२०८३ बैशाख १३

हमास र इजरायलबीच इजिप्टमा वार्ता जारी, पाँच बुँदे एजेण्डा बनाएर छलफल

काठमाडौँ । हमासले इजरायलमा आक्रमण गरेर शुरु भएको युद्ध आज दुई बर्ष पुरा भएको छ ।  दुई बर्षपछि हमास र इजरायलबीच इजिप्टमा युद्ध विरामको फ्रेमवर्क टी गर्न दोस्रो दिनको बार्ता जारी रहेको छ ।

अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति योजना अनुसार मध्यस्थकर्ताहरुसहित इजिप्टमा वार्ता जारी रहेको छ । बिबिसीले विभिन्न स्रोतलाई उल्लेख गर्दै मध्यस्थकर्ताहरूले युद्धविराम बारेका पाँच बुँदे एजेन्डा बनाएर छलफल गरिरहेको  उल्लेख गरेको छ । 

१- युद्धको अन्त्य: गाजा पट्टीका सबै भागहरूमा पूर्ण र स्थायी युद्धविराम स्थापना गर्ने ।

२- कैदी र बन्धकहरूको आदानप्रदान: बाँकी रहेका सबै इजरायली बन्धकहरू र सयौं प्यालेस्टिनी कैदीहरूको ठूलो मात्रामा आदानप्रदानको वार्ता गर्ने ।

३- गाजाबाट इजरायली फिर्ता: इजरायलले चरणबद्ध रूपमा गाजाबाट फिर्ता हुनेछ र गाजाविरुद्ध थप आक्रमण गरिने छैन भन्ने ग्यारेन्टी गर्नेछ ।

४- मानवीय सहायता प्रदान गर्ने: अन्तर्राष्ट्रिय पर्यवेक्षणमा सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्ने ।

५- युद्धपछिको शासन: लडाइँ बन्द भएपछि गाजाको भविष्यको शासन र सुरक्षाको बारेमा छलफल गर्ने ।

Read More

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेकी छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको छ । 

आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको थियो । स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रयासद भट्टराईले बताएका छन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी रहेका थिए ।

Read More

महेश बस्नेतविरुद्ध भएन पक्राउ पुर्जी जारी, अदालतले थप प्रमाण माग्यो

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यस विषयमा थप प्रमाण पेश गर्न आदेश दिएको हो ।

शोभा पाठकले साइबर ब्यूरोमा दिएको निवेदनका आधारमा प्रहरीले अदालतसमक्ष बस्नेतलाई पक्राउ पुर्जीका लागि निवेदन पेश गरेको थियो । तर अदालतले पक्राउ पुर्जी जारी नगरी बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश दिएको छ ।

Read More

जाँचबुझ आयोगमा पुग्यो ओली र लेखकविरुद्धको जाहेरी

काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाएको छ ।

जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले मंगलबार ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसरले जाँचबुझ आयोगमा पठाएको छ ।

यसैबीच मंगलबारनै नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिएका छन् । अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफुहरुले विरोध गर्ने बताए । उनले अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने धामीले बताएका छन् ।   

Read More

आरोप र जिम्मेवारीबाट भाग्दैनौं भन्दै बालेनले दिए स्पष्टीकरण

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले आरोप र जिम्मेवारीबाट भाग्दैनौं भन्दै बालेनले दिए स्पष्टीकरण दिएका छन् ।

पछिल्ला केहि दिनदेखि सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल नगएको भन्ने आशयका टिप्पणी सामाजिक सञ्जाल र मिडियामा भइरहेका बेला बालेनले त्यस बारे लामो पोष्ट र एक भिडियो शेयर गर्दै स्पष्टीकरण दिएका छन् । बालेनले हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेखेको बताएका छन् ।

बालेनले लेखेका छन्- 
“यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?”  “तीन दिनसम्म जलेको हेरेर बस्यो?”  “सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।

 हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि।  तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।

गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ  त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमान्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण  संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो।  जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु।  

सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै  २४ गते साझ ८:१५ भित्रै  काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।

हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। 

अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा  न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने  न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार  दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो।  

अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ।

अन्त्यमा, 
प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।

हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम   आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।

सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ । अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।।

Read More

स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी सञ्चालन गर्ने कुचेष्टा सुरु भयो: नेपाल बार

काठमाडौँ । नेपाल बार एसोसियसनले स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टा सुरु भएको जनाएको छ  । मंगलबार नेपाल बारले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको सुधार न्यायपालिकाकै प्रतिवेदनले देखाएको आधारमा हुने भन्दै सडकबाट निर्देशन दिएकै भरमा नहुने स्पष्ट गरेका छन् ।

