२०८३ बैशाख १३

हमास र इजरायलबीचको वार्तामा अमेरिकी विशेष दूत र ट्रम्पका ज्वाइँ कुशनरले भाग लिने

काठमाडौँ । इजिप्टमा भइरहेको हमास र इजरायलबीचको वार्तामा अमेरिकी विशेष दूत स्टीव विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनरले भाग लिने भएका छन् । त्यस्तै इजरायली रणनीतिक मामिला मन्त्री रोन डर्मर र कतारी प्रधानमन्त्री पनि युद्धविराम वार्तामा सामेल हुने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायली र हमासका प्रतिनिधिहरू बीच इजिप्टमा भइरहेको वार्ता अप्रत्यक्ष वार्ताको दोस्रो दिन मंगलबार कुनै ठोस परिणाम बिना नै समाप्त भएको थियो ।

यसअघि मध्यस्थकर्ताहरूले युद्धको अन्त्य, कैदी र बन्धकहरूको आदानप्रदान, गाजाबाट इजरायली फिर्ता, मानवीय सहायता प्रदान गर्ने र युद्धपछिको शासन लगायतका विषयलाई वार्ताको विषय बनाउन हमास र इजरायलसँग सहमति गरेको विषय बाहिर आएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वार्ताको स्थितिको बारेमा अहिलेसम्म टिप्पणी गरेका छैनन् भने उनले इजरायलले आफ्नो युद्ध लक्ष्यहरू सबै बन्धकहरूको फिर्ती, हमास शासनको अन्त्य, र गाजा अब इजरायलको लागि खतरा हुनेछैन भन्ने वाचा प्राप्त गर्न कारबाही जारी राख्ने बताएका छन् ।

Read More

जेनजी आन्दोलनमा नायक मानेका कैयौं पात्र खलनायक बने- महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले मानवता हराएको र कानुनको शासन हराएको अवस्था सिर्जना भएको बताउदै जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी युवाहरुलाई प्रयोग गरेर देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । बालेनले मंगलबार पोष्ट गरेको स्ट्याटसमा आएका कमेन्ट तीन बर्ष अघि आएको भए आज देशको यस्तो अवस्था आउने थिएन भन्दै अहिले देशमा अराजकता सिर्जना गर्न खोजिएको बताए ।

बस्नेतले जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्दै गोली चलाउने शार्पशुटरको बारेमा पनि छानबिन होस् भन्दै नख्खु जेलमा रवि लामिछानेलाई छुटाउन जाने रास्वपाका नेताहरुमाथि पनि छानबिन गर्न आग्रह गरेका छन् । साथै जेलबाट भागेका कैदीहरुको बारेमा छानबिन गर्नुपर्ने भन्दै देश अपराधको भडखालोमा लैजान लागेको त होइन भन्दै निष्पक्ष छानबिन गर्न आयोगको ध्यानाकर्षण गराएका छन् । 

बस्नेतले प्रधानमन्त्री सुशिला कार्कीले यसअघि पाँच दिनमा भ्रष्टाचारको छानबिन गर्न सकिन्छ भनेको बताउदै अहिले के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । उनले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालबाट छानबिन गर्नुपर्ने बताए ।

उनले आफुले साइबर ब्यूरोमा गएर बयान दिएको बताउदै आफुलाई समातेर देखाउन चेतावनी दिए । उनले लोकतन्त्र, बिधिको शासनका लागि सयौं पटक जेल जान तयार रहेको बताउदै आफुहरुले हरेक चुनौतीको सामना गर्ने बताएका छन् । बस्नेतले अब युवा संघले देशभर डिजिटल जेनेरेसन गठन गर्ने बताउदै जिल्ला जिल्लामा सरकार सम्पत्ति जलाउनेहरुका विरुद्ध जाहेरीको अभियान संचालन गर्ने समेत बताएका छन् । उनले संसद विघटन जयद हो कि हैन भन्ने विषय अब कानुनी विषय भएको बताउदै अब कांग्रेस र एमाले मिलेर अगाडी बढ्ने बताएका छन् ।

Read More

ओली-लेखक र उक्साउने सबै दोषी, प्रचण्डको हकमा उहाँको आवश्यकता र औचित्यता सकिएकै छैनः रञ्जित तामाङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रञ्जित तामाङले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरु केपी शर्मा ओली, रमेश लेखकलगायत जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले ओली, लेखकसँगै परिस्थिति यो अवस्थामा आइपुग्न उक्साउने सबैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका हुन् ।

‘तत्कालीन सरकारको नेतृत्वमा भएका हुनाले जवाफदेही र जिम्मेवार केपी ओली, रमेश लेखकहरु नै हुनुपर्छ । यसमा कुनै विवाद छैन । तर, यस प्रकारको स्थितिमा आइपुग्नका लागि उक्साउने अरु पनि जिम्मेवार छन् । ती सबै छानविन हुनुपर्छ । सबैको छानविन हुनुपर्यो । सबै कानूनी दायरामा आउनुपर्यो,’– उनले भने ।

त्यस्तै, फरक प्रसंगमा उनले आगामी महाधिवेशनबाट अब माओवादी पुरानै अवस्थामा नरहने बताए । अध्यक्षमा नयाँ वा पुरानो जो आए पनि बाँकी सबै क्षेत्रमा नयाँ पुस्ता आउने उनले बताए । उनले प्रचण्डलाई किन हटाउने, के– का लागि हटाउने, के ठीक भयो ? के बेठीक भयो भन्ने कुरा विशेष महाधिवेशनको क्रममा गम्भीरतापूर्वक छलफल हुने बताए । लहड चल्यो भन्दैमा नेतृत्वको औचित्यता सकियो भनेर आग्रहपूर्वक भन्न नहुने उनको तर्क छ ।

