२०८३ बैशाख १३

मोदीसँगको भेटमा जिनपिङले भने- ड्र्यागन र हात्ती एकसाथ आउनु महत्वपूर्ण छ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटमा ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण भएको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार सी जिनपिङले विश्व परिवर्तनतर्फ अघि बढिरहेको बताउदै चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता र दुवै विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश भएको बताएका छन् ।

सी जिनपिङले भने- ‘दुबैका लागि मित्र रहनु, असल छिमेकी हुनु र ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण छ ।’

यसअघि, मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए ।

सांघाई सहयोग संगठनको बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदैछ।  मोदी र सी जिनपिङ बाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन् ।