२०८३ बैशाख १३

कुवेतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौ । नेपालले आज आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध खेल्दैछ । यस खेलमा कुवेतले टस जितेको छ र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

प्रतियोगितामा समुह बीमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

Read More

बालेन र सुदनविरुद्ध अनेरास्ववियुले आज फेरी बुझायो जाहेरी

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा आज अर्को जाहेरी दिएको छ ।

यसअघि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर मेयर बालेन र सुदनविरूद्ध जाहेरी दिएको भएपनि सो जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले अगाडी नबढाउने बताएपछि अनेरास्ववियुका नेताहरु बुधबार फेरी परिसर पुगेर अर्को जाहेरी दिएका हुन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो । मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताइएको छ ।

बालेन र सुदनविरुद्ध आजै बिहान अधिवक्ता युवराज सफलले पनि परिसर पुगेर जाहेरी दिएका छन् । प्रहरीले सो जाहेरी दर्ता नगरेको र भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न बनाएको आयोगलाई पठाउने तयारी प्रहरीले गरेको बुझिएको छ ।

Read More

सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले बिभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि (एमआर) लाई अस्पताल प्रवेशमा रोक लगाएको छ ।

सिभिल अस्पतालले बुधबार एक सुचना प्रकाशित गर्दै एमआरहरुले अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्ने गर्दा उपचाररत् बिरामीहरुलाई असुबिधा पर्न गएको र अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको भन्दै एमआरलाई अस्पतालमा नआउन आग्रह गरको छ ।

अस्पतालले बिभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरुले आफ्नो कम्पनीको व्यवसायिक प्रबर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउन आग्रह गर्दै यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुने जानकारी दिएको छ ।

Read More

शिल्पा र उनका पति राजले विदेश यात्रा गर्न चाहेमा ६० करोड जम्मा गर्नुपर्ने

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ ।

भारतको लाइभ लको रिपोर्टका अनुसार, बम्बई उच्च अदालतले लुकआउट सर्कुलर रद्द गर्न माग गरिएको निवेदनको जवाफमा बुधबार यो आदेश दिएको हो । अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई लस एन्जलस वा अन्य देशहरूमा यात्रा गर्न चाहेमा ६० करोड भारु जम्मा गर्न निर्देशन दिएको छ ।

कथित ६० करोड ठगी मुद्दा बारे जारी गरिएको लुकआउट सर्कुलर रद्द गर्न दम्पतीले उच्च अदालतमा निवेदन दिएपछि अदालतको यो निर्देशन आएको हो ।

लुकआउट सर्कुलर भनेको सरकारले अपराधको आरोप लागेका व्यक्तिहरूको आवागमन नियन्त्रण र प्रतिबन्ध गर्न प्रयोग गर्ने कानुनी उपकरण हो । यो उनीहरू देशबाट भाग्न नपाउन भन्ने सुनिश्चित गर्ने एक कानुनी तरिका हो । केही अवस्थामा, यो विशेष परिस्थितिहरूमा साक्षीहरूको लागि पनि प्रयोग गरिन्छ ।

शिल्पा र राजले मुम्बईका व्यापारी दीपक कोठारीको ६० करोड ठगीको आरोप लागेको छ । एक कम्पनीमा लगानीको सिलसिलामा दीपक कोठारीको सो रकम दुवैले हड्पेको आरोप रहेको छ ।

Read More

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।

परिपत्रमा भनिएको छ- ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।’

यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ । पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसंपर्क विस्तारसँग पनि जोडेर हेरेको बताइएको छ ।

Read More

आफ्ना आवाज शान्तिपूर्ण रुपमा राख्न र संवादबाट समस्याको समाधान गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । 

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।
मन्त्रलायले विहिबार केहि जेनजी समुहले प्रदर्शन गर्ने कार्यक्रम तय गरेको सन्दर्भमा यस्तो आग्रह गरेको छ ।   

मन्त्रालयले भनेको छ:
जेन- जी  पुस्ताको अगुवाईमा भएको प्रदर्शन पश्चात् मुलुकमा नयाँ परिस्थिति विकास भएकोप्रति हामी सबै जानकार नै छौं । नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको छ । देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिककोसमेत अहम् दायित्व हुन आउँछ । तसर्थ मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ । साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ ।

Read More

मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाबी पेश

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कुष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । 

बुधबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गरेअनुसार तीन राजनीतिक दलको समर्थनमा यादवले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम २ वा २ भन्दा बढी  दलहरुको समर्थनमा बहुमत प्राप्त सरकारका लागि आह्वान गरेकी थिइन् ।  

१०७ सदस्यीय मधेश प्रदेशमा यादवको समर्थनमा ५८ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेश सांसदले समर्थन गरेको दावी पेश गरिएको छ ।

Read More

नेपाली समुदायलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न दुताबासको आग्रह

काठमाडौँ । कतारको दोहास्थित नेपाली दुताबासले कतारमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । बुधबार एक सुचना जारी गर्दै दुताबासले यस्तो अनुरोध गरेको हो ।

दुताबासले सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लङ्घन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन आग्रह गरेको छ ।

साथै दुताबासले देहायका विषयहरूमा विशेष सावधानी अपनाउन नेपाली समुदायमा अनुरोध गरेको छ :

१- कतारको कानून, नियम र सांस्कृतिक मूल्य-मान्यताको पूर्ण पालना गर्ने ।

२- कतारको कानूनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्ने ।

३- सार्वजनिक स्थलमा मादक पदार्थ र धुम्रपान सेवन नगर्ने ।

४- कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्ने ।

५- अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्ने ।

६- जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने ।

७- कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने ।

८- प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही गर्न नहुने ।

९- आफ्नो राहदानी, कतार परिचय पत्र, बैंक अकाउण्ट नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिने र क्यूआइडी बुझाई कुनै किसिमको बैंक ऋण नलिने । १०- एउटा कम्पनीको क्यूआइडी लिएर अर्को कम्पनीमा काम गर्नु वैधानिक नहुने । ११- भाङ्गको अचार, मर्चा जस्ता कुराहरू ल्याउन र लेनदेन गर्न नहुने ।

१२- सामाजिक संजालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने ।

१३- नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्य-मान्यतालाई गंभीरताका साथ ध्यान दिनुपर्ने । चाडपर्व होस वा अन्य समय, कुनैपनि बेला जुवातास खेल्न नहुने ।

१४- सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटक लगायतका भिडियो बनाउदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने ।

१५- सार्वजनिक स्थलमा अमर्यादित, उच्छृङ्खल र भड्किलो पोशाक लगाएर हिड्न नहुने ।

१६- कतार सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिई कुनै पनि कार्यक्रम गर्न नहुने ।

१७- नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूवीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्ने ।

Read More

ऊर्जा मन्त्री घिसिङसँग युएनडिपीका प्रतिनिधिको भेटवार्ता

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका  नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा युएनडिपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थामा बारेमा छलफल भएको थियो ।

रोजगारीका शिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेका थिए ।

उनले जलवायु परिवर्तनबाट सिर्जित प्रभाव न्यूनीकरण, ग्रामीण क्षेत्रमा लघु तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, जोखिमयसक्त हिमतालको अध्ययन, विपद्को पूर्वसचेतना प्रणाली, पूर्वतयारी, जिवाष्म इन्धनबाट सञ्चालित सवारी साधन एवम् घरायसी प्रयोजनमा प्रयोग हुने परम्परागत ऊर्जालाई विद्युतीय ऊर्जाबाट विस्थापित गर्ने, ऊर्जा बढी खपत गर्ने उद्योगमा विद्युतीय ऊर्जा प्रयोगलाई प्रवर्धन, इँटाभट्टामा प्रयोग भइरहेको कोइलालाई प्रतिस्थापन गरी विद्युतीय ऊर्जा प्रयोग गरी कार्बन उत्सर्न घटाउनेलयागतका क्षेत्रमा आवश्यक सहयोग गर्न अनुरोध गरेका थिए ।

युएनडिपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो ।

Read More

राजेन्द्र लिङदेन भन्छन्- नेताको मात्र सम्पत्ति छानबिन गरेर पुग्दैन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेताको मात्र सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् ।

लिङदेनले नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै नेताको मात्र छानबिन गरेर नहुने बताएका हुन् ।

उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफुहरुले लामो समयदेखि गर्दै आएको बिषय भएको उल्लेख गर्दै अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् ।

उनले भने- ‘नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो  समयदेखि गर्दै आएको बिषय हो । अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।’

Read More