२०८३ बैशाख १३

कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुन्छ: मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुने भएको छ ।

शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् ।

उनले पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत भएको र संस्थागत निर्णय नभएको समेत बताए । उनले भने- ‘अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौँ । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ । त्यसैले हामी देश संबिधान अनुसार हुनुपर्छ भने झैँ पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर गर्छौँ ।’

जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको भए पनि पार्टीले आधिकारिक रुपमायस्तो कुनै निर्णय गर्ने अवस्था देखिएको छैन ।

त्यस्तै विश्वकर्माले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको र सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।  

Read More

संविधानमाथि प्रहारलाई एमालेले भत्काउनेछ, जनताको बलिदानीको रक्षा अब एमालेले गर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताए । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

उनले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताए । “हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरुले गर्दा पनि चुनौती देखिएका थिए । अब सबै चुनौतीको सामना गरेर अगाडि बढ्छौँ”, पोखरेलले भने ।

कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताए । उनले ‘जेनजी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यालयमा गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताए ।

महासचिव पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्दै राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

“बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो ती लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हुन् । राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन”, उनले भने ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबजसोै शीर्ष नेताहरू सहभागी भएका थिए ।

Read More

दुर्गा प्रसाईंको आन्दोलन घोषणा: विदेशी इच्छामा लिखित संविधान मानेनौं, छठपछि माटो र आत्माको लागि हिँड्छौं

काठमाडौँ । दुर्गा प्रसाईंले दशैं, तिहार र छठलगत्तै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उनले जेनजि आन्दोलनमाथिको विश्वासघात र नयाँ संविधानको आवश्यकता भन्दै आज सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्,‘जबसम्म हामी आफैँ जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान निर्माण गर्न सक्दैनौँ, तबसम्म हरेक दशकमा यस देशमा नेपालीको रगतको खोलो बगिरहन्छ।’

प्रसाईंले आफुहरुलाई विदेशीको इशारामा लेखिने वा विदेशीलाई खुशी पार्ने संविधान नचाहिएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने र नेपालीको सपना र भावनासँग मेल खाने संविधान हो।’

उनले आगामी दशैं–तिहार र छठ पर्वपछि नेपालीकै मन–मुटुबाट उठ्ने आन्दोलनले यो मुलुकलाई आमूल परिवर्तन गर्ने विश्वास लिएका छन् । उनले भने,‘नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन् – जसमा भविष्यका पुस्ताको स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचान स्पष्ट झल्किनेछ।

Read More

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो ।

धितोपत्र बोर्डका कायममुकायक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद् निरौला सदस्य सचिब रहेका छन् ।

Read More

बल प्रयोगदेखि भ्रष्टाचारसम्म सबैमा छानबिन गरौ, मेरो सम्पत्ति पनि जाँच होस्: विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अविलम्ब भदौ २३ गतेको जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घट्नामा न्यायिक आयोग बनाउन माग गरेका छन् ।

संविधान दिवसको अवसरमा आज शुभकामना जारी गर्दै उनले वर्तमान सरकारले गर्नुपर्ने अविलम्ब काममा चार वटा समिति निर्माण गर्न सुझाव दिएका छन् ।

पहिलो समिति भदौ २३ मा भएको जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग गठनको माग छ । दोस्रोमा भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पुर्ण छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने उनको माग छ ।

यस्तै, भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिसाली छानबिन गरिनुपर्ने शर्माको माग छ । र, चौथोमा भने २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउनुपर्ने शर्माको भनाई छ । अहिलेसम्मको राजनैतिक यात्रामा आफू जम्माजम्मी एकपटक सांसद बनेको पननि उनले उल्लेख गरेका छन् । तर, आफ्नो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस भनेका छन् ।

राजनैतिक नेतृत्वमा रहेका सबैजना अब परिक्षणका लागि तयार बन्नुपर्ने उनको सुझाव छ ।

Read More

तोसिमा कार्कीको रास्वपामा रिफर्मेसन र सुधारात्मक परिवर्तनको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा रिफर्मेसन र सुधारात्मक परिवर्तनको माग गरेकी छन् ।

