२०८३ बैशाख १३

भोकै बसेर नाकाबन्दी सहेकै हो । मलाई जो कसैले हेपोस् मतलब छैन, तर देशलाई हेपेको सहदिन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू राष्ट्रलाई हेपेको सहन तयार नरहेको बताएका छन् ।

गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दैै उनले अहिले बन्द गरिएका सामाजिक सञ्जालहरुले नेपाललाई हेप्न खोजेको बताएका हुन् । दर्ता भएर राज्यको नियमनमा आउ भन्दाखेरी ती सामाजिक सञ्जालहरु आउन नचाहेको उनको भनाइ छ । आफूलाई जोसुकैले हेपे पनि हेपिन तयार रहेको र राष्ट्रियताको मामलामा हेपेको सहन नसक्ने उनले बताए ।

‘हामी भोकै बसेर पनि स्वाभीमान जोगाएका हौं । भोकै बसेर पनि नाकाबन्दी सहेका हौं । हामी अरु जुनसुकै कुरा सहन तयार छौं, राष्ट्रलाई हेपेको सहन तयार छैनौं । मलाई जसले जतिसुकै हेपोस्, मलाई कुनै मतलब छैन । म हेपिन तयार छु । तर, देशलाई हेपेको सहन सक्दिनँ । त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु– हाम्रो देशलाई हेप्न नखोज । हाम्रो देशलाई होच्याउन नखोज । हाम्रो स्वाभीमानमा ठेस पुर्याउन नखोज,’– उनले भने ।

अध्यक्ष ओलीले अन्य राजनीतिक दलका नेताहरुलाई पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेर निरीहता प्रदर्शन नगर्न आग्रह गरे । उनले भने, ‘म नेपालका सबै राजनीतिक दलहरुलाई पनि भन्न चाहन्छु– निरीहता प्रकट नगर्नुस् । क्षणिक स्वार्थमा अन्धो नहुनुस् ।’

साथै, ओलीले आफूहरुले त्यही वाक स्वतन्त्रताको लागि बलिदानी दिएको र संघर्ष गरेर आएको पनि बताए । उनले भने, ‘अहिले सामाजिक सञ्जाल प्यारो लाग्ला । वाक स्वतन्त्रता प्यारो लाग्ला । हामी त्यही वाक स्वतन्त्रताको लागि बलिदान दिएर आएका हौं, संघर्ष गरेर आएको पार्टी हो ।’

Read More

जेनजी पुस्ताको आन्दोलनप्रति पल शाहको समर्थन

काठमाडौँ । अभिनेता पल शाहले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले देश दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पारिरहेको उल्लेख गर्दै जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने र कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।

अभिनेता शाहले अहिले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको उल्लेख गर्दै आफुले सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहेको बताएका छन् ।  

उनले भनेका छन्- 
नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दैछ । गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन् उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ । यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ। हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं । तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस् । जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।

Read More

राम्रो काम जति माओवादीले गर्ने, भोट चाँही भ्रष्टाचारीलाई ? अब यो रोकिनुपर्छ: प्रचण्ड

लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा लम्जुङको भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । जनसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले सहिद, बेपत्ता परिवार, नेताकार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अडान स्पष्ट पारे ।

उनले बहने- ‘भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्युरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुसासनको अभियान चलाएका थियौं। मिटर्ब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौं ।’

उनले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उल्लेख गरे । चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको जानकारी दिँदै प्रचण्डले भने- ‘देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो। तर हामी जनतासँगै छौं, फेरि जनताको ताकत लिएर आउने छौं ।’

प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लम्जुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत विदेशिएका युवालाई स्वदेश फर्काई कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गरे । साथै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिनेगरी सत्य निरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनपछि विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्डले भने- ‘राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुसासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लम्जुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु ।’

प्रचण्डले जनताको पक्षमा पार्टीले गरेका कामहरू जनतामाझ पुर्‍याउन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गर्दै कार्यकर्ताले जनतालाई केन्द्रमा राखेर समर्पित रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

