२०८३ बैशाख १३

तालिबानको नियमले भुकम्पमा अफगानी महिलाको आपत: ३६ घण्टापछि पनि भएन उद्धार

काठमाडौँ । गत आइतबार अफगानिस्तानको पूर्वी पहाडी क्षेत्रहरूमा आएको ६ म्याग्निच्युडको भूकम्पले विनाश मच्चायो । सरकारी तथ्याङ्कका अनुसार अहिलेसम्म २२ सयभन्दा बढीको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी घाइते भएका छन् । राहत संस्थाहरूले यस विपत्तिको सबैभन्दा ठूलो भार महिला र बालबालिकामाथि परेको बताएका छन्, जो उद्धारको क्रममा पछाडि परेका थिए ।

पुरुष उद्धारकर्मीहरू भग्नावशेषमा फसेका महिलाहरूलाई हटाउन हिचकिचाइरहेपछि उनीहरु समस्यामा परेको रिपोर्टमा उल्लेख गरिएको छ । महिलाहरू हराइरहेका जस्तो देखिन्थ्यो भने पुरुष र बालबालिकाहरूको उपचार भइरहेको थियो, तर महिलाहरू कुनामा चुपचाप बसिरहेको दृश्य कहाली लाग्दो थियो ।

तालिबानको कडा नियम अन्तर्गत, परिवार नभएका पुरुषहरूले महिलाहरूलाई छुन सक्दैनन् । फलस्वरूप, महिलाहरू धेरै घण्टासम्म भग्नावशेषमा फसेकै अवस्थामा रहनु पर्यो, जबसम्म छिमेकी गाउँका महिलाहरूले आएर उनीहरूलाई बाहिर निकालेनन् ।

कुनार प्रान्तकी १९ वर्षीया बीबी आयशा भन्छिन्, उद्धार टोली ३६ घण्टापछि उनको गाउँमा पुग्यो, तर त्यसमा एक जना पनि महिला समावेश थिएनन् । उनीहरूको अगाडि पुरुष र बालबालिकालाई मात्र बाहिर लगेर उपचार गराइन्थ्यो ।

तालिबानले ४ वर्षअघि सत्ता सम्हालेपछि महिला स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ । छैटौं कक्षा पछि केटीहरूको शिक्षा रोकिएको छ, महिलाहरू पुरुष आफन्त बिना लामो दूरीको यात्रा गर्न सक्दैनन् र धेरैजसो जागिरबाट वञ्चित छन्। गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्र संघमा काम गर्ने महिलाहरूले पनि बारम्बार धम्की पाएका छन्।

गत वर्ष, तालिबानले महिलाहरूलाई चिकित्सा शिक्षामा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो, जसका कारण महिला डाक्टर र नर्सहरूको ठूलो अभाव छ । यही कारणले गर्दा प्रभावित क्षेत्रहरूमा चार दिन बित्दा पनि महिला स्वास्थ्यकर्मीहरू धेरै ठाउँमा पुग्न सकेनन् ।

अस्पतालहरूमा प्रायः पुरुष डाक्टर र नर्सहरू उपस्थित थिए । बीबी आयशा भन्छिन्, ‘भगवानले मलाई र मेरो छोरालाई बचाउनुभयो। तर त्यो रात पछि मैले यहाँ महिला हुनुको अर्थ के हो भनेर बुझें । सधैं अन्तिममा देखिनुपर्छ ।

अफगानिस्तानको तालिबान सरकारको सांस्कृतिक र धार्मिक मान्यता अनुसार, महिलाका नजिकका पुरुष आफन्तहरू, जसमा उनका बुबा, भाइ, पति वा छोरा समावेश छन्, मात्र उनलाई छुन अनुमति छ । त्यस्तै महिलाहरूलाई आफ्नो परिवार बाहिरका पुरुषहरूलाई छुन अनुमति छैन । प्रकोप क्षेत्रहरूमा, महिला उद्धारकर्मीहरूलाई पुरुषहरूलाई सहयोग गर्न निषेध गरिएको छ । तर महिलाले मात्र भग्नावशेष मुनिबाट महिलालाई निकाल्न अनुमति दिइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प २ लाख जनसंख्या भएको जलालाबाद शहरबाट लगभग १७ माइल टाढा रहेको नान्गारहार प्रान्तमा गएको थियो । जहाँ धेरै गाउँहरू भग्नावशेषमा परिणत भएका थिए । यो क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर टाढा छ र यो पहाडी क्षेत्र हो ।

Read More

एकदिवसीय र टी-२० फर्म्याटमा किन हुन्छ एशिया कप ?

