२०८३ बैशाख १३

सामाजिक सञ्जाल तत्काल सुचारु गर्न सत्तारुढ दल निकटसहित १७ विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ दल निकटसहित १७ विद्यार्थी संगठनले सामाजिक सञ्जाल बन्दको बिरोध गरेका छन् । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति १७ विद्यार्थी संगठनले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै आइतबार संयुक्त रुपमा विरोध गरेका हुन् ।

उनीहरुले सरकारको यस कदमले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘सामाजिक सञ्जाल र सञ्चारका माध्यम बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ । त्यसैगरी, पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब सत्तरी प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् ।’

उनीहरुले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न, सामाजिक सञ्जाल तत्काल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीति तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपयुक्त विकल्प अवलम्बन गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।

Read More

दुर्गा प्रसाईको जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग निवासमै भेटेको दाबी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजी पुस्ताको आन्दोलनका आयोजकसँग भेटेका छन् ।

सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्दै प्रसाईले कार्यक्रमको पूर्वसन्ध्यामा जेनजीका संयोजक भाइबहिनीहरूलाई आफ्नो निजी निवासमा स्वागत गरेको उल्लेख गर्दै छोटो तर सार्थक संवादले अझ प्रष्ट पार्दै पारिदिएको उल्लेख गर्दै आफुहरुले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेको पाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 
आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ । छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन् । हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई विदा गरेँ । चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Read More

जेनजी पुस्ताको प्रदर्शनमा सरकारको प्रतिक्रियाको निगरानी गर्दछौं- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार हुन लागेको जेनजी पुस्ताको आन्दोलनप्रति सरकारको व्यवहारको निगरानी गर्ने बताएको छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वस्फूर्त प्रदर्शनबारे आफुहरु उत्साहित भएको उल्लेख गर्दै नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि निगरानी रहने बताएका छन् ।    

साथै उनले जेनजीले उठाएका बिषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ:
भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (जेनजी) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौं। यो परिप्रेक्षमा जेनजीसमेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो । सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ । 

नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि हाम्रो निगरानी रहनेछ । जेनजीले उठाएका बिषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौँ । साथै, पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्दछौँ ।

Read More

विभिन्न दस्ताबेज पारित गर्दै एमालेको दोस्रो विधान महाधिवेशन सकियो

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ ।

शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको दोस्रो विधान महाधिवेशन विभिन्न दस्तावेज पारित गर्दै समाप्त भएको छ ।  

यस विधान महाधिवेशनले तीन प्रमुख दस्तावेज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराको प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार बिभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्  ।

विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि  सबै दस्तावेज प्रस्तुत गरिएको थियो भने शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल भएको थियो र अन्तिम दिन आज दस्ताबेज सर्वसम्मतले पारित गरेको गौतमले जानकारी दिएका छन् । त्यस्तै विधान महाधिवेशनले २९ वटा विभिन्न प्रस्ताव पारित गरेको गौतमले बताए । त्यस्तै डा. विजय सुब्बा अध्यक्ष रहेको २५ सदस्य रहेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।

Read More

जेनजी पुस्ता कानुनी राज्यको पक्षमा उभिन्छ भन्ने विश्वास छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । 

एमालेको विधान महाधिवेशनको समापन समारोहमा बोल्दै ओलीले जेनजी पुस्ताले देशलाई माया गर्ने र कसैको उक्साहटमा नलाग्ने उल्लेख गर्दै कानुनी राजुको पालना गर्नेमा विश्वास व्यक्त गरेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । समारोहमा ओलीले भने- जेनजी पुस्ता देश भक्त छ, देशलाई माया गर्छ, कानुनी राज्यको पक्षमा उभिन्छ र कुनैपनि हालतमा कसैको उक्साहटमा नलागेर कानुनी राज्यको पालना गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।’ 

त्यस्तै ओलीले सामाजिक सञ्जाल बन्द गर्न चाहेर बन्द नगरेको बताउदै उनीहरुलाई करको दायरमा ल्याउने, नियमन गर्न र नेपालको कानुन बमोजिम प्रक्रियामा ल्याउन खोजेको महाधिवेशनमा स्पष्ट गरेको गौतमले बताए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ताको आव्हानमा सोमबार काठमाडौँको माइतीघरसहित देशभर प्रदर्शन हुन लागेको छ ।  