पार्टी कार्यालयमा आफ्नो माग दर्ता गर्दै तोसिमाले पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति केहि प्रश्नहरु उठ्न थालेको स्थितिलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गर्दै नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्ने र यसका लागि यथाशिघ्र केहि महत्वपूर्ण निर्णय र कार्यहरु गर्नुपर्ने बताएकी छन् ।

तोसिमाले पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय भएको उल्लेख गरेकी छन् ।

तोसिमाको पार्टी रिफर्मेसन प्रस्ताव:  
लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनदत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठूलो आशा र भरोसापूर्वक हेरिरहेका छन्। तर पछिल्लो समय विभिनन कारणले हाम्रो पार्टी प्रति केहि प्रश्नहरु उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ। अझै यो वर्तमान संवेदनशील परिस्थितिमा हामीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेट सहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्नेछ। यसका लागि हामीले यथासिघ्र केहि महत्वपूर्ण निर्णय र कार्यहरु गर्नुपर्नेछ। यसैमा आफ्ना केहि धारणा निम्नानुसार पेश गरेकी छु ।

१- सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ । यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

२- जेनजीको आह्वानमा भएको सो तेस्रो जनआन्दोलन पछिको अवस्थामा नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ यसै क्रममा राजनीतिक पार्टीहरुले समेत पुरानो अवस्थलाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्छ।

३- देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रुपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

४- उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरुसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकान्क्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यममार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

Read More

साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै

काठमाडौँ । दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ ।

दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।

फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल क्लब, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सिटी फुटबल क्लब खेल्ने भएका छन् ।

Read More

चुनाव हारेपछि कमला ह्यारिसको अवस्था कस्तो भएको थियो ? किताबमा गरिन खुलासा

काठमाडौँ । कमला ह्यारिसको पुस्तकको अहिले चर्चा चुलिएको छ । ह्यारिसले आफ्नो किताबमा आफ्नो व्यक्तिगत जीवन र राष्ट्रपति अभियानको क्रममा आफ्नो अनुभवहरूको बारेमा धेरै महत्त्वपूर्ण विवरणहरू प्रकट गरेकी छन् ।

उनको पुस्तक, ‘१०७ डेज’ मा, ह्यारिसले राष्ट्रपति चुनावमा ट्रम्पसँग आफ्नो हारको बारेमा थाहा पाएपछि विश्वास गर्न नसकेको र सबै कुरा सकिएको जस्तो महसुस गरेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्- ‘म मुश्किलले सास फेर्न सकिरहेको थिए, म आफैलाई सोधिरहेँ, हे भगवान, हे भगवान, हाम्रो देशको के हुनेछ ?’

जो बाइडेन राष्ट्रपतिको दौडबाट पछि हटेपछि कमला ह्यारिसले अगाडी आएकी थिइन् । ह्यारिसले उनलाई जो बाइडेनको क्षमताको बारेमा कुनै शंका नभएको तर ८१ वर्षको उमेरमा, बाइडेन थकित भएको उल्लेख गरेकि छन् । यो बाइडेनको लचकदार भाषणबाट स्पष्ट भयो । जब ट्रम्प र बाइडेनले बहस गरे, र बाइडेन थकित देखिन्थे, मलाई तुरुन्तै थाहा भयो कि बाइडेनको अवस्था ठीक थिएनन् ।

कमला ह्यारिसले बाइडेनसँगको आफ्नो साझेदारीको बारेमा सकारात्मक कुराहरू लेखेकी छन्, तर केही क्षणहरू थिए जब तिनीहरू बीच कुराहरू राम्रो भएनन् । राष्ट्रपतिको दौडबाट बाइडेनको फिर्ताको बारेमा चर्चा हुँदा, कमला ह्यारिसले सम्झिएकी छन् । जो बाइडेनकी श्रीमतीले उनलाई सोधेकी थिइन्, उनी उनीसँगै छन् कि छैनन् ? कमला ह्यारिसले भनिन्, उनले सम्भवतः उनी वफादार छिन् कि भनेर सोध्न चाहन्थिन् ।

कमला ह्यारिसले भनिन्- ‘अभियानको क्रममा  ‘द भ्यू’ टक शोमा देखा पर्नु मेरो गल्ती थियो ।’  कमला ह्यारिसले भनिन्- ‘अन्तर्वार्ताको क्रममा, होस्टले उनलाई सोधे कि उनले विगत चार वर्षमा बाइडेन भन्दा फरक तरिकाले के गर्ने थिइन्, जसले गर्दा उनी नि:शब्द र जवाफको अभावमा थिइन् ।’