काठमाडौँ । सेप्टेम्बर ९ देखि २९ सम्म युएईमा एशिया कप क्रिकेट हुदैछ । ८ देशले भाग लिने यो प्रतियोगितालाई एशियाको क्रिकेट विश्वकपको रुपमा मानिन्छ । विश्व क्रिकेटका सबैभन्दा ठुला प्रतिद्वन्दी भारत पाकिस्तानका कारण पनि एशिया कपको चर्चा चुलिने गर्दछ ।

एशिया कप क्रिकेटको इतिहासको कुरा गर्दा ८० को दशकको सुरुवातमा, भारत र पाकिस्तानमा लोकप्रियताको हिसाबले दुई खेलहरू तीव्र प्रतिस्पर्धा गरिरहेका थिए । एउटा हक्की थियो र अर्को क्रिकेट । त्यसबेला हक्कीमा तीन प्रमुख प्रतियोगिताहरू थिए, जसमा दुवै देशका टोलीहरूले एकअर्कासँग खेल्थे । विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कप । तर, क्रिकेटमा विश्वकप मात्र थियो र त्यसमा पनि भारत-पाकिस्तान खेलहरू हुन सकेनन् ।

यसैबीच, १९८३ मा एसियाली क्रिकेट परिषद्को गठन भएको थियो । यसको उद्देश्य एसियाली क्रिकेट टोलीहरू, विशेष गरी भारत र पाकिस्तान बीच थप प्रतिस्पर्धाको लागि प्लेटफर्म सिर्जना गर्नु थियो । परिषद्ले १९८४ बाट नयाँ प्रतियोगिता सुरु गर्ने निर्णय गर्‍यो, जसको नाम एशिया कप थियो ।

१९८४ देखि एशिया कप १६ पटक आयोजना गरिएको छ । यसको १७औं संस्करण सेप्टेम्बर ९ बाट सुरु हुनेछ। यस पटक प्रतियोगिता टी-२० फर्म्याटमा खेलिदैछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता हो । १९८४ देखि २०१४ सम्म, पहिलो १२ एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो । यसपछि, एसियाली क्रिकेट परिषद्ले यो प्रतियोगिता आगामी विश्वकपको तयारीका लागि प्रयोग गर्ने निर्णय गर्‍यो । यसको ढाँचा विश्वकपको आधारमा तय गरिने निर्णय गरियो । यदि अर्को विश्वकप एकदिवसीय ढाँचामा छ भने, एसिया कप पनि एकदिवसीय ढाँचामा हुनेछ । त्यसैगरी, यदि अर्को विश्वकप टी- २० फर्म्याटमा छ भने, एसिया कप पनि टी-२० फर्म्याटमा हुनेछ ।

२०१६ र २०२२ मा, टी-२० विश्वकप अघि, एसिया कप टी-२० फर्म्याटमा आयोजना गरिएको थियो । त्यस्तै, २०१८ र २०२३ मा, एकदिवसीय विश्वकप अघि, एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो ।

भारतीय क्रिकेट टिमले सबैभन्दा धेरै एसिया कप जित्ने रेकर्ड राखेको छ । भारतले अहिलेसम्म आयोजित १६ एसिया कपमध्ये १५ मा भाग लिएको छ र ८ पटक उपाधि जितेको छ । भारतले यो प्रतियोगिता ७ पटक एकदिवसीय ढाँचामा र १ पटक टी-२० ढाँचामा जितेको छ । श्रीलंका ६ पटक उपाधि (५ एकदिवसीय र एक टी-२० ) सहित दोस्रो स्थानमा छ । त्यस्तै पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ (दुबै एकदिवसीय फर्म्याटमा ) ।

श्रीलंकाले एसिया कपमा समग्रमा सबैभन्दा धेरै खेल जित्ने रेकर्ड राखेको छ । श्रीलंकाले एसिया कपमा कुल ४४ खेल जितेको छ । यसले एकदिवसीय ढाँचामा ३८ खेल र टी-२० मा ६ खेल जितेको छ । त्यस्तै भारत दोस्रो स्थानमा छ । भारतले कुल ४३ खेल जितेको छ । भारतले एकदिवसीयमा ३५ र टी-२० मा ८ खेल जितेको छ । 

