२०८३ बैशाख १३

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।

 गुठी संस्थानका अनुसार लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने छ भने भाद्र २१ गते इन्द्रजात्रा मनाइने भएको छ । 

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ । तीनै वटा रथ तान्न सुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।

Read More

पोखरा अन्तर विद्यालय ब्यान्ड प्रतिस्पर्धामा गण्डकी बोर्डिङ प्रथम

पोखरा । अन्तर विद्यालय ब्यान्ड प्रतिस्पर्धामा गण्डकी बोर्डिङ स्कुल प्रथम भएको छ । 

पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सम्पन्न प्रतियोगितामा १९ विद्यालयहरूको सहभागिता रहेको थियो । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगिताको विजेताले नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटार, उत्कृष्ट ड्रमर, पब्लिक च्वाईस र जज च्वाईस लाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।

Read More

मोदीसँगको भेटमा जिनपिङले भने- ड्र्यागन र हात्ती एकसाथ आउनु महत्वपूर्ण छ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटमा ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण भएको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार सी जिनपिङले विश्व परिवर्तनतर्फ अघि बढिरहेको बताउदै चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता र दुवै विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश भएको बताएका छन् ।

सी जिनपिङले भने- ‘दुबैका लागि मित्र रहनु, असल छिमेकी हुनु र ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण छ ।’

यसअघि, मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए ।

सांघाई सहयोग संगठनको बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदैछ।  मोदी र सी जिनपिङ बाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन् ।

Read More

अमेरिकी निर्वाचनमा मतदाता कार्ड अनिवार्य गर्ने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर मतदाताले मतदान गर्नुअघि मतदाता कार्ड देखाउनुपर्ने बताएका छन् । उनले गम्भीर बिरामी मतदाता र टाढा तैनाथ सैनिकहरू बाहेक कसैले पनि हुलाकबाट मतदान गर्न नपाउने समेत बताएका छन् ।

ट्रम्पले पहिले नै अमेरिकी चुनाव प्रणालीमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले पनि गैर-नागरिकहरूले ठूलो संख्यामा मतदान गर्ने गरेको आरोप लगाउदै आएका छन् ।

ट्रम्पले लामो समयदेखि इलेक्ट्रोनिक मतदान मेसिनको प्रयोग रोक्न माग गर्दै आएका छन् र तिनीहरूको ठाउँमा कागजी मतपत्र र हातले गणनामा जोड दिइरहेका छन् । तर निर्वाचन अधिकारीहरूले यो प्रक्रिया महँगो र समय खपत गर्ने मात्र होइन, तर मेसिनहरूद्वारा गणना गर्नुभन्दा कम भरपर्दो रहेको बताएका छन् ।

अगस्टको सुरुमा, ट्रम्पले २०२६ को मध्यावधि चुनाव अघि हुलाक मतपत्र र मतदान मेसिनहरू हटाउन आदेश दिने वाचा पनि गरेका थिए । यद्यपि, अमेरिकामा चुनावहरू राज्य स्तरमा गरिन्छन् र राष्ट्रपतिलाई त्यसो गर्ने संवैधानिक अधिकार छ कि छैन भन्ने कुरा स्पष्ट रहेको छैन ।

Read More

मोदी र सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।  शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन अघि चीनको तियानजिनमा मोदी र जीङपीङबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा मोदीले गत वर्ष कजानमा धेरै फलदायी छलफल भएको उल्लेख गर्दै सो छलफलले भारत-चीन सम्बन्धलाई सकारात्मक दिशा दिएको बताएका थिए । साथै मोदीले सीमा विवादपछि अहिले दुवै देशबीच शान्तिपूर्ण वातावरण बनेको र द्विपक्षीय छलफल सकारात्मक रुपमा अघि बढिरहेको बताएका थिए ।

 २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हो । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हो । 

गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।

Read More

महाकालीको बनबासा पुलमा चार पाङ्ग्रे र र तिन पाङ्ग्रे सवारीसाधन निषेध

कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव १, २८, ५६० क्युसेक पुगेपछि पानीको बहाव बढदो क्रममा रहेकाले चार पाङ्ग्रे र र तिन पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ ।

Read More

हैजा प्रभावित वीरगंजमा सुरक्षा निकायका स्वास्थ्य जनशक्ति र औषधि उपलब्ध गराउछौं: गृहमन्त्री लेखक

वीरगंज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगंजस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको  नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । 