ह्यारिसले लेखिन्- ‘त्यो क्षण थियो जब हामीले महसुस गर्यौं कि हामीले ट्रम्पको अभियान टोलीलाई हामीलाई कुन्ठित गर्ने अवसर दिएका थियौं । त्यो अन्तर्वार्तामा, मलाई थाहा थिएन कि मैले ग्रेनेडको पिन तानिसकेको थिए ।’ 

कमला ह्यारिसले यो पनि दाबी गरिन् कि जो बाइडेनसँगको उनको सम्बन्धले उनलाई जनताको लागि मूल्य चुकाउनु पर्यो किनभने मानिसहरूले त्यतिबेला उनलाई घृणा गर्थे ।

ह्यारिसले खुलासा गरिन्, उनी सुरुमा इन्डियानाका पूर्व मेयर पिट बुटिगिगलाई उनको उपराष्ट्रपति उम्मेदवारको रूपमा चाहन्थिन्, तर बुटिगिग समलैंगिक थिइन् र उनी जोखिम लिन चाहिनन् । पछि, जोश शापिरोको नामको बारेमा छलफल भयो, तर शापिरोको अनुभवलाई ध्यानमा राख्दै, उनले दोस्रो नम्बरको भूमिकाको लागि उनलाई छनौट गर्नु उचित नभएको महसुस गरिन् । पछि मिनेसोटाका गभर्नर टिम वाल्जलाई छनोट गरियो, तर वाल्जले जे.डी. भान्ससँगको बहसमा खराब प्रदर्शन गरे ।

कमला ह्यारिसले ट्रम्पमाथिको घातक आक्रमणपछि उनले ट्रम्पलाई फोन गरेको खुलासा गरिन् । ह्यारिसले भनिन्, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वीको चापलुसी गर्न जारी राखे । ट्रम्पले भने- ‘म अब तपाईं (कमला ह्यारिस) को बारेमा कसरी नराम्रो भन्न सक्छु ?’ ट्रम्पले उनकी छोरी इभान्का कमला ह्यारिसको ठूलो प्रशंसक भएको पनि बताए । ह्यारिसले लेखेकी छन्- ‘जब कुराकानी समाप्त भयो, उनी पनि ट्रम्पको क्षमताबाट छक्क परिन् ।’ 

कमला ह्यारिसले लेखेकी छिन्- ‘ट्रम्प एक ठग हुन्, र उनी त्यसमा धेरै राम्रो छन् ।’

Read More

सडकबाट प्रधानमन्त्री बनाउने अनि संविधान बचायौं भन्ने ? योभन्दा ठूलो विडम्बना के हुन्छ: सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा कुरा गर्दै सिटौलाले संसद् विघटनले संविधान क्षत–विक्षत भएको जिकिर गरेका रातोपाटीले जानेको छ ।

संविधानलाई फेरि ट्र्याकमा ल्याउन राजनीतिक दलहरू आपसमा छलफल गरेर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्छ भन्नेमा उनले जोड दिए । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । बडो जुक्ति लगाएर संविधानको धारा ६१ प्रयोग गरी संविधानलाई बचाएको भन्दै पौडेलले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन अपिल गरेका थिए । तर राष्ट्रपति पौडेलको भूमिकाप्रति पनि सिटौलाले असन्तुष्टि जनाए ।

‘सडकबाट सरकार बनाउने अनि संविधान जोगाएँ भन्ने ! योभन्दा ठुलो विडम्बना के हुन्छ ? चुनाव त पहिले ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए । सायद राष्ट्रपतिमाथि सबै सुरक्षा निकायको दबाब पर्‍यो कि ?’, उनले संशय व्यक्त गरे ।

रातोपाटीसग सिटौलाको भनाइ जस्ताको त्यस्तै:

प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्ति दुवै संविधान विपरीत छ । संसद् विघटनले संविधान क्षत–विक्षत छ । यस्तै तरिकाबाट देश अगाडि जाँदा संविधानको मूल मर्म र भावना केही बाँकी नरहने देखिन्छ । त्यसकारण संविधान विरोधी कार्यलाई रोक्नका लागि राजनीतिक दलहरूले आपसमा छलफल गरेर अघि बढ्न जरुरी देखेको छु ।