यस पटक एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसहित, अफगानिस्तान, बंगलादेश, श्रीलंका, ओमान, हङकङ र युएई खेल्दैछन् । अघिल्लो एशिया कप खेलेको नेपाल भने यस एशिया कपमा छनौट हुन असफल भएको थियो । २०२४ मा भएको एसीसी प्रिमियर कपमा सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल यस एशिया कपमा छनौट हुन असफल भएको थियो ।

Read More

फेसबुकमा नेताको सिङ्गार, सडकमा उत्रिदै जेनजी पुस्ता

काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् ।

सोमबार सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा हुने भनिएको यो विरोध प्रदर्शनप्रति सामाजिक सञ्जालमा समर्थन पाएको छ ।

फेसबुकसहित सामाजिक सञ्जाल प्रतिबन्ध रहेको अवस्थामा टिकटकमा सोमबारको आन्दोलन बारे अनेक किसिममा भिडियो अहिले भाइरल भएका छन् । टिकटकमा देशमा भ्रष्टाचार बढेको, सामाजिक सञ्जाल बन्द गरेर लाखौंको आम्दानीको स्रोत बन्द गरिदिएको भन्दै सरकारप्रति आक्रोश पोखिएको छ र आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ । यस आन्दोलनका लागि सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रियटर’ को काम गरिरहेका कैयौंले समर्थन गरेका छन् ।

त्यसै गरि सामाजिक सञ्जालमा आम जनताले आफ्नो दैनिकी गुजारा गर्न संघर्ष गरिरहेको बेला नेताका छोराछोरीले विलासी जीवन बिताइरहेको भन्दै कैयौ भिडियो बनाएर भाइरल बनाइएको छ ।

गत विहिबार सरकारको निर्देशनमा २६ सामाजिक सञ्जाल बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दलका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल लगायतका सचिवालयसहित लगभग सबै नेताहरुले लगातार फेसबुकमा पोष्ट गरिरहेपछि आम जनतामा बन्द आफूहरुका लागि मात्रै भएको भन्दै आक्रोश सिर्जना भएको छ ।

यसैबीच काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस सभापति देउवाको एक पोष्टमा कमेन्ट गर्दै ‘यो पोष्ट कुन भिपीएनबाट हो ?’ भन्दै ट्रोल गरिदिएका थिए ।

अर्कोतर्फ यस प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास समेत शुरु भएकाले जेनजी पुस्ता आफ्नो प्रदर्शनप्रति सतर्क हुनुपर्ने पनि देखिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई यस आन्दोलनमा सरिक हुने बताईसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको ठुलो पंक्तिले पनि यस आन्दोलनलाई समर्थन गरेर राजनीतिक रंग दिने प्रयास गरेको देखिएको छ ।

नेपालमा स्वतन्त्र रुपमा कुनै अभियान र प्रदर्शन शुरु भएपनि ति अभियान र प्रदर्शनमा राजनतिक रंग मिसिएपछि यत्तिकै सेलाएको पाइन्छ । यस पटक जेनजी पुस्ताको नाममा प्रदर्शन त शुरु हुन लागेको छ तर यो पुस्ताको यो अभियान राजनीतिकको रंगमा मिसिएर धारासायी हुन्छ की आफैले नेतृत्व गरेर गन्तव्यमा पुर्याउछ त्यो भने हेर्न बाँकी छ ।

Read More

हरिसिद्धी घटनामा मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति

काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ ।

मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटेका थिए ।

मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका थिए । जिल्ला प्रहरी ललितपुरमा आफै हाजिर भएका ड्राइभर चौधरीलाई प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो । 

मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो ।

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनाको सिसिटिभी बाहिरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।

Read More

फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले मुद्धा हालेपछि…

काठमाडौँ । फेसबुकका मालिक मार्क जुकरबर्गसँग नाम मिलेकै कारणले अर्का मार्क जुकरबर्ग अहिले चर्चामा रहेका छन् । जुकरबर्गसँग नाम मिलेका अर्का वकिल मार्क जुकरबर्गले फेसबुकलाई मुद्धा हालेपछि अहिले उनी चर्चामा आएका हुन् ।

