२०८३ बैशाख १३

जेनजी आन्दोलनका क्रममा लगेका सामग्री फिर्ता गरिदिन भरतपुर महानगरको आग्रह

चितवन । भरतपुर महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा चोरी गरेर लगेका महानगरका सामग्री फिर्ता गरिदिन आग्रह गरेको छ ।
महानगरले आन्दोलनका क्रममा महानगर र यस अन्तर्गतका कार्यालयहरुमा आगजनी, तोडफोड तथा चोरी लुट्पाट भएको अवस्था सामाजिक संजाल, पत्र पत्रिका तथा फोटो भिडियोहरुबाट साथै स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामाग्री तथा व्यक्तिहरुको पहिचान भएको जानकारी गराउदै जानेर वा नजानेर लगेका सामाग्रीहरू असल नागरिकको जिम्मेवारी बोध गरी यस कार्यालयमा फिर्ता गरिदिन आग्रह गरको हो । 

साथै महानगरले कवाडी व्यवसायहरुसँग सम्बन्धित व्यक्ति तथा कवाड व्यवसायीसँग समेत उक्त सामाग्री नलिन तथा लिनेहरुको सामाग्री समेत फिर्ता गरिदिन अनुरोध गरेको छ ।

महानगरको आग्रह:
मिति २०८२/०५/२३ देखि २५ गते भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका कार्यालयहरूमा रहेका सम्पुर्ण सामानहरु आगजनी, तोडफोड तथा चोरी लुट्पाट भएको अवस्था सामाजिक संजाल, पत्र पत्रिका तथा फोटो भिडियोहरुबाट पनि स्प्रस्ट देखिन्छ । स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामाग्री तथा व्यक्तिहरुको पहिचान भएको अवस्थामा जानेर वा नजानेर लगेका सामाग्रीहरू असल नागरिकको जिम्मेवारी बोध गरी यस कार्यालयमा फिर्ता गरिदिनुहुन विनम्र अनुरोध छ। साथै कवाडी व्यवसायहरुसँग सम्बन्धित व्यक्ति तथा कवाड व्यवसायीसँग समेत उक्त सामाग्री नलिन तथा लिनेहरुको सामाग्री समेत फिर्ता गरिदिनुहुन अनुरोध छ । चोरी तथा लुट्पाट भएका सामग्रीहरु फिर्ता ल्याउने कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासी, दाजुभाई, दिदिबहिनीहरुमा भरतपुर महानगरपालिका हार्दिक अपिल गर्दछ।

Read More

जिल्ला अदालत काठमाडौँका सम्पूर्ण सेवा स्थगित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जानकारी दिदै अर्को सुचना नभएसम्मका लागि अदालतबाट प्रवाह हुने पेसी लगायतका सम्पूर्ण सेवाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

Read More

काँग्रेसले फेरी भन्यो: प्रतिनिधिसभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक छ

काठमाडौँ ।  नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ ।

पार्टीका उपसभापति पूर्ण बहादुर खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको उल्लेख गरेका छन् ।

उनले अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको बताएका छन् ।

उनले जेनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको घटना अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य रहेको बताएका छन् ।

विज्ञप्ति: 
मुलुकमा विकसित घटनाक्रम सम्बन्धमा नेपाली कांग्रेसले निरन्तर आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै आएको छ । जेएनजी पुस्ताको प्रदर्शन, प्रदर्शनको क्रममा भएको मृत्यु एवं खर्बौंको भौतिक संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र अन्य कयौं राजनैतिक नेतृत्व माथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र बिषयमा पार्टीको धारणा महामन्त्रीद्वयको वक्तव्यबाट र पछिल्लो समय कार्यसम्पादन समितिको बैठकको निर्णयबाट सार्वजनिक गरिएको छ । वर्तमानमा पार्टीको भूमिका संयोजन गरिरहेको नाताले हाम्रा धारणाहरू बारे कुनै अस्पट्ता र अन्यौल नरहेको सम्बन्धमा हामी स्पष्ट छौं ।

१)  जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद थियो । आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहो¥याउन चाहन्छौ ।

२)  उक्त सम्पूर्ण घटनाको छानबिन गर्न हामीले माग गरिसकेका छौं । सरकारलाई पुनः स्मरण गराउँदछौं ।

३)  जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस् ।

४)  लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
यसैगरी पार्टीका अग्रजहरु, नेताहरु, पार्टीका साथीहरु तथा अन्य राजनीतिक दलका नेताहरु माथि भएको भौतिक आक्रमण निन्दनीय र भत्र्सना योग्य छ । उहाँहरु लगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 

