२०८३ बैशाख १३

कुलमान सहितको मन्त्रिपरिषद् विस्तार, अरु कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । त्यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए । यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरी प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Read More

भारतविरुद्ध पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौँ । पाकिस्तानले एशिया कप अन्तर्गत भारतविरुद्धको खेलमा टस जितेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यस खेलमा पाकिस्तानका कप्तान सलमान आगाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।

यस खेलमा भारतका अभिषेक शर्मा, शुभमन गिल, सञ्जु सैमसन (विकेट), सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, शिवम दुबे, हार्दिक पाण्ड्या, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र वरुण चक्रवर्ती खेल्दै छन् । 

त्यस्तै पाकिस्तानका साहिबजादा फरहान, सैम अयुब, फखर जमान, सलमान आगा (कप्तान), हसन नवाज, मोहम्मद हरिस (विकेटकीपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद खेल्दैछन् । 

Read More

रामेश्वर खनाल अर्थमन्त्री बन्दै

काठमाडौँ । पुर्व अर्थसचिव रहेका रामेश्वर खनाल नयाँ अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको हो ।

खानालले अघिल्लो सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको नेतृत्व गर्दै ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए ।

आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन तयार पार्दै सरकारलाई अर्थतन्त्र सुधारका नीतिगत सुझाव दिएको थियो ।

प्रधानमन्त्री कार्कीले खनाल बाहेक कुलमान घिसिङलाई पनि मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

नेपालको संबिधान अनुसार २५ जनासम्म मन्त्री बनाउन सकिने भएपनि कार्कीले ६ महिनामा आफ्नो कार्यभार सम्पन्न गर्ने बताइसकेकाले सानो तर विज्ञहरुको मन्त्रिपरिषद बनाउन लागेको बताइएको छ ।

Read More

लुटपाट भएका सामग्री खरिद बिक्री गर्नेलाई कारवाहीको चेतावनी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी​ ) ले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।

आइतबार सूचना प्रकाशित गर्दै सीआईबीले लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गर्दै त्यस्ता सामग्री खरिद तथा बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सिआईबीले भनेको छ- 
‘२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक वित्तीय संस्था लगायतका संरचनाहरूमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा सीआईबीबाट अनुसन्धान भइरहेको र त्यस्ता सामानहरूको खरिद तथा बिक्री नगर्न नगराउनु हुन अनुरोध गर्दछौं । यस्ता कुनै जानकारी तथा सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्नुहुन वा बुझाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।’

Read More

नारी नेतृत्वले थाम्यो न्यायको मूल कुर्सी: महान्यायाधिवक्तामा सबिता भण्डारी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन् ।

यो नियुक्तीसँगै नेपालले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ ।

जेनजी पुस्ताको आन्दोलनको कारण मुलुकमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउने छ ।

प्रधानमन्त्री कार्कीले पनि आज पदभार ग्रहण गर्दा चुनाव गराएर आफ्नो जिम्मेवारी हस्तान्तरण गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

Read More

दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपियो: नाडा

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जेनजी आन्दोलनका क्रममा भएको क्षतिले दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको बताएको छ ।

नाडाले आइतबार विज्ञप्ति जारी गर्दै अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरको हो । नाडाले कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको भन्दै देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको बताएको छ ।

नाडाले भनेको छ-  
हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ।  यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौ । जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गर्दछौ।

नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ।

शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ । 

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ। हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ । 

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अव छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्ने कुरामा शुभकामना समेत व्यक्त गर्दछौ ।

Read More

कांग्रेस नेता पौडेलले भेटे जेनजी आन्दोलनका शहीद धिरजका परिवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेन जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका धिरज श्रेष्ठका परिवारलाई भेटेका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका श्रेष्ठका परिवार निवासमा पुगेका नेता पौडेलले परिवारलाई समवेदना प्रकट गर्दै घटनाप्रति दुःख प्रकट गरे । उनले आफूले जेन जी आन्दोलनका माग पूरा गराउन सरकारमा रहँदा प्रयत्न गरेको भए पनि सफल नभए पछि राजीनामा दिएको बताए ।

नेता पौडेलले दुःखद् घटनाको निष्पक्ष छानविनका पक्षमा आफू रहेको भन्दै भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा धिरजजस्ता जेनजी युवाहरुले पाएको सहादतको मूल्यांकन हुने बताए । ‘धिरजबाबु र उनीजस्ता शहीदहरुको बलिदान खेर जान दिने छैन,’ उनले भने । 

Read More

देउवा दम्पत्ति अझै अस्पतालमा: आक्रमण प्रति कांग्रेसको आक्रोश, भीडको नाममा नेता कुट्ने कस्तो राजनीति ?

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा अझै उपचाररत रहेको बताइएको छ ।

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले देउवा दम्पत्तिमाथि आक्रमण गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा आज जारी भएको वक्तव्यमा देउवा दम्पत्ति अझै उपचाररत रहेको उल्लेख छ ।

कांग्रेसले लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पूर्व प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य डा.राणामाथिको अमानवीय र वर्बरतापूर्वक भौतिक आक्रमण भएको भन्दै निन्दा एवं भर्त्सना गरेको छ । ‘उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’- वक्तव्यमा भनिएको छ ।

Read More

तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ता संलग्न देखिए कारवाही गर्छौं: माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ता संलग्न देखिए कारवाही गर्ने बताएको छ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नै पार्टीको कार्यालयहरु, अध्यक्ष प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएको र  उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार रहेको बताएका छन् ।

प्रवक्ता सापकोटाले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेका छन् ।

माओवादी केन्द्रले भनेको छ-  
जेनजी पुस्ताले उठाएका मागहरू सम्बन्धी हाम्रो पार्टीको नीति तथा धारणा अध्यक्ष क. प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै स्पष्ट गरिसक्नु भएको छ । आन्दोलन भित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ । यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ ।

हाम्रो पार्टीको कार्यालयहरु, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।

यो तथ्य जनतासामु प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

Read More

अत्यावश्यक उपभोग्य वस्तुको अभाव छैन, आवश्यकता भन्दा बढी खरिद नगर्नु: वाणिज्य विभाग

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको छ ।

आइतबार विभागले विज्ञप्ति जारी गर्दै माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न र नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रलाई अनुरोध गर्दै आम उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न र नगराउन आम उपभोक्तामा अनुरोध गरेको हो ।

विभागले भनेको छ- 
मिति २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसबाट सिर्जित विषम परिस्थिति क्रमशः सामान्यीकरण हुदै गएको छ ।

यस परिस्थितिमा सहज आपूर्ति व्यवस्था कायम गर्दै दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज रूपमा उपलब्ध गराउँदै उपभोक्ता हित संरक्षणका लागि देहाय बमोजिम गर्न/गराउनु हुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं । माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न/नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता लगायत सम्पूर्ण निजीक्षेत्रमा अनुरोध गर्दछौं ।

बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले आवश्यकता भन्दा बढी खरीद तथा सञ्चय नगर्न/नगराउनुहुन आम उपभोक्तामा अनुरोध गर्दछौं । उल्लिखित कार्यमा आवश्यक सहयोग र सहजीकरणका लागि उपभोक्ता हकहितका क्षेत्रमा क्रियाशील संघ, संस्था र सञ्चारक्षेत्र लगायत सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।

Read More