२०८३ बैशाख १३

जेनजी आन्दोलनका शहिदहरुको आज अन्त्यष्टि हुदै

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ । 

हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्‍याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी भइरहेको ।  अहिलेसम्म १० वटा शवको पोष्टमार्टम भइसकेको र आज १० जनाको अन्त्यष्टि हुने बताइएको छ ।    

अहिले टिचिङ अस्पतालमा मृतकका आफन्त र शव यात्रामा सहभागी हुन जुट्नेक्रम शुरु भएको छ । आज महाराजगन्ज स्थित टिचिङ अस्पतालबाट सब यात्रा सुरु हुने र शव यात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थिति हुने हामी नेपाल संस्थाले जनाएको छ ।

सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।

Read More

ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । 

ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु खारेज हुने चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन्- ‘मैले भर्खरै एउटा समाचार रिपोर्ट पढें कि हमासले जमिनमाथि बन्धकहरू लिएर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । आशा छ, हमास नेताहरूले यो गरेमा उनीहरू के गरिरहेका छन् भनेर जान्नेछन् ।

अमेरिकी राष्ट्रपतिले यसलाई ‘मानवीय क्रूरता’ भनेका छन् । उनले भने- ‘यस्तो हुन नदिनुहोस् नत्र, सबै सर्तहरू खारेज हुने छन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्नु !’

गत हप्ता, इजरायलले कतारको दोहामा हमास नेताहरूमाथि आक्रमण गरेपछि गाजाको वातावरण बिग्रिएको छ । यो आक्रमणको अमेरिकी राष्ट्रपति ट्रम्पसहित धेरै देशका नेताहरूले निन्दा गरेका छन् भने अरब देशहरुले इजरायलसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

Read More

सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किए

काठमाडौँ  । नौबिसे-काठमाडौँ सडकखण्ड अन्तर्गत सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किएका छन् ।

दुई बसको ठक्करमा कुनै मानवीय क्षति भने भएको छैन । अहिले दुवैतर्फको यातायता अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरेको भएपनि दुवै पक्षबीचको विवाद नमिल्दा समस्या भएको यात्रुहरुले बताएका छन् ।

Read More

पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल, यस्तो भयो केन्द्रीय कार्यालय (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेले देशैभरका क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गरेको छ ।

जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव शंकर पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तीलाई निर्देशन दिएका हुन् । 

महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन सबैलाई निर्देशन दिए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताए । यो सरकार अन्तरिम भएकाले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जाने छ भन्नेमा आफ्नो विश्वास रहेको उनले बताए । 

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २५७५ मा कारोबार भएको थियो ।

Read More

तलब लिए लिनुस् नलिए नलिनुस्: म्यान्डेट अनुसारको काम गर्नुस्, सरकारको मूल्यांकन कामले हुनेछ

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले तीन जनालाई मन्त्री नियुक्त गरेपछि उनीहरुले शपथ लिएर कार्यभार समेत सम्हाली सकेका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनालले कार्यभार सम्हाल्दै आफुले सेवा सुविधा र सचिवालयका कर्मचारी नलिने बताए । उनले मन्त्री नियुक्त हुनुअघि नै सेवा सुबिधा नलिने पुर्व शर्त राखेको बताइएको छ । उनले एक ड्राइभर र एक दुई जना सचिवालयमा कर्मचारी बाहेक नचाहिने बताए । त्यस्तै उर्जामन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पनि आफ्नो तलब भत्ता शहिद परिवारको नाममा बन्ने कोषमा दिने घोषणा गरे ।

आम रुपमा नयाँ मन्त्रीका यी घोषणालाई सस्तो लोकप्रियताको लागि गरिएको त होइन भन्दै खबरदारी शुरु भएको छ । काम गरेपछि सरकारले नियम अनुसार लिने सेवा सुबिधा लिनु अन्यथा होइन । तर जेनजी आन्दोलनको जगमा बनेको सरकार र यसका मन्त्रीहरुले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न शुरु गरेकी गरेनन् वा भविष्यमा गर्छन् या गर्दैनन् भन्ने कुरा महत्वपूर्ण हो । अहिले तलब भत्ता लिन्न भन्ने कुरा महत्वपूर्ण होइन यो केबल मिडिया स्पेस लिने र सहानुभूतिका लागि हो भने त्यो झनै नराम्रो हुन जान्छ ।

यसै प्रसंगमा संगीतकार तथा गायक काली प्रसाद बास्कोटाले सटिक टिप्पणी गरेका छन् । उनले भनेका छन्- तलब लिए लिनुस्, नलिए नलिनुस्, यो मूल मुद्दा अहिले होइन । सबैलाई मिलाएर लैजाने अनि म्यान्डेट अनुसारको काम गर्नुस् । समय छैन ।’

Read More

फागुन २१ को निर्वाचनका लागि बहुमत आउने बिश्वासका साथ् दलहरू तयार

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्राय: सबै दल सकारात्मक देखिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो ।

उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् ।

प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायत दलका नेताहरू पनि निर्वाचनप्रति सकारात्मक देखिएका छन् । उनीहरूका पछिल्ला वक्तव्य र नेताहरूका अभिव्यक्तिले दलहरू तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा देखिएको प्रस्टै बुझ्न सकिन्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार धारणा सार्वजनिक गर्दै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा जिम्मेवार र लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने बताएका छन् । ‘अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ’, महामन्त्री थापाले भनेका छन् ।

