२०८३ बैशाख १३

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै, आज रुपन्देही-३ को उम्मेदवार घोषणा गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

प्रवक्ता मनिष झाका अनुसार आज पार्टी केन्द्रीय कार्यालय बनस्थली काठमाडौँमा दिउसो साढे १ बजे बस्ने बैठकमा रूपन्देही- ३ को  उम्मेदवार छनोट मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालन बारे छलफल हुने कार्यसूची रहेको छ ।

रास्वपाले आजको बैठकपछि रुपन्देही-३ को उपनिर्वाचनका लागि  उम्मेदवार घोषणा गर्ने बताएको छ । 

Read More

 गौरा पर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको छ: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना दिदै यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् ।

आज गौरा पर्वको अवसरमा सभापति देउवाले यस पर्वले पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्न समेत उत्प्रेरित गरेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्-
विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन् । ती मध्ये, विशेष गरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छोड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको छ । देवी गौरी (गौरा) र भगवान शिव (महेश्वर) को पुजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छ ।

गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला समेत हो । विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ । यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्न समेत उत्प्रेरित गरेको छ ।

गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Read More

फुलह्याममाथि चेल्सीको सहज जित

काठमाडौँ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत दोस्रो जित हासिल गरको छ ।

शनिबार राति सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोआओ पेड्रो र इन्जो फेर्नानडेजले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३ खेलमा ७ अंक भएको छ । त्यस्तै फुलह्यामले भने यस सिजनमा अझै जित निकाल्न सकेको छैन । यस अघि दुई बराबरी खेलेको फुलह्यामले यस खेलमा हार बेहोरेको छ ।

Read More

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Read More

राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदैछ । 

नेपाल सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ । यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएका ऐतिहासिक दिनको स्मृतिमा मनाइन्छ । यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउँछ । यस वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ तय गरिएको छ। देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ ।

पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहेको छ । नेपालमा पुस्तकालयका विभिन्न स्वरूप छन्, जसले अध्ययन, अनुसन्धान र ज्ञान विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

Read More

चलचित्र कोशेढुंगा: हाँसो र आँसुको आवाजले भरिएको कथा, जसले मौन सरकारलाई समेत झस्काइदिन्छ

काठमाडौँ । भदौ १२ देखि नेपाल तथा विदेशका विभिन्न हलमा प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ ले रिलिजको सुरुवातदेखि नै दर्शकको मन जितेको छ। सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्मले नेपाली समाज, जीवन र संघर्षलाई यथार्थपरक रूपमा उतार्न सफल भएको छ।

फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा र आर्यन सिग्देललगायत कलाकारको अभिनयले कथालाई अझ सजीव र भावनात्मक बनाएको छ। फिल्मको पहिलो भाग हाँसोले भरिएको छ। हलभित्र दर्शक रमाइरहेका देखिन्छन्। तर, मध्यान्तरपछि दृश्यहरूको मोड फेरिन्छ, जसले दर्शकलाई आँसु झार्न बाध्य बनाउँछ। यो परिवर्तन मात्र मनोरञ्जनका लागि नभई नेपाली समाजको गहिरो पीडा र विडम्बनालाई उजागर गर्ने उद्देश्यसहित आएको देखिन्छ।

फिल्मले विशेषगरी महिलाले भोग्ने पीडा र पहिचानको संघर्षलाई देखाएको छ। तर, यो कथाले केवल महिलामात्र होइन, हरेक नेपालीको दैनिक जीवनका समस्या र बाध्यताहरूलाई उजागर गर्छ। एउटा साधारण युवाको जीवन र उसको संघर्षलाई चित्रण गर्दै फिल्मले लाखौँ नेपाली युवायुवतीको कथा सुनाएको छ।

फिल्ममा विशेष गरी एउटा यथार्थपरक चित्रणले दर्शकलाई गहिरो प्रभाव पारेको छ – नेपालमै केही गर्न चाहँदा पनि पुर्ख्यौली सम्पत्ति नभएका कारण, लगानी जुटाउन नसकेर, अन्ततः विदेशिने बाध्यता। यसले अहिलेको सामाजिक यथार्थलाई प्रतिविम्बित मात्र गरेको छैन, बरु युवालाई विदेश धपाउने संरचनात्मक कमजोरीलाई पनि देखाएको छ।

