1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

आजदेखि नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव, माघ १० गतेसम्म चल्ने

बाँके । घरेलु उत्पादनको प्रवर्द्धन र स्थानीय उद्यमशीलताको विकासलाई लक्ष्य गर्दै नेपालगञ्जमा आजदेखि घरेलु तथा साना उद्योग महोत्सव-२०८२ सुरु हुँदैछ।

घरेलु तथा साना उद्योग प्रवर्द्धन समिति जिल्ला शाखाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

आजबाट सुरु हुने यो महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमार्फत घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्नुका साथै कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

महोत्सवस्थलमा हस्तकलाका सामग्री, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री लगायतका स्टलहरू रहनेछन्। करिब १०० भन्दा बढी स्टल रहने यस महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका उत्पादनहरूको प्रदर्शनी गरिनेछ। महोत्सव अवधिभर करिब चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

महोत्सवलाई थप आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको छ। चर्चित गायक-गायिकासँगै स्थानीय प्रतिभाहरूको सहभागितामा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, जलस्रोत तथा ऊर्जामन्त्री सरिता चौधरी ले गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै महोत्सव अवधिभर सांस्कृतिक झाँकी, घोडा दौड, झुला प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार महोत्सवले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु तथा साना उद्योगप्रति आम नागरिकको आकर्षण बढाउने विश्वास लिइएको छ।