यसअघि, भाद्र २१ गते कास्कीको रूपाबाट लम्जुङ प्रवेश गर्दा रामबजारमा भव्य स्वागत गरिएको थियो। साँझ भोर्लेटारमा स्वागत सभा सम्पन्न भएको थियो। भाद्र २२ गते बिहान प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्दै श्री ईशानेश्वर माध्यमिक विद्यालय अवलोकन गरेका थिए । त्यसपछि सुन्दर बजारस्थित लम्जुङ कृषि क्याम्पस र श्री भक्ति नमूना माध्यमिक विद्यालय अवलोकन गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गरेका थिए ।

Read More

सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारले लिएको यस सम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग पुयाउन मन्त्रालय आम नागरिक तथा सम्बद्ध सबैमा अपिल गरेको हो । 

साथै मन्त्रालयले असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भिपीएन प्रयोग नगर्न आग्रह गरेको छ । सरकार नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकको सम्मान गर्ने बताउदै नागरिकले आफ्ना विचारहरु व्यक्त गर्न र सामाजिक सम्वाद गर्न प्रयोग गर्ने कुनै पनि माध्यमलाई संकुचित हुन नदिई त्यसलाई अझ फराकिलो, मर्यादित र जवाफदेही बनाउन काम गरिरहेको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा मन्त्रालयले नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण हुन पटक पटक आह्वान गरेको उल्लेख सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय अनुसार अहिले सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया शुरु भएको जानकारी गराएको छ ।

मन्त्रालयले निष्क्रिय गराएपछि हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइसकेको र एक्स र विच्याटले आवश्यक जानकारी मागेको जानकारी दिदै सूचीकरण हुनासाथ पुन सक्रिय हुने बताएको छ ।

मन्त्रालयको विज्ञप्ति:
नेपाल सरकार नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकको सम्मान गर्दछ र यसको रक्षा एवम् निर्वाध उपयोगको वातावरण निर्माण गर्न प्रतिवद्ध छ । नागरिकले आफ्ना विचारहरु व्यक्त गर्न र सामाजिक सम्वाद गर्न प्रयोग गर्ने कुनै पनि माध्यमलाई संकुचित हुन नदिई त्यसलाई अझ फराकिलो, मर्यादित र जवाफदेही बनाउन सरकार तत्पर एवम् क्रियाशील रहेको छ । नागरिकको गोपनीयताको हकको संरक्षण एवम् नेपालको संविधानको धारा १७ ले निर्धारण गरेका वैयक्तिक स्वतन्त्रताको सीमालाई समेत मध्यनजर गरी नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण हुन पटक पटक आह्वान गरेको विदितै छ ।

यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा ( मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको पनि अवगत नै छ ।

सम्मानित सर्वोच्च अदालतको आदेश परिपालना समेतका लागि मिति २०८२।०५।०९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात (७) दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण हुन मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सीमा भित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया शुरु भई सकेको छ ।

मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय गराइ सकेपछि मिति २०८२।०५।२२ सम्ममा Smart Idea Pvt. Ltd. (हाम्रो पात्रो) तथा Global Diary Pvt. Ltd. (ग्लोबल डायरी) सूचीकरण भै सक्रिय भईसकेको जानकारी गराइन्छ । त्यसै गरी सामाजिक सञ्जालहरु Twitter (X) र WeChat ले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराई सकिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोवाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरुको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरुको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त Virtual Private Network (VPN) प्रयोग नगर्न/नगराउन समेत अनुरोध छ ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरुले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालाहरुमा पुनः आह्वान गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा समेत पुनः जानकारी गराइन्छ ।

आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारले लिएको यस सम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग पुयाउन मन्त्रालय आम नागरिक तथा सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछ ।

Read More

काठमाडौँ स्पाइकर्सको पहिलो जित

काठमाडौँ । काठमाडौँ स्पाइकर्सले पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत मधेश युनाइटेडलाई पराजति गरेको छ । आइतबार सम्पन्न पहिलो खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको थियो ।

पहिलो सेट २६-२४ ले जितेको काठमाडौँ मधेशसँग दोस्रो सेटमा २५-२३ ले पराजित भएको थियो । त्यसपछि काठमाडौँले खेलमा कमब्याक गर्दै २५-२२ र २५-१९ ले लगातार दुई सेटमा जित निकालेर ३-१ ले विजयी भएको थियो ।