५)  संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ । यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ । अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं ।

६)  समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवाहरू एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट गर्दछ । 

Read More

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका बडालले भदौ २४ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै राजीनामा दिएको भएपनि आज मात्र स्वीकृत भएर आएको हो । महान्यायाधिवक्तालाई प्रधानमन्त्रीले नियुक्ति दिने र प्रधानमन्त्रीले राजीनामा दिए पछि महान्यायाधिवक्ताले पनि राजीनामा दिने गरेको पाइन्छ ।

Read More

वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा

पर्सा । पर्सा जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबार सम्पन्न समितिको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारीले अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेका छन् ।

यसअघि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि साँझ ९ बजेसम्म निषेधाज्ञा र साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश निरन्तरता रहेको जिल्ला प्रशासन
कार्यालय पर्साले जानकारी दिएको छ ।

Read More

जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अनिश्चिनकालका लागि बन्द

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अनिश्चिनकालका लागि बन्द गरेको हो ।

आगजनीबाट प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ- 
उपरोक्त सम्बन्धमा मिति २०७२/५/२४ गते मुलुकभर चलेको आन्दोलनको क्रममा आन्दोलनकारीहरू द्वारा यस कार्यालयमा गरेको तोडफोड र आगजनी का कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएको कारण यस कार्यालयबाट प्रवाह हुने सेवा‌ग्रही लक्षित सेवाहरू अर्को सूचना नआएसम्म‌का लागि स्थगित रहने व्यहोरा सवैमा जानकारी गराइन्छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । सकेसम्म छिटो अविलम्व सेवा प्रदान गर्न हाम्रो प्रयत्न जारी रहेको व्यहोरा समेत जानकारी गराउदछौं ।

Read More

आफ्नै मनको फोहोर नधोइ सिंहदरबार सफा हुँदैन, अब सबै फोहोर सफा गर्ने संकल्प गरौँ: जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गर्न आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुनबाट बच्न बचाउन सकिने बताएका छन् ।

उनले भनेका छन्- 
आज मैले जलेका  राष्ट्रपति भवन ,सिंहदरबार , संसद भवन ,अदालत ,र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनी लगायतका  क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे । अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।

Read More

काठमाडौँ जिल्ला प्रशासनले अत्यावश्यक सेवा दिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ  ।

जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्म निम्न बमोजिमका सेवा दिने बताएको छ ।  

१- मिति २०८२/०५/०६ अगाडी राहदानीको लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि यस कार्यालयमा मिति २०८२/०५/३१ देखि सम्पर्क गर्नुहुन ।

२- शान्ति सुरक्षा सम्बन्धी सेवाहरु यस कार्यालयबाट नियमित रुपमा संचालन हुने ।

३- राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरवारमा रहेको सेवा इकाईबाट सेवा लिनुहुन ।

४- राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिनुहुन ।

५- उल्लिखित सेवा बाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने ।

६- सेवा प्रवाह सम्बन्धी थप जानकारीको लागि यस कार्यालयबाट नियमित रुपमा सूचना प्रकाशन गरी जानकारी गराईने ।

Read More

रविले कुनै पनि यात्राको बाधक बन्दिन भनेको अर्को दिन सुमनाले छोडिन रास्वपा

काठमाडौँ । रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । अब उनले आफ्नो राजनीतिक बाटो स्पष्ट नगरेपनि उनले प्रधानमन्त्री सुशिला कार्कीको टिममा बसेर काम गर्ने अनुमान गरिएको छ । यसैका लागि उनले रास्वपा छोडेको विश्लेषण गरिएको छ ।

रास्वपा छोड्दै गर्दा सुमनाले कयौं आरोप पनि लगाएकी छिन् । उनले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भनेकी छन् । साथै उनले जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको समेत बताएकी छन् । सुमनाले स्पष्ट रुपमा रास्वपामा आफूमाथि मिडिया ट्रायल गरिएको समेत आरोप लगाएकी छन् ।

उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।

यस अघि रवि लामिछानेले शनिबार आम रुपमै जेलबाट फरार भएको आरोप लागेपछि कारागार फर्किनु अघि लेखेको एक सन्देशमा पार्टी छोडेर जान चाहनेलाई बाधक नबन्ने स्पष्ट सन्देश दिएका थिए ।

उनले भनेका थिए- आफ्नै पार्टी परिवारभित्र का  साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ । 

Read More

काभ्रेबाट ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोली सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More