२०८३ बैशाख १३

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

काठमाडौं । असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए  । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले बताए ।

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षेति मची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Read More

महिला क्रिकेट विश्वकप: बंगलादेशमाथि इङल्याण्ड ४ विकेटले विजयी

काठमाडौँ । इङल्याण्डले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले बंगलादेशलाई ४ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४५.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बंगलादेशले ४९.४ ओभरमा अल आउट हुदै १७८ रन बनाएको थियो ।

यो जितसँगै इङल्याण्डले जारी महिला विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बंगलादेशले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

विश्वकप अन्तर्गत आज अस्ट्रेलिया र पाकिस्तानबीच कोलोम्बोमा खेल हुने तालिका रहेको छ ।

Read More

भारतको हिमाचलमा यात्रुबाहक बस पहिरोमा परेर १५ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा यात्रुबाहक बस पहिरोमा परेपछि १५ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा पन्ध्र जनाको मृत्यु भएको र अठार जनालाई उद्धार गरिएको प्रदेश सरकारले जानकारी दिएको छ ।

मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले यस दुखद घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनामा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गरेका छन् ।

मोदीले राहतको घोषणा गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेक परिवारलाई ५० हजार दिने बताएका छन् ।

Read More

बंगलादेशमा ‘हिल्सा माछा’ बचाउन सेना परिचालन

काठमाडौँ । बंगलादेशले हिल्सा माछाको अवैध समुन्द्रमा प्रवेश रोक्न सेना परिचालन गरेको छ । सरकारले यसका लागि १७ वटा युद्धपोत र गस्ती हेलिकप्टरहरू तैनाथ गरेको छ ।

स्वदेशी तथा विदेशी मछुवारहरूलाई गहिरो समुन्द्रमा प्रवेश गर्नबाट रोक्न यी जहाज र गस्ती विमानहरूले २४ घण्टा निगरानी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । बंगलादेशी अधिकारीहरूले अक्टोबर ४ देखि २५ सम्म हिल्सा प्रजनन क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको बताएका छन् ।

हिल्सा माछा प्रति किलोग्राम २८ सय देखि ३ हजार टकासम्म बिक्री हुन्छ । हिल्सालाई बंगलादेशमा इलिश माछा पनि भनिन्छ । यो बंगलादेशको राष्ट्रिय माछा हो र त्यहाँ यसलाई ‘आमा’ को दर्जा दिइएको छ । हिल्सा माछा हरेक वर्ष समुद्र (तातो पानी) बाट नदीहरू (चिसो पानी) मा फर्कन्छ र अण्डा उत्पादन र प्रजनन गर्दछ । लाखौं मानिसहरू हिल्सा माछामा निर्भर छन् । भारतको पश्चिम बंगालमा पनि यो माछाको अत्यधिक माग छ र यो उच्च मूल्यमा बिक्री हुन्छ । बंगलादेशले ‘हिल्सा कूटनीति’ अन्तर्गत भारतमा हिल्सा माछा निर्यात गर्दछ । भारतीय माझीहरूले गंगा नदी र यसको डेल्टाको खारा पानीमा माछा मार्छन्, जसले कोलकाता र पश्चिम बंगालको आवश्यकता पूरा गर्दछ । यद्यपि, प्रजनन मौसममा अत्यधिक माछा मार्नेले हिल्साको भण्डार घटाउन सक्छ ।

बंगलादेशको युनुस सरकारले सेप्टेम्बर २०२४ मा भारतमा हिल्सा माछाको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यो घरेलु बजारमा हिल्सा माछाको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो । अगस्ट २०२४ मा शेख हसिना सरकारको पतन पछि हिल्सा निर्यातमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । बंगलादेशले दुर्गा पूजा अघि हरेक वर्ष १५ सयदेखि दुई हजार टन हिल्सा माछा भारतमा निर्यात गर्दै आएको छ ।

यो परम्परा शेख हसिना सरकारको समयमा सुरु भएको थियो। युनुस सरकारको प्रतिबन्धलाई भारत र बंगलादेशबीचको सम्बन्धमा चिसोपनको रूपमा हेरिएको थियो। यद्यपि, सेप्टेम्बर २१ मा बंगलादेशले प्रतिबन्ध हटाएर ३ हजार टन हिल्सा माछा भारत निर्यात गर्न अनुमति दियो । दुर्गा पूजा अघि हरेक वर्ष भारत आउने यो माछा यसको स्वादको लागि मात्र प्रसिद्ध छैन तर ‘हिल्सा कूटनीति’ भनेर चिनिने भारत-बंगलादेश सम्बन्धको पहिचान पनि बनेको छ ।

