२०८३ बैशाख १३

असोज २ देखि नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद खुल्दै

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद शेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

Read More

दशैंमा नयाँ होइन यसपाली सुकिला नोट मात्र पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा पनि नयाँ नोट नभई सुकिला नोट साट्न सकिने व्यवस्था गरेको छ।

सार्वजनिक सूचना मार्फत राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म देशभरका बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट उपलब्ध गराइने जनाएको हो।

मुद्रा व्यवस्थापन विभागका अनुसार, काठमाडौंसहित प्रदेशस्थित कार्यालयहरू-विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका शाखाहरूमा साट्न सकिनेछ। त्यस्तै, इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत पनि सहज रूपमा सुकिला नोट उपलब्ध हुने व्यवस्था गरिएको छ।

दसैंमा नयाँ नोट वितरण गर्ने प्रचलन लामो समयदेखि चलिआएको थियो। तर, गत वर्षदेखि राष्ट्र बैंकले मुद्राको दीर्घकालीन व्यवस्थापन र छपाइ खर्चलाई ध्यानमा राख्दै नयाँ नभई सुकिला नोट मात्र साट्ने नीति अवलम्बन गरेको हो। यस कदमले अनावश्यक नयाँ नोट छपाइमा कटौती हुने मात्र नभई बजारमा प्रयोग भएका तर अझै सफा र राम्रो अवस्थामा रहेका नोटको उपयोग बढाउने उद्देश्य रहेको छ।

यस वर्ष पनि हजारौँ सर्वसाधारणले दशैं खर्चका लागि सुकिला नोट लिन व्यावसायिक बैंकहरूतर्फ धाउने अनुमान गरिएको छ।

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको २ लाख ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।

Read More

प्रधानमन्त्री ओलीबाट चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गरेका छन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ओलीले आजै जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

Read More

एएफसी यू-२३ एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । 

यू-२३ नेपाली टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र  विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।  त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले सेप्टेम्बर ३ मा ताजिकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । 

समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुने छन् ।

Read More

त्रिकोणात्मक टी-२० सिरिजमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले युएईलाई ३१ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । युएईका लागि आसिफ खानले ७७ रन बनाए भने कप्तान मुहमद वासीमले ३३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर हसन अलीले ३ तथा मुहमद नवाजले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । पाकिस्तानका लागि सैम आयुबले सर्बाधिक ६९ रन बनाएका थिए भने हसन नवाजले ५६ र मोहमद नवाजले २५ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र साघिर खानले ३-३ विकेट लिएका थिए भने हैदर अलीले २ विकेट लिएका थिए ।

यो त्रिकोणात्मक सिरिजमा पाकिस्तानको लगातार दोस्रो जित हो । अब सिरिजको तेस्रो खेल सोमबार अफगानिस्तान र युएईबीच हुदैछ ।

Read More

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन (तस्विरहरु सहित)

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

Read More

इजरायली आक्रमणमा हुथी विद्रोहीक प्रधानमन्त्रीको मृत्यु भएको दाबी

काठमाडौँ । यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-राहवीको मृत्यु भएको दाबी गरेका छन् ।

हुथी विद्रोहीहरूले गाजा युद्ध सुरु भएदेखि यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको बताएका छन् । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्युको यो पहिलो घटना हो । समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशतले शनिबार घोषणा गरेको बताएका छन् । राजधानी सानामा बिहीबार भएको आक्रमणमा अल-राहवीसहित अन्य धेरैको मृत्यु भएको र कैयौं घाइते भएको भनिएको छ ।

एएफपीका अनुसार अल-राहवीलाई अन्तिम पटक बुधबार सानामा सार्वजनिक कार्यक्रममा देखिएको थियो । 

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘हामी योद्धा अहमद गालिब नासिर अल-राहवीको मृत्युको घोषणा गर्दछौं । उनको मृत्यु उनका धेरै सहकर्मीहरूसँगै भएको छ। उनलाई इजरायलले निशाना बनाएको थियो । विज्ञप्तिमा आक्रमणमा घाइते भएका धेरै सहकर्मीहरूको अस्पतालमा उपचार भइरहेको उल्लेख गरिएको छ ।

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका प्रमुख, रक्षामन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको बताएको थियो ।

अहमद अल-राहवी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो । शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ ।

Read More

ला लिगामा रियल म्याड्रिडको लगातार तेस्रो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि अर्दा गुलेर र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । यस अघि मल्लोर्काका लागि भेदात मुरिकीले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै मल्लोर्काले भने ३ खेलमा एक बराबरी र २ हार बेहोरेको छ ।

Read More

साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५: ४५ बजेदेखि शुरु हुदैछ । आजै दिउसो २: ४५ मा भारत र बंगलादेश पनि खेल्दैछन् ।

साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितिसकेको छ । भारत ५ खेलमा अपराजित रहदै च्याम्पियन बनेको हो । 

नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो । त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो ।

त्यस्तै भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ । भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो ।

नेपाली खेलाडी
गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्ड: अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

Read More