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

उनले भने- ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ । यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ ।’

हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना डाक्टरलाई जिम्मेवारी दिएका छन् ।

Read More

देशको बारेमा कुरा गर्दा राजा रोए भन्दै प्रसाईँले भने: राजसंस्था फर्किएन भने देश डुब्छ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू राजावादी नभएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनसग संवाद गर्दै उनले आफू राजावादी नभएर राष्ट्रवादी रहेको बताएका हुन् । उनले देशमा राजसंस्था फर्किनेमा कुनै आशंका नरहेको बताए । राजसंस्था फर्किएन भने अबको १० वर्षमा देशको हालत खराब हुने उनको भनाइ छ । उनले पूर्व राजा ज्ञानेन्द्र शाह पनि राजावादी नभएर राष्ट्रवादी रहेको उनको भनाइ छ ।

‘म राजावादी होइन । म राष्ट्रवादी हो । राजा कुनै वाद विवादमा हुँदैनन् । राजा राष्ट्रवादी हुन्छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको पछाडि होइन, राजसंस्था चाहिन्छ भनेर लागेको हो । राजसंस्था अपरिहार्य रहेछ भनेर त यही लिपुलेक, कालापानीले देखाइहाल्यो नि । राजसंस्था त फर्किन्छ । राजसंस्था फर्किएन भने नि अबको १० वर्ष पछाडि तपाईँले देख्नुहोला हालत के हुन्छ । म राजसंस्थाको पक्षमा छु, राजावादी म होइन । म राष्ट्रको पक्षमा छु, म अराष्ट्रिय तत्व होइन । पूर्व राजा ज्ञानेन्द्र नि राजावादी हुनुहुन्न, राष्ट्रवादी हो,’– उनले भने ।

राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा राजसंस्था नफर्किने उनले बताए । उनले आफू पूर्वराजा ज्ञानेन्द्र, पारस, हृदेयन्द्रलगायत कसैको पक्षमा पनि नरहेको बताए । जो आए पनि संस्था रहोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ । उनले आफूले सुरु गरेको अभियान गरिब र सर्वहारा वर्गको अभियान रहेको बताउँदै यो अभियान नमरेको दाबी गरे ।

प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्दा उनको आँखामा आँशु छचल्किएको हेर्न नसकेर राजसंस्थाको पक्षमा आफू उभिएको बताए । ‘मैले देशको विषयमा कुरा गर्दाखेरी उहाँको आँखाबाट छचल्किएका आँशु, भुईँमा झरेको आँशु अब नझरुन् भनेर लागेको मान्छे हुँ म,’– उनले भने । ‘देश बर्वाद भयो प्रसाईँजी । हामीलाई पनि निकालिहाले । अब हामी त्यो ठाउँमा छैनौं’ भनेर आफूलाई राजाले गुनासो गरेको उनले बताए ।

Read More

हिमालयन इन्भेष्टमेन्ट बैंकरको पहिलो बन्दमुखि फण्ड ‘एचएलआई लार्ज क्याप’ सार्वजनिक निष्काशन

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आजदेखि आफ्नो पहिलो बन्दमुखि म्युचुअल फण्ड योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल ४० करोड इकाई जारी गर्न लागेको हो, जसको मूल्य ४ अर्ब रुपैयाँ बराबर हुनेछ।

यस फण्डमा ५० प्रतिशत अर्थात २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन गर्न सक्ने व्यवस्था छ।

यस योजना अन्तर्गत इकाई बाँडफाँड भएको मितिदेखि १० वर्ष अवधिसम्म सञ्चालन हुनेछ। लगानीकर्ताले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन म्याद भदौ २९ गतेसम्म थप गर्न सकिनेछ। बिक्री अवधिभित्र न्यूनतम ५० प्रतिशत अर्थात २० करोड इकाई बिक्री नभएमा योजना खारेज गरी लगानीकर्ताको रकम १५ दिनभित्र फिर्ता गरिने व्यवस्था गरिएको छ।

उक्त योजनाको निष्काशन तथा बिक्री प्रबन्धक स्वयं हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Read More

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन चीन पुगे पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् । उनी सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका छन् र उनी तियानजिन पछि बेइजिङ जानेछन् ।

तासले राष्ट्रपति पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ दिइएको बताएको छ ।

पुटिनले जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुने ‘विजय दिवस’ परेडमा पनि भाग लिनेछन् ।

चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।

Read More