1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कांग्रेसमा भूकम्प: देउवाको एक्सन, गगन-विश्वप्रकाश पाँच वर्षका लागि निलम्बित

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक तनाव निर्णायक मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। यही निर्णय अन्तर्गत सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पनि पाँच वर्षका लागि निलम्बन गरिएको छ।

बैठकमा सहभागी केन्द्रीय सदस्य दिनेश कोइरालाका अनुसार पार्टीभित्र गहिरिँदै गएको विवाद र विभाजनको अवस्थालाई ध्यानमा राख्दै बहुमत केन्द्रीय सदस्यहरूको उपस्थितिमा यस्तो कठोर निर्णय लिइएको हो। संस्थापन पक्षले महामन्त्रीद्वयले पार्टीलाई विभाजनको रेखातर्फ धकेलेको आरोप लगाउँदै कारबाही अपरिहार्य भएको निष्कर्ष निकालेको बताइएको छ।

बैठक स्रोतका अनुसार आज बिहानसम्म सभापति देउवाले पार्टी फुट्न नदिन अधिकतम पहल गरेका थिए। तर विशेष महाधिवेशन पक्षधरहरूले उम्मेदवारी दर्ता पूरा गर्दै मतदान प्रक्रियातर्फ अघि बढेपछि संस्थापन पक्ष थप कडा र निर्णायक रूपमा प्रस्तुत भएको बुझिन्छ।

यसैबीच, सभापति पदमा गगन थापाको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने अवस्था बनेको छ। यही सन्दर्भलाई लिएर संस्थापन पक्षले पार्टीको विधान, अनुशासन र एकतामाथि गम्भीर प्रश्न उठेको भन्दै नेतृत्व तहमा कठोर कारबाही आवश्यक भएको निष्कर्ष निकालेको बताइएको छ।

कांग्रेसभित्र नेतृत्व, विशेष महाधिवेशन र भावी दिशालाई लिएर देखिएको यो टकरावले पार्टीको आन्तरिक राजनीतिलाई झनै तरंगित बनाएको छ। निलम्बनको यो निर्णयले कांग्रेसको आगामी राजनीतिक यात्रा र संगठनात्मक संरचनामा गहिरो असर पार्ने अनुमान गरिएको छ।