1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

साढे १३ अर्ब खुद नाफासहित आयल निगम आर्थिक रूपमा बलियो, इथानोल र हरित हाइड्रोजनतर्फ नयाँ यात्रा

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाउँदै आर्थिक रूपमा मजबुत संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ।

साढे तीन खर्बभन्दा बढी कारोबार गरेको निगमले एकातिर राजस्वमा ठूलो योगदान पुर्‍याएको छ भने अर्कोतिर स्वच्छ ऊर्जातर्फको भविष्य यात्राको खाका पनि सार्वजनिक गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार सम्पन्न निगमको ५६औँ वार्षिकोत्सव समारोहमा यी उपलब्धिहरू सार्वजनिक गर्दै आयल निगम अब केवल पेट्रोलियम व्यापारमा सीमित नरहने स्पष्ट संकेत गरे।

भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले ३ खर्ब ६७ अर्ब रुपैयाँ कारोबार गर्दै १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ। यस्तो वित्तीय सुधारको मुख्य आधार भनेको स्वचालित मूल्य प्रणाली र पछिल्ला वर्षहरूमा भएको पूर्वाधार विस्तार रहेको भट्टको भनाइ छ।

उनले २०७१ सालमा सुरु गरिएको स्वचालित मूल्य प्रणालीलाई निगमको इतिहासकै सबैभन्दा निर्णायक सुधारको रूपमा व्याख्या गर्दै भने, “यही प्रणालीका कारण आज निगम घाटाबाट नाफामा रूपान्तरण भएको छ र व्यावसायिक रूपमा आत्मनिर्भर बन्दै गएको छ।”

पूर्वाधारतर्फ, मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह, पोखरामा हवाई इन्धन भण्डारण केन्द्र, तथा डिपोहरूमा फ्लो मिटर र ईआरपी प्रणाली जस्ता प्रविधिको प्रयोगले ढुवानी खर्च घट्नुका साथै पारदर्शिता बढेको निगमले जनाएको छ। यसकै कारण उपभोक्ताले प्रतिलिटर करिब २ रुपैयाँ सस्तो इन्धन पाउन सकेको दाबी गरिएको छ।

इथानोल मिश्रण: आयात घटाउने र किसानलाई जोड्ने योजना
यही आर्थिक सबलतासँगै सरकारले हालै पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश-२०८२ स्वीकृत गरेपछि आयल निगमले नयाँ ऊर्जा रणनीतिलाई तीव्रता दिएको छ।

डा. भट्टका अनुसार पेट्रोलमा इथानोल मिसाउने योजना दुई दशकअघि नै उठेको भए पनि मूल्य, कर संरचना र नीतिगत जटिलताका कारण कार्यान्वयनमा आउन सकेको थिएन। “अब सरकारले बाटो खोलिदिएको छ, यसले आयात निर्भरता घटाउनुका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेछ,” उनले भने।

इथानोल जैविक इन्धन भएकाले यसले कार्बन उत्सर्जन घटाउने, पेट्रोलको खपत कम गर्ने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास निगमको छ। नेपालमा प्रारम्भिक चरणमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने लक्ष्य लिइएको छ, जुन हाल प्रयोगमा रहेका सवारी साधनका लागि सुरक्षित हुने बताइएको छ।

किसानदेखि उद्योगसम्म लाभ
इथानोल उत्पादनका लागि उखुको मोलासिस र सिमल तरुल जस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न सकिने भएकाले यसबाट किसान र उद्योगी दुवै लाभान्वित हुने अपेक्षा गरिएको छ। चिनी उद्योगहरू बहुउत्पादक उद्योगमा रूपान्तरण हुने, किसानले उत्पादनको उचित मूल्य पाउने र देशभित्र रोजगारी सिर्जना हुने निगमको आँकलन छ।

डा. भट्टका अनुसार गुणस्तरमा सम्झौता नहुने गरी ९९.५ प्रतिशत शुद्ध इथानोल मात्र प्रयोग गरिनेछ र यसले सवारी साधनको इन्जिनमा कुनै नकारात्मक असर नपार्ने दाबी गरिएको छ।

हरित हाइड्रोजन र पब्लिक सेयरतर्फ संकेत
दीर्घकालीन योजनातर्फ संकेत गर्दै निगमले काठमाडौं विश्वविद्यालयसँग सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गर्ने तयारी समेत अघि बढाएको जनाएको छ। यसले सन् २०४५ सम्म ‘शून्य कार्बन उत्सर्जन’ को राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि सेयर जारी गर्ने, दुर्गम क्षेत्रमा नयाँ पेट्रोल पम्प विस्तार गर्ने र ४५० केजी क्षमताको ठूलो ग्यास सिलिन्डर प्रयोगमा ल्याउने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिइएको छ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारी का भरमा दैनिक ७५ लाख लिटर इन्धन र १ हजार ५ सय टन ग्यास वितरण भइरहेको उल्लेख गर्दै डा. भट्टले कर्मचारीको समर्पणको खुलेर प्रशंसा गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, उच्च सरकारी अधिकारी, नियामक निकायका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपाल आयल निगम अब नाफामुखी मात्र होइन, स्वच्छ ऊर्जा, आत्मनिर्भरता र दिगो विकास तर्फ उन्मुख राष्ट्रिय संस्थाको रूपमा अगाडि बढ्दै गएको संकेत यस वर्षको तथ्यांक र योजनाले स्पष्ट पारेको छ।