२०८३ बैशाख १३

बालेनको प्रचण्डलाई कटाक्ष: काम त हजुरबाट पनि केहि भएन कमरेड

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुदा टिकटक प्रतिबन्ध गरेको सम्झाएका छन् ।

प्रचण्डले आज हुन लागेको युवाहरुको प्रदर्शन स्वाभाविक भएको भन्दै लेखेको फेसबुक पोस्टमा कमेन्ट गर्दै बालेनले प्रचण्डमाथि कटाक्ष गर्दै एकदेशआमा टिकटक प्रतिबन्ध भएको बताएका हुन् ।

बालेनले एकादेशमा टिकटक पनि बन्द भएको भन्दै भनेका छन्-  एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पिएम हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केहि भएन कमरेड, मेरो लागि एक दिन दिएको भए म काठमाडौँ को खोला नाला फेरी दिने थिए ।

प्रचण्डले युवाहरुको आजको आन्दोलन बारे भनेका थिए- सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।

Read More

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

काठमाडौं । आज ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । 

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो । विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ ।[नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो।

यस वर्षको साक्षरता दिवसको नारा ‘डिजिटल युगमा साक्षरताको प्रवर्धन’ रहेको छ । 

सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६६ जिल्ला साक्षर घोषणा गरिएको छ । जसमा बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन्। घोषणा हुन बाँकीमा मधेस प्रदेशका ८ जिल्ला, कर्णालीका हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । 

हाल नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।

१५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ । महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ । पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यस प्रदेशमा पुरुषको साक्षरता दर ९१.३ प्रतिशत पुगेको छ । सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ७७.९ प्रतिशत रहेको छ ।

त्यस्तै क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ भने ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् । सबैभन्दा कम मधेश प्रदेशको ग्रामीण भेगमा साक्षरता रहेको छ । मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको छ भने महिला जनसंख्याको ५३.७ प्रतिशत मात्र साक्षरता रहेको नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ । 

Read More

दक्षिण अफ्रीकाविरुद्ध इङल्याण्डको कीर्तिमानी जित

काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

गएराती सम्पन्न एकदिवसीय सिरिजको अन्तिम खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ३४२ रन अन्तरले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ४१५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रन बनाएर अल आउट भएको थियो ।

दक्षिण अफ्रीकाका लागि कोर्बिन बोस्चले सर्बाधिक २० र केशव महाराजले १७ रन बनाएका थिए । दक्षिण अफ्रीकाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा इङल्याण्डका बलर जोफ्रा आर्चरले ४, आदील रशिदले ३ तथा ब्राइडन कार्सले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ४१४ रन बनाएको थियो । इङल्याण्डका लागि जाकोब बेथवेलले ११० र जो रुटले १०० रनको शतकीय पारी खेलेका थिए भने जामि स्मिथ र जोस बटलरले ६२-६२ रनको आक्रामक पारी खेलेका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

इङल्याण्डको यो जित एकदिवसीय क्रिकेटको अहिलेसम्मकै सबै भन्दा फराकिलो जित हो । यस अघि एकदिवसीय क्रिकेटमा २०२३ मा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले अपराजित गरेको थियो । 

Read More

आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद्को भनाइ छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने यो क्षेत्रका विज्ञको मत छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने उनले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्ने बताएका छन् ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

Read More

देशभर बदली: कोशी र बागमती प्रदेशमा भारी वर्षाको संकेत, अन्य मध्यम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

यी राशिहरुको आज चम्किँदैछ भाग्य, हेर्नुहोस् सोमबारको तपाईँको पूर्ण भविष्यफल

आज भदौ २३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर ८ नेपाल सम्बत ११४५ ञलागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, धृति योग, बालव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १६ मिनेट देखि ८ बजेर ४० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/अन्तर्राष्ट्रिय साक्षरता दिवस र विश्व फिजियोथेरापी दिवस रहेका छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला, नत्र पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । हाँकेरताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । वाहनसुखको योग छ वा महत्त्वपूर्ण भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ ।

Read More