२०८३ बैशाख १३

विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी

काठमाडौं । युरोपको फिफा विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा सेर्गी ग्नाब्री, नाडीएम अमिरी र फ्लोरियन विर्त्जले एक एक गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि एक गोल इसाक प्राइसले गरेका थिए ।

विश्वकप छनौटको पहिलो खेलमा स्लोभाकियासँग २-० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा जित हासिल गरेको छ ।

यो जितपछि समुह ए मा रहेको जर्मनीको २ खेलमा ३ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै र खेलमा ३ अंक नै रहेको उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै गएराती सम्पन्न अर्को खेलमा स्पेनले टर्कीलाई ६-० ले हराएको छ । स्पेनको जितमा मिकेल मेरिनोले ह्याट्रिक गरेका थिए भने पेड्रीले २ गोल तथा फेरान टोरेजले एक गोल गरेका थिए ।    

यो जितपछि समुह इ मा रहेको स्पेनको २ खेलमा ६ अंक रहेको छ र शिर्ष स्थानमा छ । त्यसैगरी टर्कीको भने २ खेलमा ३ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ ।

Read More

प्रदर्शनका लागि माइतीघरमा जुट्दैछन् जेनजी पुस्ता

काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन शुरु गरेका छन् ।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने युवाहरुले बताएका छन् । 

स्वस्फुर्त रुपमा सामुहिक नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने हुनाले यसको नेतृत्व कसैले पनि नगर्ने तर शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना राख्ने गरि तयारी गरेको आयोजकले जनाएका छन् ।

Read More

मिडिया सोसाइटीले भन्यो: समाजिक सञ्जाल कानुन बनाएर नियमन गर, नियन्त्रण होइन

काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाललाई कानुन बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सामाजिक सञ्जाललाई दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा मिडिया सोसाइटीले आफ्नो धारणा राख्दै सामाजिक सामाजिक सञ्जाल कानुन बनाएर नियमन गर्न र नियन्त्रण नगर्न भनेको हो ।

मिडिया सोसाइटीले भनेको छ- ‘यसले सरकारको नियतप्रति शंका बढाएको छ । सामाजिक सञ्जाल अहिले नागरिक आवाजको शक्तिशाली माध्यम बनेको छ । सरकारको आलोचना गर्ने प्रमुख ठाउँ यही हो । त्यसैले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारको सोच हो भन्ने धेरैको अनुमान छ । नियमनका नाममा नियन्त्रण गर्न खोज्नु खतरनाक हुन्छ ।’

सर्वोच्च अदालतले पनि कानून बनाएर मात्र नियमन गर्नु भनेर स्पष्ट आदेश दिएको भन्दै सोसाइटीले भनेको छ-  ‘अनलाइन दुरुपयोग, गलत सूचना, ठगी, अश्लीलता र साइबर अपराधका घटना बढिरहेका छन् । तर, सरकार यस्ता चुनौतीलाई समग्र कानूनी संरचना निर्माण गरेर होइन, हतारमा प्रतिबन्ध लगाउने बाटोमा अघि बढेको देखिन्छ । यही कारण सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रता खोस्ने षड्यन्त्र हो भन्ने व्याख्या भइरहेको छ ।’

सोसाइटीले सामाजिक सञ्जालहरू मनोरञ्जन वा सूचना आदानप्रदानका माध्यममात्र नभई समाचार, व्यवसाय, राजनीतिक अभियान, शिक्षादीक्षा र समाजसेवाका माध्यमसमेत बनेको भन्दै सोसाइटीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले प्रयोगकर्ताको व्यक्तिगत तथा व्यावसायिक काममा असर पर्न सक्ने जनाएको छ ।

सोसाइटीले भनेको छ- ‘प्रतिबन्धले प्रयोगकर्ता रोकिँदैनन्, बरु वैकल्पिक तरिका अपनाएर प्रयोग गरिरहन्छन् । यसले अनौपचारिक प्रयोग बढाउँछ, अपराध अझै नियन्त्रण बाहिर जान्छ । त्यसैले सरकारले कानून निर्माणमा प्राथमिकता दिनुपर्छ । डेटा सुरक्षा, गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक अधिकार, राष्ट्रिय हित र अन्तरराष्ट्रिय सम्झौतालाई ध्यानमा राखी समग्र कानूनी संरचना तयार हुनुपर्छ । सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने व्यवस्था आवश्यक छ । तर त्यसलाई लागू गर्ने प्रक्रियामा पारदर्शिता, समय, छलफल र नागरिकहित अनिवार्य हुनुपर्छ । सामाजिक सञ्जाल आजको युगमा नागरिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । यसलाई नियमन गर्नु आवश्यक छ । तर नियमनका नाममा नियन्त्रण गर्न खोज्नु खतरनाक हुन्छ । दर्ता अनिवार्य होस्, अपराध नियन्त्रण होस् वा कर संकलन सबै कुरा पारदर्शी कानूनी बाटोबाट मात्र सम्भव छ । सामाजिक सञ्जाल नियमनलाई लोकतान्त्रिक र कानूनी बाटोमा लैजानु जरुरी छ । यसमा सरकारको गम्भिर ध्यान जावोस् ।’

