गति लिएको देखिएको छ। सो महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

बीमा कम्पनीहरूले मंसिरमा कुल २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गर्दै ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन्। यसले निर्जीवन बीमा बजारमा माग र गतिविधि दुवै बढ्दै गएको संकेत गरेको छ।

बीमाशुल्क संकलनको हिसाबले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ। कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ।

सगरमाथा लुम्बिनीपछि शिखर इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ४१ करोड १८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि करिब समान स्तरमा कारोबार गर्दै क्रमशः ३१ करोड ७६ लाख र ३१ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्।

यस्तै, नेको इन्स्योरेन्सले २८ करोड ५९ लाख रुपैयाँ संकलन गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

बीमा व्यवसायीहरूका अनुसार मंसिर महिनामा सवारी, सम्पत्ति तथा अन्य विविध बीमा माग बढेकाले निर्जीवन बीमा कारोबारमा सुधार देखिएको हो। पछिल्ला महिनामा देखिएको यो वृद्धि आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।