अहिले सर्वोच्च अदालत भवन पनि आगलागी भएकाले त्यहाँ कुनै रिट निवेदन दर्ता हुन सकेको छैन । बन्दी प्रत्यक्षीकरण रिटमात्रै लिने गरेको सुनेको छु । सिंहदरबार आगलागी भएको छ । राष्ट्रपति कार्यालय आगलागी भएको छ । सिङ्गो देश आगलागी भएको बेलामा संविधानमाथि प्रहार भएको छ । संविधानलाई फेरि ट्र्याकमा ल्याउन राजनीतिक दलहरू आपसमा छलफल गरेर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्छ । संविधान निर्माण गर्ने राजनीतिक दलहरूले नै आपसमा छलफल गरेर निकास दिनु आजको आवश्यकता हो ।

यतिबेला सबै राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ । केही दिनमा सबै नेता साथीहरूले रिभाइव गर्नुहुन्छ । प्रायः सबै नेताहरूको घरमा आगलागी भएको छ । काठमाडौँमा हाम्रा सभापतिदेखि सबैको घरमा आगलागी भएको छ । जिल्ला जिल्लामा पनि आगलागी भएको छ । त्यसैगरी एमाले, माओवादीका नेताहरूका घरमा पनि आगलागी भएको छ । त्यसकारण संविधान निर्माण पक्षधरहरूले फेरि एकपटक गम्भीर छलफल गरेर निकास दिन जरुरी छ ।

हाम्रो पार्टी तत्काल बैठक बस्न सक्ने अवस्थामा छैन । सभापतिमाथि आक्रमण र कुटपिट भयो । उहाँ अहिले पनि सिरियस अवस्थामा हुनुहुन्छ । हाम्रो पार्टीले वक्तव्य दिइसकेको छ । फेरि पनि हामी बस्छौँ । प्रस्ट भन्छौँ, प्रतिनिधि सभाको विघटन र प्रधानमन्त्रीको नियुक्ति पूर्णरूपले संविधान विरोधी कार्य हो । सडकबाट संविधान फाल्ने कार्य सुरु भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । एउटा गल्ती गरेपछि अर्को गल्ती गर्न किन हुँदैन भन्ने बाटोतर्फ मुलुक गएको छ । सडकबाटै संसद् विघटन र संविधान मास्न पाइन्छ भने अरु थप कार्य गर्न किन पाइँदैन भनेर उहाँहरूको विचार आउनु स्वाभाविक हुन्छ ।

यसमा पहिले निर्णय गर्ने र गराउनेहरूले सोच्नुपर्ने हो । खासगरी राष्ट्रपतिले सोच्नुपर्ने विषय हो । उहाँले किन यस्तो गलत निर्णय गर्नुभयो ? सडकबाट सरकार बनाउने अनि संविधान जोगाएँ भन्ने ! योभन्दा ठुलो विडम्बना के हुन्छ ? चुनाव त पहिले ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए । सायद राष्ट्रपतिमाथि सबै सुरक्षा निकायको दबाब पर्‍यो कि ? राष्ट्रपति कार्यालयमा आगो लागेको देख्नुभयो होला । सुरक्षा निकायको पनि दबाब बढ्यो होला । ठ्याक्कै उहाँको रुचिले नै यस्तो घोषणा गर्नुभयो भनेर भन्न मिल्दैन । तथापि सडकको दबाबबाटै प्रधानमन्त्री बनाउने, संसद् विघटन गर्ने कार्यलाई संविधान सम्मत् छ भनेर कुनै हालतमा मान्न सकिँदैन ।

स्रोत: रातोपाटी

Read More

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी नेपाल फर्काउन लागिएको छ ।  

यस उद्धार कार्यमा सहयोग गर्नुहुने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, निजहरूको सुरक्षित उद्धारका लागि नजिकबाट सहकार्य गर्नुहुने गैर-आवासीय नेपाली संघ जर्मनीले सहयोग गरेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै सम्बन्धित मुलुकको कानूनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने भएकोले सतर्क हुन आग्रह गरेका छन् ।

Read More