Read More

अमेरिका र चीनलाई टक्कर दिदै युरोपले बनायो सुपर कम्युटर

काठमाडौँ । एआईको क्षेत्रमा अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा चलिरहेका बेला युरोप पनि यस दौडमा प्रवेश गरेको छ । केही महिना अघि युरोपेली देश जर्मनीमा सबैभन्दा छिटो सुपर कम्प्युटर जुपिटरको उद्घाटन गरिएको थियो ।

यो युरोपको पहिलो ‘एक्सास्केल’ सुपर कम्प्युटर हो, जसले केवल एक सेकेन्डमा एक क्विन्टिलियन गणना गर्न सक्छ । चीन र अमेरिकाको तुलनामा युरोप पहिले नै प्रविधि र एआईमा पछाडि छ, जर्मन चान्सलर फ्रेडरिक मेर्जले यो सुपर कम्प्युटरले अमेरिका र चीन जस्तै एआईको क्षेत्रमा अगाडि बढ्न मद्दत गर्ने बताएका छन् ।

रिपोर्ट अनुसार, युरोपेली देशहरू एआईको क्षेत्रमा धेरै छिटो अगाडि बढ्न सकेका छैनन् । यो क्षेत्रमा अमेरिका र चीनको प्रभुत्व छ । स्ट्यानफोर्ड विश्वविद्यालयको हालैको रिपोर्टमा २०२४ मा अमेरिकाले ४० एआई मोडेलहरू सिर्जना गर्‍यो, चीनले १५ एआई मोडेलहरू विकास गर्‍यो, जबकि युरोपले केवल ३ एआई मोडेलहरू विकास गर्न सक्यो । जर्मन चान्सलर मेर्ज विश्वास गर्छन् कि सुपर कम्प्युटरले उनीहरूलाई एआई दौडमा अब पछाडि पर्न दिने छैन । यसले उनीहरूको प्राविधिक शक्ति बढाउनेछ ।

बृहस्पति जर्मनीको जुलिच सुपर कम्प्युटरिङ सेन्टरमा राखिएको छ । यो युरोपको पहिलो एक्सास्केल सुपर कम्प्युटर हो, जसले धेरै छिटो गतिमा गणना गर्न सक्छ । अमेरिकासँग पहिले नै यस्ता तीन सुपर कम्प्युटरहरू छन् । बृहस्पति निर्माण गर्न ५०० मिलियन युरो खर्च भएको छ, जुन युरोपेली संघ र जर्मनीले संयुक्त रूपमा वहन गरेका छन् । यो सुपर कम्प्युटर ३,६०० वर्ग मिटर क्षेत्रमा बनाइएको छ, जुन फुटबल मैदानको आकारको लगभग आधा हो । यस सुपर कम्प्युटरमा २४ हजार एनभिडिया चिप्स प्रयोग गरिएको छ ।

जुलिच सेन्टरका प्रमुख थोमस लिपर्ट भन्छन्, बृहस्पति जर्मनीका अन्य कम्प्युटरहरू भन्दा २० गुणा बढी शक्तिशाली छ । यसले अनुसन्धानकर्ताहरू र कम्पनीहरूलाई एआई मोडेलहरू सिर्जना गर्ने जस्ता धेरै क्षेत्रमा मद्दत गर्नेछ । फ्रान्सेली कम्पनी एटोसको सहायक कम्पनी एभिडाइन र जर्मन कम्पनी पार्टेकले बृहस्पति सिर्जना गर्न सँगै काम गरेका थिए । यो मोडेलले १० वर्षसम्म मौसमको भविष्यवाणी गर्न पनि सक्षम रहेको बताइएको छ । बृहस्पतिलाई अल्जाइमर जस्ता रोगहरूको अनुसन्धानमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

बृहस्पतिलाई चलाउन ११ मेगावाट बिजुली चाहिन्छ, जुन हजारौं घरहरूको बिजुली खपत बराबर हो । तर यसलाई चलाउनेहरूले विश्वको सबैभन्दा छिटो कम्प्युटरहरूमध्ये यसले सबैभन्दा कम बिजुली खपत गर्ने दाबी गर्छन् । यसबाहेक, बृहस्पतिबाट निस्कने ताप नजिकैका भवनहरू तताउन प्रयोग गरिनेछ, जसले ऊर्जा बचत गर्ने जानकारी दिइएको छ ।

