२०८३ बैशाख १३

डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढी । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका हुन् ।

उनले पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

उनले भने- ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ । शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।’

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । साथै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

Read More

ऊर्जा सचिव सुरेश आचार्यको बिदाई

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन् ।

आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बिदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह–तप्काका कर्मचारीहरूको सहभागिता थियो।

Read More

नेप्से ३१.१७ अंकले घट्यो, ६ अर्ब ६ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयर मुल्य ४.१६ प्रतिशतले बढेको छ । 

त्यस्तै आज ग्लोबल आइएमइ समुन्नत योजना-२ को शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ४५ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Read More

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ ।

आइतबार नेपाल पत्रकार महासंघबाट प्रस्तुत भएको ज्ञापनपत्रका सम्बन्धमा सञ्चार मन्त्रालयका सचिव सहित पत्रकार महासंघका अध्यक्ष एवं अन्य पदाधिकारीको उपस्थितिमा छलफल र निर्णय भएको हो । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनुपर्ने व्यवस्था छ ।

यो व्यवस्थाका सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चार माध्यम सूचीकरणको कार्य यथावत राख्न मन्त्रालयबाट पत्राचार गर्ने सहमति छ । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधि सम्म साविक बमोजिम नै जारी गर्ने सहमति पनि भएको छ ।

केहि नेपाल ऐन संशोधनमार्फत छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधन बमोजिम अनलाइन सञ्चार माध्यमलाई व्यवस्थापन गर्न तयार पारिएको छापाखाना र प्रकाशनसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०८२ लाई १५ दिन भित्र स्वीकृत गर्न मन्त्रालयले आवश्यक पहल गर्ने पनि भनिएको छ । नयाँ अनलाइन सञ्चार माध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसंख्या उल्लेख गरी संकलन गर्ने सहमति भएको छ ।

सहमतिका बुंदाहरु:
१- नेपाल पत्रकार महासंघबाट प्रस्तुत भएको ज्ञापनपत्रका सम्बन्धमा मन्त्रालयका श्रीमान् सचिवज्यू सहित पत्रकार महासंघका अध्यक्ष एवम् अन्य पदाधिकारीको उपस्थितिमा छलफल गरियो । 

२- अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ मा दर्ता भएका अनलाइनसञ्चार माध्यमले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनुपर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन वोर्डले अनलाइन सञ्चार माध्यम सूचीकरणको कार्य यथावत राख्न मन्त्रालयबाट पत्राचार गर्ने । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधि सम्म साविक बमोजिम नै जारी गर्ने ।

३- केहि नेपाल ऐन संशोधनमार्फत छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधन बमोजिम अनलाईन सञ्चार माध्यमलाई व्यवस्थापन गर्न तयार पारिएको छापाखाना र प्रकाशनसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०८२ लाई १५ दिन भित्र स्वीकृत गर्न मन्त्रालयले आवश्यक पहल गर्ने ।

४- नयाँ अनलाइन सञ्चार माध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसंख्या उल्लेख गरी संकलन गर्ने ।

Read More

कांग्रेसको शुभेच्छुक संस्था सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।

संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन् । पार्टीको संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारबाट बनेका झाले १३१५ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिष्पर्धी केसीले १००२ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नवनिर्वाचित कार्यसमितिमा अधिकांश संस्थापन पक्षका रहेका छन् । जसमा उपाध्यक्षमा निर्वाचित मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी निर्वाचित भए भने कोषाध्यक्षमा रस्मिता बञ्जारा विजयी भएकी छन् ।

Read More

सीमामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्री लेखकको निर्देशन

वीरगंज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।

उनले भने- ‘ राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु । एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।’ गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।  उनले भने- ‘अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ । चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।’

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले भने- ‘भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।’

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More

नेसनल प्याब्सनले शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई बुझायो लिखित धारणा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन्।

शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको भन्दै पुनर्विचार आवश्यक रहेको बताएका हुन्।

पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था लागू भए शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने र मध्यम आय भएका परिवारका बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्था सिर्जना हुने तर्कसहित उक्त प्रावधान पुनः परिमार्जन गर्नुपर्ने धारणा नेसनल प्याब्सनले प्रस्तुत गरेको छ। त्यस्तै पूर्व–प्राथमिक तहलाई दुई वर्षमा सीमित गर्ने व्यवस्था अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको भन्दै यसलाई तीन वर्ष कायम गर्नुपर्नेमा जोड दिइएको थियो।

सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रावधान व्यवहारिक नभएकाले यसलाई ऐच्छिक बनाउनुपर्ने सुझाव समेत पेस गरिएको थियो। साथै कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई निरन्तरता दिनुपर्ने, तहगत अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तलब–भत्तामा विद्यमान ६०÷४० को प्रणाली निरन्तरता दिनुपर्ने तथा छात्रवृत्ति वितरण गर्दा शुल्कमा प्रत्यक्ष असर नपर्ने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको थियो।

यस अवसरमा नेसनल प्याब्सनले कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण पनि राष्ट्रपतिको समक्ष प्रस्तुत गरेको थियो।

यसअघि, शिक्षा विधेयकका जटिल प्रावधान र सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा नेसनल प्याब्सन पदाधिकारीहरूले सम्बन्धित मन्त्रीहरू रघुजी पन्त र शरदसिंह भण्डारीलाई समेत भेटी लिखित सुझाव बुझाएका थिए। मन्त्रीहरूले आफ्नो तर्फबाट सकारात्मक प्रतिबद्धता व्यक्त गरेको कुरा पनि राष्ट्रपतिलाई जानकारी गराइएको थियो।

नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा मान्यता दिनुपर्ने, आफूहरू विद्यालय बन्द–हड्तालको पक्षमा नरहेको र लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता तथा समग्र शिक्षा क्षेत्रकै लागि ऐतिहासिक कोसेढुङ्गा सावित होस् भन्ने अपेक्षा पनि व्यक्त गरेको छ।

उक्त भेटमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, उपाध्यक्ष तिलक चौहान, निवर्तमान महासचिव पारसमणि दाहाल, उपमहासचिव कृष्ण पौडेल र काठमाडौँ जिल्ला सदस्य विजय न्यौपानेको सहभागिता थियो।

Read More

प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् ।

आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा ‘टंकमणि : एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको थियो ।

सो अवसरमा प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे । उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे ।

कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो । स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

Read More

रमेश भुसालको ‘छालबाटो’ लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले मेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।  

२०८१ मा प्रकाशित तथा यस प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएको थियो । ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिस अनुसार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गर्ने निर्णय गरिएको हो ।

रमेश भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिएका छन् । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा. डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय छन् ।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

Read More