विज्ञहरूले हिल्सालाई प्रजननको लागि शान्त पानी चाहिने बताउछन् । जलवायु परिवर्तन र बढ्दो समुद्री सतहले हिल्सा माछाको भण्डारलाई असर गरिरहेको छ । नौसेना जहाजहरूले हिल्सा प्रजनन स्थललाई बाधा पुर्‍याउन सक्ने चिन्ता पनि छ ।

हिल्सालाई प्रजननको लागि शान्त र निर्बाध पानी चाहिन्छ, र ड्रोनको प्रयोग राम्रो विकल्प हुनेछ । बंगलादेश सरकारले प्रजनन मौसममा प्रत्येक माछा मार्ने परिवारलाई २५ किलोग्राम चामल वितरण गरेको छ, तर कतिपयले यो पर्याप्त नभएको बताउँछन् ।

चटगाउँ माछा मार्ने घाटलाई बंगलादेशमा हिल्सा माछाको सबैभन्दा ठूलो थोक बजार मानिन्छ ।  भारत र चीन पछि तेस्रो स्थानमा रहेको बंगलादेश विश्वको सबैभन्दा ठूलो माछा उत्पादक देशहरू मध्ये एक हो । हिल्सा माछा (इलिश) यसको प्रमुख निर्यात उत्पादन हो, जसले विश्वव्यापी आपूर्तिको लगभग ७० प्रतिशत ओगटेको छ । माछापालनले बंगलादेशको जीडीपीमा लगभग ३-४ प्रतिशत योगदान पुर्‍याउँछ । हिल्सा बंगलादेशको कुल माछा उत्पादनको १२ प्रतिशत ओगटेको छ । प्रत्येक वर्ष, ५ लाख ५० हजारदेखि ६ लाख टन माछा समातिन्छ, जसले ५ लाख माझीहरू र सम्बन्धित उद्योगहरूमा २० लाख मानिसहरूलाई जीविकोपार्जन प्रदान गर्दछ ।

आर्थिक वर्ष २०२३-२०२४ मा, बंगलादेशले ७१ हजार ४७७ टन माछा र माछा उत्पादनहरू (जस्तै झिंगा, हिल्सा र अन्य समुद्री माछा) निर्यात गरेको थियो ।

Read More

मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ । यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने छ ।   

जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ ।  

यस खेलमा नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तानी), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

Read More

खोकीको कफ सिरपले भारतमा बालबालिकाको मृत्यु पछि नेपालमा औषधि व्यवस्था बिभागले दियो यस्तो निर्देशन

काठमाडौँ  | भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ काफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था बिभागले गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको छ  |

बिभागले यस्ता प्रकारका घटनाहरु विगतमा पनि भई सकेकोमा सो प्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको छ । नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसेरोल / ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मा नै सूचना प्रकाशित गरिएको बताएको छ । 

यस पश्चात गत साउन २१ गते डब्लुएचओ कार्य दस्तावेज बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको छ । 

बिभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको बताएको छ ।

विभागले औषधि उत्पादकका लागि  कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न, उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि बमोजिम बिथिलिन ग्लाइकोल डाइथिलिन ग्लाइकोलको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

साथै विभागले औषधि आयातकर्ताका लागि नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्न निर्देशन दिएको छ  । त्यस्तै  फार्मेसीहरूका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ भने चिकित्सकहरुका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विरामीलाई दिन निर्देशन दिएको छ । 

साथै बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ ।  

साथै बिभागले सर्वसाधारणलाई बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्न, विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

Read More

टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपालले कुवेतको सामना गर्दै

काठमाडौ । नेपालले आज आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुने छ ।  

आजै समुह ए का कतार र युएई तथा समुह सी का ओमान र सामोआ पनि खेल्दैछन् । अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ । 

प्रतियोगितामा समुह बीमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । 

टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् । 

Read More

नेपाल र मलेसियाबीचको सिरिजको फाइनल खेल आज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ । आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

Read More

आजको मौसम: देशभर आकाश धुम्मिने, पहाडी भू-भागमा मेघगर्जनसहितको वर्षा / तराईमा आंशिक बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम प्रदेशका पहाडी भू-भाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने र कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

आजको राशिफल: मिथुन र कर्कटका लागि स्वर्ण अवसर, अन्य यी राशिको खुल्दैछ भाग्यको ढोका

आज असोज २२ गते बुधबार ई.सं. २०२५ अक्टोबर ८ नेपाल सम्बत ११४५ कौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, हर्शण योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । 

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २२ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ, त्यसैले कुनै पनि जोखिमयुक्त काममा सहभागिता नजनाउनु नै बेस हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । राम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँकेरताकेका काम पनि सम्पन्न हुने समय हो । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो ।

Read More