अमेरिकाको इन्डियाना राज्यमा बस्ने एक अमेरिकी वकिल मार्क जुकरबर्गले मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । वकिलको पूरा नाम मार्क एस जुकरबर्ग हो । वास्तवमा मार्क एस जुकरबर्गले फेसबुकले पछिल्लो आठ वर्षमा आफ्नो खाता पाँच पटक ब्लक गरेको दाबी गर्दै मेटाविरुद्ध मुद्धा दायर गरेका छन् । खाता ब्लक गर्नुको पछाडि फेसबुकले दिएको कारण अरू कसैको नाम प्रयोग गरेको भन्ने थियो । मार्क एस जुकरबर्गले फेसबुकले बारम्बार खाता ब्लक गर्दा उनले आफ्नो पेशामा ठूलो नोक्सान बेहोरे र हजारौं डलर कमाई गुमाएको बताउदै मुद्धा दायर गरेका छन् ।

मार्क एस जुकरबर्गले फेसबुकले उनको खाता एक पटक होइन धेरै पटक निलम्बन गरेको बताएका छन् । यसले उनको व्यावसायिक जीवनमा नराम्रो प्रभाव पारेको र मेटाले उनको ११ हजार डलर मूल्यका विज्ञापनहरू हटाएको बताएका छन् । उनले आफ्नो कानुनी पेशासँग सम्बन्धित विज्ञापनहरू दिएका थिए ।

वकिल जुकरबर्गले उनले आफ्नो वास्तविक पहिचान प्रमाणित गर्न सक्दो प्रयास गरे । उनले आफ्नो फोटो आईडी, क्रेडिट कार्ड र धेरै तस्बिरहरू फेसबुकमा पठाए । उनले आफ्नो नाम फेसबुकका संस्थापक मार्क जुकरबर्ग प्रसिद्ध हुनुभन्दा पहिले पनि उही नै रहेको बताए तर फेसबुकले विश्वास नगरेको उनको आरोप छ ।

मेटाले यस विषयमा आफ्नो गल्ती स्वीकार गरेको छ । कम्पनीले मार्कको खाता गल्तीले ब्लक गरिएको थियो, जसको लागि मेटाले माफी मागेको छ । अब यसलाई पुनर्स्थापित गरिएको छ । मेटाले भन्यो- ‘हामी मार्क जुकरबर्गको धैर्यताको कदर गर्छौं र भविष्यमा यस्तो गल्ती हुनबाट रोक्न काम गरिरहेका छौं ।’

यसबाहेक, मार्कले आफ्नो समस्या संसारको अगाडि ल्याउन एउटा वेबसाइट पनि बनाएका छन्, जसमा उनले आफ्नो नामले निम्त्याउने समस्याहरू उल्लेख गरेका छन् । एक पटक वाशिंगटन राज्यले गल्तीले उनीमाथि मुद्दा पनि हालेको थियो ।

Read More

जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै

काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडिया एनएचकेका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको छ ।

उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् ।

इशिबाको नेतृत्वमा रहेको एलडिपी-कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो, जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।

चुनावी हारपछि, एलडीपी भित्र इशिबा हटाउने अभियान चलेको थियो । केही पार्टी नेता र सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाउदै उनलाई हटाउने अभियान चलाएका थिए, जसले उनको स्थिति कमजोर बनायो । इशिबाले पार्टीमा एकता कायम राख्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इशिबाले हालै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् जसले जापानी अटोमोबाइलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ । यो सम्झौतालाई लगानीकर्ताहरूले स्वागत गरेका थिए , तर यसले उनलाई आफ्नो पद जोगाउन भने सकेन ।

Read More

सरकारले पोखरा विमानस्थललाई व्यापार र पर्यटनमा कमजोर बनायो: चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताए ।

हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर्ड उडानको योजना बनाएको सन्दर्भमा यसलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने उनको धारणा थियो ।

पोखरा प्राकृतिक सौन्दर्यसँगै आर्थिक समृद्धिको विशाल सम्भावना बोकेको प्रदेश रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य र शिक्षालाई लगानी र उद्यमशीलताका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेर अघि बढ्नु पर्ने बताए ।

करिब तीन दशकदेखि स्थानीय व्यवसायको संरक्षण, प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा संघको योगदानको प्रशंसा गर्दै अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायिक नीति निर्माण, साना तथा मझौला उद्यमको प्रोत्साहन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

कृषि क्षेत्रमा पोखराको उर्वर भूमि र अनुकूल जलवायुले धान, मकै, तरकारी र फलफूल उत्पादनमा ठूलो सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले स्थानीय जैविक उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा जोड दिए ।

Read More

कीभस्थित क्याबिनेट भवनमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार भएको हो । युक्रेनको वायु सेनाले पछिल्लो रात्रि आक्रमणमा रुसले ८०० भन्दा बढी रेकर्ड संख्यामा ड्रोन र मिसाइलहरू प्रहार गरेको बताएको छ । वायु सेनाका अनुसार, नौ मिसाइल र ५६ ड्रोनले ३७ स्थानमा प्रहार गरिएको थियो । 

