1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पुराना गल्तीबाट सिकेर अब देशको नेतृत्व लिन्छौँ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पार्टी नयाँ सोच र नयाँ ढंगले अघि बढ्दै देशको नेतृत्व लिने तयारीमा रहेको बताएका छन्।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भमा जनताको घर–घरमा पुगेर नेकपाको दृष्टिकोण स्पष्ट रूपमा राख्न कार्यकर्तालाई आग्रह गरे।

प्रचण्डले विगतमा भएका कमजोरी र गल्तीबाट पाठ सिकेर अब जिम्मेवार र परिपक्व राजनीतिक अभ्यासतर्फ पार्टी अघि बढ्न चाहेको स्पष्ट पारे। “हामी पुराना गल्तीबाट सिकेर नयाँ ढंगले अगाडि जान चाहेका छौँ र यो देशको नेतृत्व लिन चाहेका छौँ भन्ने कुरा जनतासामु स्पष्ट रूपमा राख्न जरुरी छ,” उनले भने।

उनले काठमाडौं उपत्यकाको राजनीतिक र सामाजिक संरचनाबारे पनि टिप्पणी गरे। उपत्यकाको मूल समुदाय नेवार रहेको उल्लेख गर्दै प्रचण्डले नेवार समुदायका धेरै क्षमतावान नेता नेकपामा समाहित भइसकेको दाबी गरे। यही कारण अब उपत्यकामा नेतृत्वको दाबीलाई लिएर अन्योल आवश्यक नरहेको उनको भनाइ थियो।

“काठमाडौं उपत्यकाको संरक्षण र पहिचानको सवालमा नेवार समुदायको भूमिका निर्णायक छ। आज क्षमता, नेतृत्व र समुदायको केन्द्रीकरण नेकपातर्फ भएको छ,” प्रचण्डले भने। साथै उनले नेकपा कुनै एक जाति वा समुदायको पार्टी नभई सबै वर्ग, जाति, क्षेत्र र समुदायको साझा राजनीतिक मञ्च भएको पनि प्रस्ट पारे।

प्रचण्डले उपत्यकाका जटिल समस्या, सामाजिक विविधता र विकासका चुनौतीबारे पार्टी जानकार रहेको उल्लेख गर्दै सबै समुदायको सहकार्यबाट मात्रै स्थायी समाधान सम्भव हुने धारणा राखे। उनका अनुसार आगामी दिनमा नेकपाले काठमाडौं उपत्यकासहित देशभर जनताको विश्वास जित्ने गरी राजनीतिक अभियानलाई तीव्र बनाउनेछ।