एमालेले पनि तोकिएको समयमा निर्वाचन भए सघाउन तयार रहेको जनाएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय अनुगमनपछि महासचिव शंकर पोखरेलले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढेमा सहयोग गर्न तयार रहेको बताए । ‘यो सरकार अन्तरिम सरकार भएकाले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने काममा सरकारको ध्यान जाओस्’, महासचिव पोखरेलले भने ।

यस्तै नेकपा माओवादी केन्द्र पनि निर्वाचनप्रति सकारात्मक नै देखिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार बनेको र चुनावको मिति घोषणा भइसकेकाले घोषित मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । ‘अन्तरिम सरकार बनिसकेको र चुनावकाे मिति समेत घोषणा भइसकेको अवस्थामा हामीले अब घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आजको आवश्यकता हो’, श्रेष्ठले भने ।

अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ताजा जनादेशमा जानुपर्ने बताएकाे छ । समयमै निर्वाचन गरेर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्नेमा रास्वपाकाे जाेड छ । रास्वपाका प्रवक्ता मनिष झाले समयमै ताजा जनादेशमा गएर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्ने बताए ।

प्रमुख चार दल लगायतका नेताहरू निर्वाचनप्रति सकारात्मक देखिएपनि उनीहरुले पार्टी बैठकबाट यससम्बन्धी औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

Read More

फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज

काठमाडौं । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ ।  हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीतमा आमा र छोराको बारेमा रहेको छ  । 

फिल्म ‘बलिदान’मा १२ गाउँ फेम अभिनेता समीर भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा,  कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदान आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ भने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । यो फिल्म दसैंको फूलपातीमा प्रदर्शनमा आउदै छ ।

गीतको लिंक- https://youtu.be/xni3_xHan8w

Read More

भेनेजुएलाको डुङ्गामा अमेरिकाको अर्को आक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा भेनेजुएलाको कथित लागूऔषध डुङ्गा ध्वस्त पारेको बताएका छन् । ट्रम्पका अनुसार, यो डुङ्गा अमेरिकातर्फ गइरहेको थियो ।

ट्रम्पले सेनाको आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका छन् । उनले यो कारबाही ‘हिंसक लागूऔषध तस्करी गिरोह’ विरुद्ध गरिएको दाबी गरेका छन् । यद्यपि उनले डुङ्गामा वास्तवमा लागूऔषध रहेको कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।

ट्रम्पले ट्रुथ सोसलमा लगभग ३० सेकेन्डको भिडियो पोस्ट गरेका छन्, जसमा पानीमा विस्फोट भएको र आगोमा डुबेको डुङ्गा देखाइएको थियो ।

यसको केही समय अघि, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशले अमेरिकाको ‘आक्रमण’ को जवाफ दिने बताएका थिए । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई ‘मृत्यु र युद्धको मालिक’ भनेर वर्णन गरेका थिए ।

लागूऔषध तस्करी रोक्न अभियानको एक भागको रूपमा अमेरिकाले दक्षिणी क्यारिबियन क्षेत्रमा युद्धपोत तैनाथ गरेपछि दुई देशबीच तनाव बढ्यो । यी अपरेशनहरूको क्रममा भएको एउटा आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

Read More

ऐश्वर्या र अभिषेकपछि करण जोहर पनि अदालतमा

काठमाडौँ । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि, अब निर्माता-निर्देशक करण जोहरले पनि आफ्नो अनुमति बिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीकहरू प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, करण जोहरले व्यक्तित्व अधिकारको संरक्षणको लागि दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उनले आफ्नो नाममा अवैध रूपमा सामानहरू बेच्नबाट मानिसहरूलाई रोक्न माग गरेका छन् । करण जोहरले दिल्ली उच्च अदालतको ढोका ढकढक्याएका छन् र आफ्नो पहिचान र प्रचार अधिकारको सुरक्षाको माग गरेका छन् ।

करण जोहरको यो निवेदन न्यायाधीश मनमीत पीएस अरोरा समक्ष सुनुवाइको लागि आएको छ, जसले आफ्ना वकिलबाट केही स्पष्टीकरणहरू मागेका छन् । आफ्नो व्यक्तित्व र प्रचार अधिकारको संरक्षण बाहेक, करण जोहरले अदालतलाई केही वेबसाइटहरू र प्लेटफर्महरूलाई अवैध रूपमा आफ्नो नाम र तस्वीर भएको मग र टी-शर्ट र अन्य सामानहरू बेच्न नदिन निर्देशन दिने आदेश पारित गर्न पनि अनुरोध गरेका छन् ।

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई पनि यस मामिलामा दिल्ली उच्च अदालतबाट राहत मिलेको थियो । अदालतले अनलाइन प्लेटफर्महरूलाई अभिनेताको नाम, फोटो र आवाज उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साथै, अभिषेकको एआई-जेनेरेटेड तस्बिरहरूको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

ऐश्वर्या राय र अभिषेक बच्चनभन्दा पहिले, अभिनेता ज्याकी श्राफ पनि यस वर्ष मे महिनामा अदालत पुगेका थिए । उनले आफ्नो छवि र भिडियो परिवर्तन गरेर अनुमति बिना सामान बेचिएको आरोप लगाएका थिए । त्यतिबेला, अदालतले उनको व्यक्तित्व र प्रचार अधिकारलाई पनि सुरक्षित गरेको थियो ।

सन् २०२३ मा, अदालतले अनिल कपूरको छवि, आवाज र उनको झकास क्याचफ्रेजको दुरुपयोगमा प्रतिबन्ध लगाएको थियो । साथै, नोभेम्बर २०२२ मा, अमिताभ बच्चनको व्यक्तित्व र प्रचार अधिकारलाई पनि सुरक्षित गरिएको थियो । 

Read More