फिल्मका धेरै दृश्यहरूले सामान्य नेपालीको मन छोएको छ। केही हँसाउने, केही रुवाउने र केही आत्ममन्थन गर्न बाध्य पार्ने खालका छन्। यसैले फिल्म केवल मनोरञ्जन नभई एउटा सशक्त सामाजिक सन्देश बोक्ने कृति बनेको छ।

‘कोशेढुंगा’ ले एउटा महत्वपूर्ण बहसलाई पनि उठाएको छ – अन्जानमा भएका गल्ती वा अवैधानिक कामका कारण हजारौँ नेपालीहरू विदेशका जेलमा परेका छन्। यस मुद्दालाई बलियो रूपमा उठाएर फिल्मले नेपाल सरकार, विशेष गरी श्रम मन्त्रालयलाई सजग गराउन खोजेको देखिन्छ। यसले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने र उनीहरूको पुनर्स्थापनामा आवश्यक नीतिगत पहल गर्न प्रेरित गर्ने सम्भावना छ।

फिल्मले नेपालको बैंकिङ प्रणाली र वित्तीय पहुँचबारे समेत पनि प्रश्न खडा गरेको छ। पुर्ख्यौली सम्पत्ति नभएका युवायुवतीले कृषि वा साना परियोजनामा लगानीका लागि सहज कर्जा पाउने वातावरण नहुँदा उनीहरू विदेशीने बाध्यता पैदा भएको सन्देश यस फिल्मले प्रष्ट्याएको छ।

समग्रमा, ‘कोशेढुंगा’ पैसा असुल हुने मात्र होइन, सामाजिक-राजनीतिक बहसलाई उत्प्रेरित गर्ने कृति बनेको छ। यसले दर्शकलाई मनोरञ्जन त दिन्छ नै, तर नीतिनिर्मातालाई पनि गहिरो सोच्न बाध्य पार्छ। दर्शकले आफ्नो कथा देखेर आँसु झार्दा, नीतिनिर्माताले फिल्ममा उठाइएका समस्यालाई सम्बोधन गर्ने नीति बनाउन सकेमा यो चलचित्र अझ अर्थपूर्ण हुनेछ।

Read More

बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बर्नलीमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रयान एम्बेउमो र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल बोर्न माउथका जोस कुलेनले आत्मघाती गरेका थिए । त्यसैगरी बर्नलीका लागि लिले फोस्टर र जैडोन एन्थोनीले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो खेलमा पहिलो जित हो । युनाइटेडले यस अघि एक खेल हार बेहोरेको थियो भने एक खेल बराबरी खेलेको थियो । त्यस्तै बर्नलीको यस सिजनमा तेस्रो खेलमा यो दोस्रो हार हो ।   

Read More

आज गौरा पर्व: घरघरमा निष्ठा र उल्लासका साथ उमा-महेश्वरको पूजा गरिदै, देउडा संस्कृतिमा गुञ्जिदै सुदूरपश्चिम

काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाइदैछ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मानिने गरको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको मान्यता रहदै आएको छ ।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने भनाइ पनि रही आएको छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

यो पर्वमा केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ ।

यसरी दुई तीनदिन पूजा गरिसकेपछि मंगल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने धार्मिक परम्परा पनि छ । देवी बिसर्जन गरेपछि मागल अर्थात् मांगलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय विधान रहेको बताइन्छ ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासी मनोरञ्जन गर्दछन् ।

Read More

बोर्नमाउथसँग टोटनह्याम स्तब्ध

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम बोर्नमाउथसँग स्तब्ध भएको छ ।

गएराति सम्पन्न खेलमा बोर्नमाउथले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथका लागि खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनको तेस्रो खेलमा बोर्नमाउथको दोस्रो जित हो । त्यस्तै यस अघि दुई खेल लगातार जितेको टोटनह्यामले आफ्नो यस सिजनको तेस्रो खेलमा हार बेहोरेको छ ।

Read More