२०८३ बैशाख १४

देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ: प्राधिकरण

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ ।

वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भनेको छ- ‘यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।’ 

प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा  वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ ।

Read More

सडकमा निस्किए डिल्लीबजार कारागारका कैदीहरू, रवि जस्तै जेलबाट निस्किन पाउनुपर्ने भन्दै विद्रोह

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ । अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका थिए ।

रवि लामिछाने जस्तै प्रक्रिया बिना जेलबाट निस्किन पाउनुपर्ने भन्दै कैदीहरू स्थानान्तरण हुन मानेका छैनन् ।

अहिले कारागारको सुरक्षा पूर्ण रूपमा सेनाले सम्हालेको छ। हाल स्थिति शान्त रहेको सेनाले जनाएको छ।

Read More

कपिलवस्तु कारागारबाट ४३१ कैदी भागे, जिल्ला अदालत जलाए

कपिलवस्तु । कपिलवस्तु कारागारबाट ४३१ कैदी भागेका छन् । कारागार प्रशासनका अनुसार बिहान कारागारका दुई ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४३१ जना भागेका हुन् ।

सो कारागारका दुई ब्लकमा २८ जना कैदी भने कारागारमै रहेका छन् । 

कारागारबाट भागेका कैन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका थिए । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदीहरुले अदालतमा आगजनी गर्दै आफ्नो मुद्धाका सवै मिसिल तथा कागजपत्र जलाएका छन् ।  

अदालतमा महत्वपूर्ण कागजपत्रसहित उनीहरुले अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । प्रहरीले कारागारबाट भागेका ६५ जना कैदीलाई तौलिहवाका विभिन्न स्थानबाट पुन: पक्राउ गरेको जानकारी दिएको छ भने अन्यको खोजी जारी रहेको छ ।

जेनजी आन्दोलनपछि कपिलवस्तुसहित देशभरका कैदीहरुले जेलमा तोडफोड र आगजनी गरेर भाग्ने क्रम जारी रहेको छ ।

Read More

मेरो पुस्ताको नालायकीप्रति लज्जित छु, माफी माग्छु: घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पुस्ताका नालायकीप्रति लज्जित रहेको बताउदै माफी मागेका छन् ।

सामाजिक सञ्जालमा जेनजी आन्दोलनपछिको अवस्थाप्रति आफ्नो धारणा राख्दै जेनजीलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिन लागेको बताउदै आफ्नो पुस्ताका नालायकीप्रति लज्जित रहेको बताउदै माफी मागेका हुन् ।

भुसालले भनेका छन्- 
भदौ २३ गते नौजवान युवा पुस्ता (जेन जी) ले जुन माग राखेर र जुन आचार संहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए त्यसले सबै नेपालीलाई स्वतस्फुर्त आकर्षित गरेको थियो । त्यसले उनीहरुको जम्मेवारी बोधको उचाईसमेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरुमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाई दियो । वस्तुतः सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्टालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वतस्फुर्त आक्रोशले मात्रै भएका थिएनन् भन्ने तथ्य बुझ्न हामीलाई समय लाग्ने छ । यसबाट मुलुकले महाभूकम्प र भारतको नाकाबन्दीकै जस्तो  खर्बौंको राष्ट्रिय सम्पत्तिको ध्वंश भएको छ । एकै दिनमा देशभरि लूट, तोडफोड र आगजनीको ताण्डवले हाम्रो राष्ट्रिय मानसपटलमा जुन चोट पु~याएको छ त्यसले हामीलाई दशकौँसम्म झस्काइ रहनेछ ।

प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्तालिप्साले गर्दा मुलुकले १० वर्षमा हासील गर्न सक्ने तीब्र आर्थिक विकास र सामाजिक तथा साँस्कृतिक आधारहरु निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’ तर्फ धकेलेको छ । दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ श्रृङ्खलामा प्रवेश गरेको छ । वस्तुतः भ्रष्टाचार विरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरु नेपाललाई युक्रेन, लिबिया वा बङ्गलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।

लोकतान्त्रिक स्थीरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्न सक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरु जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठूला दुर्दिन नजिक आउँदै छन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ । भ्रष्टाचार नगर्ने सदस्यहरुको पार्टी बिना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ । दलाल पुँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरुमा स्थापित गर्न सकिएन । राजनीतिको मिटरब्याजमा सत्ताभोग गरिरहेका नेताहरुबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दैछ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरु सामाजिक लफङ्गाहरुबाट लखेटिनु पर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हतास, निरुपाय भएर लुक्नु पर्ने भयो ।

मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पङ्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैभित्रका नालायकीमाथि विजय हासील गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरुको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन । यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरुको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मण रेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढि धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।

नयाँ राजनीतिक–भूराजनीतिक घटनाहरु कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिउँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नु पर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परिक्षामा छौँ, सामना गर्न मनसा–वाचा–कर्मणा तयार होऔँ ।

अन्त्यमा, प्रिय नौजवान युवाहरु (जेन जी) ! तपाईँहरुलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरुलाई अरुले लुट्न नपाओस् ।

Read More

भाटभटेनी लुट्ने चार जना पक्राउ, डिल्लीबजारबाट २ लाख ३२ हजार नगद बरामद

काठमाडौँ । नेपाली सेनाले महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको जानकारी दिएको छ । 

नेपाली सेनाले डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार पाँचसय २५ सय डलर बरामद गरिएको जनाएको छ । सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ । 

त्यस्तै नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको जनाएको छ ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवा लगायतले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सुचना नभएसम्म विमानस्थल बन्द रहने जानकारी गराएको छ ।  

Read More

कैदी भाग्न खोजेपछि वीरगन्ज कारागार तनावग्रस्त

वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ । 

कैदीहरु कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ । कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।  

Read More

योगेश भट्टराईको धारणा: पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्बजनिक गर्दै सचिव भट्टराईले हाल इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको भन्दै देश र समाजमा देखिएको भयानक अस्थिरताको बीचमा विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गर्नुपर्ने बताएका छन् । 

उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका हुन् । उनले १० बुँदे धारणा सार्बजनिक गर्दै उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका छन् ।

 उनले भनेका छन्: 
प्रिय कमरेडहरू 
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थ: 

१- विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ । 

२- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस । 

३- पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ । 

४- पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔ । 

५- जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ । 

६- लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔ । 

७- खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ । 

८- हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ । 

९- देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ । 

१०- जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ । 

नेपाल बचाऔ, नेपालीत्व जोगाऔ ।

Read More

मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

काठमाडौँ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ ।

यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।

त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।

Read More

सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी नेतृत्वको आन्दोलनका क्रम सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ ।

साथै सेनाले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ । साथै नेपाली सेनाले हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सेनाको अनुरोध:
‘जेनजी’ नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ । साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ । साथै, उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध गरिन्छ ।

Read More