यस अघि पहिलो खेलमा हार बेहोरेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौँ स्पाइकर्स पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो । त्यस्तै मधेश युनाइटेडको भने तेस्रो खेलमा यो दोस्रो हार हो ।

लिग अन्तर्गत आज अर्को खेल  लुम्बिनी लाभास र पोखरा निन्जाजबीच हुदैछ ।

Read More

नेपाल र चीनको सेनाबीचको सगरमाथा फ्रेन्डसिप अभ्यासको पाँचौँ संस्करण शुभारम्भ

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण काठमाडौँमा शुभारम्भ भएको छ ।

भाद्र ३१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ । 

विसं २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ । नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ ।

Read More

जापानी प्रधानमन्त्री इशिबाले दिए राजीनामा

काठमाडौँ । जापानी प्रधानमन्त्री इशिबा शिगेरुले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर इशिवाले राजीनामा घोषणा गरेको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ ।

इशिबाले शनिबार पूर्व प्रधानमन्त्री सुगा योशिहिदे र कृषिमन्त्री कोइजुमी शिन्जिरोलाई भेटेपछि राजीनामाको निर्णयमा पुगेको बताइएको छ । दुवैले पदभन्दा पार्टी भित्र एकता महत्वपूर्ण भएको भन्दै उनलाई राजीनामा गर्न सुझाव दिएको बताइएको छ ।

आफ्नो सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी भित्रको भ्रमलाई नियन्त्रण गर्ने प्रयास गर्न उनले यो निर्णय गरेको विश्वास गरिन्छ। इशिबाले गत अक्टोबरमा पदभार ग्रहण गरे र मुद्रास्फीतिलाई सम्बोधन गर्ने र पार्टीलाई सुधार गर्ने वाचा गरेका थिए ।

उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् ।

इशिबाको नेतृत्वमा रहेको एलडिपी-कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो, जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।

चुनावी हारपछि, एलडीपी भित्र इशिबा हटाउने अभियान चलेको थियो । केही पार्टी नेता र सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाउदै उनलाई हटाउने अभियान चलाएका थिए, जसले उनको स्थिति कमजोर बनायो । इशिबाले पार्टीमा एकता कायम राख्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इशिबाले हालै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् जसले जापानी अटोमोबाइलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ । यो सम्झौतालाई लगानीकर्ताहरूले स्वागत गरेका थिए , तर यसले उनलाई आफ्नो पद जोगाउन भने सकेन ।

Read More

‘नेपो बेबी’ अभियान अराजकतावादी प्रवृत्ति हो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा चलाइएको ‘जेन–जी नेपो बेबी’ अभियान अराजकतावादी तत्वहरूले चलाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम गर्ने अभियान असफल भएपछि आफ्नो असफलता ढाकछोप गर्न यस्तो अफवाह फैलाइएको आरोप लगाएका हुन् ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसै सन्दर्भमा टिकटक लगायतका प्लेटफर्ममा नेताका छोराछोरीको विलासी जीवनलाई कटाक्ष गर्दै ‘नेपो बेबी’ अभियान चलाइएको छ ।

नेता बस्नेतले भनेका छन्- 
अहिले चर्चामा आएको ‘Gen Z Nepo baby अभियान’ कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन । यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोशल मिडिया तथा पैड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्।

यसै सन्दर्भमा मेरो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु। मेरो स्पष्ट चुनौती छ। मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। छ भने पुष्टी गराउन चुनौति दिन्छु। मेरो र मेरो परिवारको  सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु।

मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने यस्ता गतिविधि आपराधिक प्रकृतिका हुन् ।  साथै रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्ना व्यक्तिगत झगडा र लफडासम्ममा मेरो नाम जोड्ने प्रयास गरेको समेत देखिन्छ। यस्तो प्रवृत्तिको म कडा भर्त्सना गर्दछु ।

अतः, म सरकारसमक्ष माग गर्दछु । यस्ता अपराधी तत्वहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याइयोस् र टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम नबनाइयोस्।

Read More

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भन्दै उनीहरुको कुरा बुझ्नुपर्ने र आफ्नो पुरा समर्थन रहने बताएका हुन् । साथै बालेनले स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्-
भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

Read More

नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२  अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More