काठमाडौँ । बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाफ-२०२५ मा सहभागी शिक्षार्थीहरूले भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
भ्रमणको दौरान उक्त टोलीलाई नेपाली सेनाको बारेमा जानकारी समेत गराइएको थियो । नेपालको ७ दिने अध्ययन भ्रमणका लागि शनिबार नेपाल आएको ५२ सदस्यीय भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । यस किसिमको भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