Read More

चाडपर्वमा कालोबजारीमाथि कडाइ, सुपथ मूल्यका लागि सबै निकायलाई कडा निर्देशन

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरी गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुपथ आपूर्ति गर्ने तयारी गरेको छ। आइतबार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले खाद्य, यातायात, रोग नियन्त्रणदेखि सुरक्षा व्यवस्था सम्मका बहुआयामिक निर्णय गरेको हो।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पसल सञ्चालन गरी काठमाडौँ उपत्यका र बाहिरका प्रमुख स्थानमा आवश्यक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुनासो संकलन र समाधानका लागि टोल फ्री नम्बरको व्यवस्था गर्नेछ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध, तरकारी, फलफूल, मासु लगायतका वस्तुमा गुणस्तरीय परीक्षण गर्न नमूना सङ्कलन गर्ने र खाद्य स्वच्छताका लागि मोबाइल भ्यान प्रयोग गर्ने जनाएको छ। यसैगरी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमनलाई कडा बनाउने, अखाद्य वस्तुको बिक्री तथा कालोबजारी नियन्त्रणमा सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ।

सार्वजनिक यातायातमा चाडपर्वका यात्रुहरूलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले लामो दूरीका रुटमा अनलाइन टिकटिङ, भाडादर नियमन, यात्रु क्षमताअनुसारको व्यवस्थापन गर्नेछन्। सडक विभागले अवरुद्ध राजमार्ग असोज १० भित्र सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ। विमानस्थलमा उडान संख्या बढाउने, अस्वाभाविक भाडादर वृद्धि रोक्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चौपायामा फैलिएको लम्पीस्किन रोग नियन्त्रणमा जोड दिनेछ। त्यस्तै, आन्तरिक राजस्व विभागले बिक्री हुने वस्तुमा वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। राजस्व अनुसन्धान विभागले अवैध कारोबार नियन्त्रण गर्न निगरानी र अनुगमनलाई सघन बनाउने निर्णय गरेको छ।

बैठकले यी सबै निर्णयको कार्यान्वयन प्रगतिलाई पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Read More

युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ अमेरिकन डलर लगायत अरुको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १२ पैसा र बिक्रीदर २२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Read More

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संघीय अम्स्द सचिवालयका अनुसार आज अपराह्न १: १५ बजेदेखि बैठक शुरु हुने तालिका रहेको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

पाकिस्तानले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

काठमाडौँ । पाकिस्तानले त्रिकोणात्मक टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछाएको अफगानिस्तानले केवल १५.५ ओभरमा अल आउट हुदै ६६ रन मात्र बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान राशिद खानले सर्बाधिक १७ रन बनाए भने सेडिकुल्लाह अटलले १३ रन बनाएका थिए । त्यस्तै अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै पाकिस्तानका बलर मोहमद नवाजले ५ विकेट लिएका थिए भने सुफियान मुक्विम र अब्रार अहमदले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

योसँगै पाकिस्तानले त्रिकोणात्मक सिरिज जितेको छ । पाकिस्तानका मोहमद जवाज सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् ।

Read More

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । 

आज दिनको साढे १२ बजे बस्ने प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरुसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी आज बिहान साढे ११ बजे बस्ने प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै आज बिहान ९ बजेदेखि शुरु हुने राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा वारेमा छलफल हुने कार्यसूची रहेको छ ।

Read More

बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध आज जेनजी पुस्ताको प्रदर्शन

काठमाडौँ । आज जेनजी पुस्ताको प्रदर्शन हुदैछ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् ।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ ।  एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।

यस प्रदर्शनका लागि रास्वपा, माओवादी केन्द्रसहितका दलले पनि समर्थन जनाएका छन् भने अन्य विभिन्न अभियानले पनि यस प्रदर्शनलाई समर्थन जनाएका छन् । जेनजीको यस स्वस्फुर्त प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास शुरु भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले आन्दोलन प्रति आफ्नो समर्थन जनाउदै नेता र अभियन्ताहरुलाई यसको फाइदा उठाउन धेरै बाठो नहुन सचेत गराएका थिए ।

स्वस्फुर्त रुपमा सामुहिक नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने हुनाले यसको नेतृत्व कसैले पनि नगर्ने तर शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना राख्ने गरि तयारी गरेको आयोजकले जनाएका छन् ।

Read More