Read More

सोमबारको प्रदर्शनका लागि प्रशासनको अनुमति, सबै बेथितिविरुद्ध राष्ट्रिय स्तरको प्रदर्शन हुने

काठमाडौँ । जेनजी पुस्ताको सोमबार हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले जिल्ला प्रशासन कार्यालयले सोमबारको प्रदर्शनको अनुमति दिएको जानकारी दिएको छ ।

अभियानले सोमबार बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुँदैछ ।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ ।

अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । 

एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।

Read More

नेता मनपरे-नपरे पनि माओवादीलाई देशको शक्ति भनेर सबैले स्वीकार गरेका छन्: प्रचण्ड

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् ।

माओवादी केन्द्रका उपाध्यक्षहरू, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड शनिबार लम्जुङको राइनास नगरपालिका आइपुग्दा स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए ।

प्रचण्डले सम्बोधन गर्दै अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए । उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गरे ।

उनले भने- ‘हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं ।’

उनका अनुसार, अभियानका क्रममा कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत स्वागत र सहयोग गर्ने परम्परा देखिएको छ। उनले भने- ‘ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन्। यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ ।’

राइनासमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो भने अभियानका सहभागीहरूले यसलाई जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र सहानुभूतिको महाअभियानका रूपमा व्याख्या गरेका छन्।

Read More

जेनजी पुस्ताको आन्दोलनप्रति अनमोल केसीको पनि समर्थन

काठमाडौँ । अभिनेता अनमोल केसीले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अनमोलले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्ने बताएका छन् ।

अनमोलले नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताउदै हाम्रो अधिकारलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्- सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।

यस अघि अभिनेता पल शाहले पनि सोमबार हुने आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए ।

Read More

बङ्गलादेशको डिफेन्स सर्भिस कमाण्डका शिक्षार्थीबाट जङ्गी अड्डाको भ्रमण

काठमाडौँ । बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ-२०२५ मा सहभागी शिक्षार्थीहरूले भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

भ्रमणको दौरान उक्त टोलीलाई नेपाली सेनाको बारेमा जानकारी समेत गराइएको थियो । नेपालको ७ दिने अध्ययन भ्रमणका लागि शनिबार नेपाल आएको ५२ सदस्यीय भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । यस किसिमको भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Read More

रुसको पछिल्लो आक्रमणपछि जेलेन्स्की आग्रह: ‘पेरिसमा भएको सम्झौता कार्यान्वयन होस्

काठमाडौँ । युक्रेनमा रातभर रुसको आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहयोगीहरूलाई ‘पेरिसमा भएको सम्झौता कार्यान्वयन गर्न’ आग्रह गरेका छन्।

जेलेन्स्कीले युक्रेनमा ८०० भन्दा बढी ड्रोन र १३ वटा मिसाइल प्रहार गरिएको बताउदै चार ब्यालिस्टिक मिसाइल समेत आक्रमण गरिएको उल्लेख गरेका छन् ।

हालै पेरिसमा भएको बैठकमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीहरूबारे छलफल गरिएको थियो । जेलेन्स्कीले बैठकमा सहयोगीहरू बीच सहमति भएका कुराहरू कार्यान्वयन गरिनुपर्ने बताएका हुन् । पेरिसमा भएको सहमतिमा युक्रेनलाई युरोपले सुरक्षा ग्यारेन्टी दिने बताइएको थियो  ।

अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम पछि ‘आश्वासन बल’ पठाउन युक्रेनका सहयोगीहरूको कुनै पनि सुझावलाई अस्वीकार गरेका छन् । उनले युक्रेनमा त्यस्ता सेनाहरू यसको लागि वैध लक्ष्य हुने चेतावनी दिएका छन् । रूसले रातारात ड्रोन र मिसाइलहरूले युक्रेनमाथि गरको आक्रमणपछि प्रतिक्रियामा, युक्रेनले पनि रूसमा ड्रोन आक्रमण गरेको बताइएको छ ।

Read More