नेपाल बारले भनेको छ- ‘हाल सञ्चार माध्यममार्फत स्वतन्त्र न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्ने कुचेष्टाप्रति एसोसियसन घोर भर्त्सना गर्दछ । स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका एसोसियसनको मान्यता हो । यसउपर हुने कुनै पनि जोर जुलुम, जबर्जस्ती हमला एवं अवैधानिक गतिविधिको एसोसियसन सख्त विरोध गर्दछ । देश जतिसुकै कठिन मोडमा रहँदा समेत कानुनको शासनको आधारभूत मानकलाई बेवास्ता गर्न मिल्दैन । स्वच्छ सुनुवाइसहितको मानव अधिकारको आधारभूत मापदण्डलाई पालना गर्नु राज्यको प्रथम दायित्व हो भन्ने स्मरण गराउन चाहन्छौं ।’

साथै बारले सुरक्षा निकाय खास गरी नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतहरूप्रति सरकार गम्भीर हुनु पर्ने भन्दै बारले आवेश, आक्रोश र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक्र निम्त्याउने बताएको छ ।

सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतहरूका काम कारबाही अविलम्ब नियमित रूपमा सुरु गर्न बाग गर्दै बारले जनताको न्यायसम्बन्धी हकको प्रचलन कुनै पनि क्षण अवरुद्ध गर्न नहुने र भदौ २३ गते भएको जेन-जीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाट समेतको घटनाउपर छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्व धारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक नभएको बताएको छ ।

Read More

अनेरास्ववियुले दियो बालेन र सुदनविरुद्ध जाहेरी, प्रहरीले सरकारी वकिलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिएका छन् ।

अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफुहरुले विरोध गर्ने बताए । उनले अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने धामीले बताएका छन् ।   

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो । मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताइएको छ ।

Read More

फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न पर्दैन: जाँचबुझ आयोग

काठमाडौँ । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएको छ ।

आयोगका सदस्य विज्ञान राज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको उल्लेख गर्दै फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका हुन् ।

आयोगले भनेको छ- 
मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भई आयोगले मिति २०८१ आश्विन ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।

यस आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितका प्रतिवेदन प्राप्त भए पश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२/०६/०९ गते जारी विज्ञप्ती प्रति आयोगको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।

Read More

अल्बानियाको अदालतमा सुनुवाइको क्रममा न्यायाधीशको गोली हानी हत्या

काठमाडौँ । अल्बानियाको राजधानी तिरानामा अदालतको सुनुवाइको क्रममा गोली हानी एक न्यायाधीशको हत्या गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार गोली लागेपछि न्यायाधीश एस्ट्रिट कालाहालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सम्पत्ति विवादसँग सम्बन्धित सुनुवाइमा उपस्थित एक बुबा र छोरा पनि गोली हानी घाइते भएका छन्, तर उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीले ३० वर्षीय संदिग्धलाई पक्राउ गरेको छ । स्थानीय मिडियाले उनको नाम एल्विस शेम्बी रहेको रिपोर्ट गरेको छ । 

अल्बानियाका प्रधानमन्त्री एडी रामाले न्यायाधीशको मृत्युमा शोक व्यक्त गर्दै गोली हान्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने बताएका छन् ।

Read More

क्वान्टम मेकानिक्समा आविष्कार गर्ने तीन अनुसन्धानकर्तालाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौँ । २०२५ को भौतिकशास्त्रमा नोबेल पुरस्कार क्वान्टम मेकानिक्सको क्षेत्रमा अभूतपूर्व खोजहरूका लागि तीन वैज्ञानिक – एक बेलायती, एक फ्रान्सेली र एक अमेरिकी अनुसन्धानकर्तालाई प्रदान गरिएको छ ।

मंगलबार नोबेल समितिले स्वीडेनको स्टकहोममा आयोजित एक समारोहमा भौतिकशास्त्रको नोबेल पुरस्कार घोषणा गरेको हो । जसमा जोन क्लार्क, मिशेल डेभोरेट र जोन मार्टिनिसले ‘विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा परिमाणीकरणको खोजको लागि’ पुरस्कार दिएको जानकारी दिएको छ ।

समितिले ‘हातमा समात्न पर्याप्त ठूलो प्रणालीमा क्वान्टम संसारको अनौठो गुणहरू कंक्रीट बनाउन सकिन्छ’ भनेर प्रदर्शन गरेकोमा पुरस्कार विजेताहरूको प्रशंसा गरेको छ ।

पुरस्कार विजेत जोन क्लार्कले आफुहरुले कुनै पनि हिसाबले आफुहरुले गरेको यो अनुसन्धान नोबेल पुरस्कारको विषय हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष, यो पुरस्कार जेफ्री हिन्टन जसलाई ‘एआईका गडफादर’ भनिन्छ  र जोन हपफिल्डलाई मेसिन लर्निङमा उनीहरूको आधारभूत खोजका लागि प्रदान गरिएको थियो, जसले आज कृत्रिम बुद्धिमत्ता कसरी प्रयोग गरिन्छ भन्ने मार्ग प्रशस्त गरेको थियो । २०२३ मा, यो पुरस्कार युरोपेली वैज्ञानिकहरूको तीन जनालाई दिइयो जसले इलेक्ट्रोनहरूको द्रुत गति बुझ्न लेजरहरू प्रयोग गरेका थिए ।

Read More