प्रधानमन्त्री  युलियाले क्याबिनेट भवनको छत र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको छ । उनले भनेकी छन्- ‘शत्रुले हरेक दिन देशभरका हाम्रा मानिसहरूलाई आतंकित गरिरहेका छन् ।’ 

आइतबार बिहान क्याबिनेट भवनबाट आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो । 

Read More

बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन, सरकार फेरि आस्थावादी नियुक्तिका खेलमा लाग्ने चिन्ता

काठमाडौँ । बीमा कम्पनीहरूको नियामक संस्था नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि कुल १४ जनाले आवेदन दिएका छन्। प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएपछि अर्थ मन्त्रालयले सात दिनभित्र आवेदन दिनुपर्ने सूचना जारी गरेको थियो। सोही सूचनाअनुसार देशका विभिन्न जिल्लाबाट उम्मेदवारहरूले आफ्नो दाबेदारी पेश गरेका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका बिक्रान्त पाण्डे, बिष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित, र रमेशकुमार भट्टराईले आवेदन दिएका छन्।

यस्तै भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपाने, कास्कीका डा. दामोदर बसौंला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकाल, लम्जुङका प्रा. डा. दिपकबहादुर पण्डित र दाङका यज्ञप्रसाद न्यौपाने पनि प्रतिस्पर्धामा रहेका छन्।

अध्यक्ष नियुक्ति प्रक्रियाअनुसार सिफारिस समितिले उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो। समितिले अब योग्य उम्मेदवार छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

Read More

कांग्रेस नेता विश्वकर्मा भन्छन: सामाजिक सञ्जाल बन्द गराउनु गलत हो, सरकारको काम गर्ने ढंग पुगेन

काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग संवाद गर्दै कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भनिसकेको नेता विश्वकर्माले स्पष्ट पारे ।

‘हामीले प्रष्ट बोलेका के छौं भनेदेखि– सामाजिक सञ्जाल बन्द गर्न हुँदैन । तर, यसको वैधानिक कार्यान्वयन पनि जरुरी छ । वैधानिक बनाउनको लागि सरकारले कूटनीतिक तथा प्राविधिक रुपमा अन्य उपायहरु खोजी गर्नुपर्छ । एक्कासी बन्द गर्नु गलत हो भनिसकेका छौं,’– नेता विश्वकर्माले भने ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने कुरामा सरकारको काम गर्ने ढंग नपुगेको उनले बताए । सरकारले यो अवस्था आउनुभन्दा पहिला नै यसको व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । नागरिकले प्रयोग गर्दै आएको सूचनाको माध्यमहरुलाई सहज ढंगले प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।

यद्यपि सरकारले आफ्नो कानूनी दायरामा पनि राख्नुपर्ने उनको भनाइ छ । ‘तपाईँ हामीले व्यापार गर्न पाउनुपर्छ । तर, तपाईँ हामीले गरेको व्यापार राज्यलाई थाहा हुनुपर्छ,’– उनले भने ।

सामाजिक सञ्जाल बन्द गराएर सरकारले अहंकार देखाएजस्तो गरेको पनि उनले टिप्पणी गरे । नेता विश्वकर्माले तिमी दर्ता गर्न आउँछौं भने आउ, नत्र बन्द गरिदिन्छौं भन्ने सरकारको शैली व्यवहारिक नरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल बन्द हुँदा तल्लो तहका नागरिकहरुमा झनै समस्या परेको उनको भनाइ छ ।

‘अहंकार देखाएको जस्तो । सरकारले हामी सरकार हो । तिमीहरु सबै आउँछौं भने आओ, नत्र रोकिदिन्छु भन्ने ढंगको अहिले जुन गतिविधि भयो । त्यही चाहिँ गतिविधि व्यवहारिक देखिएन, नागरिकको हितमा देखिएन । किनभने नागरिकले सामाजिक सञ्जालबाट व्यापार गरिराखेका छन्, सामाजिक सञ्जालबाट आफ्नो कार्यालय सञ्चालन गरिराखेका छन् । तपाईँ हामीलाई नै बाधा परेको छ भने तल्लो तहका सामान्य नागरिकहरुलाई त झन कति समस्या परेको होला । सम्पर्क विच्छेद भएको छ,’– उनले भने ।

Read More