साथै, तीन पटक गरेर प्रचण्ड ३६ महिना प्रधानमन्त्री बन्दा उनले राम्रोमात्रै काम गरेको नेता तामाङको दाबी छ । नेता तामाङले प्रचण्ड असक्षम, असफल र गलत भन्ने कुनै पनि ठाउँ नरहेको बताए । आम पार्टी पंत्ति र कार्यकर्तामा प्रचण्डको औचित्यता र आवश्यकता अझै सकिएको छैन भन्ने रहेको उनले बताए ।

‘प्रचण्ड ३ पटक गरेर ३६ महिना प्रधानमन्त्री हुनुभयो । ३६ महिनामा उहाँले गरेको कामहरुको हिसाबमा हेर्दाखेरी प्रचण्ड असफल, प्रचण्ड गलत, प्रचण्ड असक्षम भन्ने ठाउँ छैन । त्यो आधारमा प्रचण्डको औचित्यता, आवश्यकता अझै पनि सकिएको छैन भन्ने कुरा आम पार्टी कार्यकर्तामा छ । हामीलाई त्यस्तो लाग्छ,’– उनले भने ।

Read More

प्रमुख दलको मूल नेतृत्वले क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन नागरिक समुहको सुझाव

काठमाडौं । नागरिक अगुवाहरूको समूहले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिन सुझाव दिएको छ । 

बुधबार ३० जना नागरिक अगुवाहरुको समुहले अपिल जारी गर्दै यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन मुल नेतृत्वले  राजीनामा दिएर स्वेच्छिक अवकाश लिन सुझाव दिएको हो । 

नागरिक अगुवाको समुहले  निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गर्दै राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ ।

अपिल जारी गर्नेमा अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, उत्तमबाबु श्रेष्ठ, कसमस विश्वकर्मा, कृष्ण खनाल, केदारभक्त माथेमा, केशव दाहाल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, चरण प्रसाई, चन्द्रकिशोर, झलक सुवेदी, दिनेश त्रिपाठी, दीपेश घिमिरे, दोभान राई, तारानाथ दाहाल, तुलानारायण शाह, भोजराज पोखरेल, मुमाराम खनाल, मीना पौडेल, रजनी ढकाल, राजाराम गौतम, लोकराज बराल, विद्याधर मल्लिक, विनोद सिंजापति, संगीता लामा, सञ्जीव उप्रेती, श्रवण मुकारुङ र युग पाठक रहेका छन् ।

नागरिक अगुवाहरूको अपिल

सरकार र राजनीतिक दलहरूलाई अपिल
१. गत भदौ २३–२४ गतेको जेन–जी पुस्ताको विद्रोह सफल भई बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । ऐतिहासिक जनआन्दोलनबाट स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मितिमा नै निर्वाचन गर्नु आजको राष्ट्रिय दायित्व हो । तर सरकारले अनुकूल र विश्वसनीय वातावरण सिर्जना गर्नु निर्वाचनका लागि अनिवार्य पूर्वसर्त हो । त्यसैले राजनीतिक दल र आन्दोलनकारी जेनजी समूहहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई हार्दिक अपिल गर्दछौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निष्ठापूर्वक न्याय सम्पादन गर्नुभएकी श्रीमती सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, विधिको शासन, मानव अधिकार र नागरिक सर्वोच्चतालाई मार्गनिर्देशक सिद्धान्त मानेर आफ्नो विशेष जिम्मेवारी पूरा गर्ने विश्वास लिएका छौँ । 

२. निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि शान्ति–सुरक्षा पहिलो सर्त हो । तर शान्ति–सुरक्षाको दृष्टिले अहिले चुनौतीपूर्ण देखिन्छ । एकातिर सुरक्षा निकायको मनोबल अत्यन्त कमजोर छ भने अर्कोतिर नेपाल प्रहरीका ११०० भन्दा बढी हातहतियार लुटिएको सूचना सरकारले नै जारी गरेको छ । नेपाल प्रहरीका अधिकांश कार्यालय जलाइएका छन्, सञ्चार उपकरण पर्याप्त छैनन्, उनीहरूसँग पोशाक र सुरक्षाका न्यूनतम उपकरणसमेत छैनन् । गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएको छ । त्यसैले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन–स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति–सुव्यवस्था बहाल गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छौँ । 

३. राजनीतिक दलहरूले पनि यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ । नेपालको संविधान अनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ । 

४. विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ । 

५. जेन–जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक छ । यसैगरी विशेष महाधिवेशनबाट दललाई मौलिक रूपमा पुनर्गठन र रूपान्तरण गर्नु आवश्यक छ । यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्ने वास्तविकता पनि स्मरण गराउन चाहन्छौँ । 

६. विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै होइन, परिवर्तित परिदृश्यमा जनता र विशेष गरी नवयुवा पुस्ताको एजेन्डा, भावना र प्रतिनिधित्वसमेत सुनिश्चित गरी समयसापेक्ष राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक नीति अंगीकार गर्नु आवश्यक छ । नयाँ नेतृत्व र नयाँ नीतिको आधारमा निर्वाचनमा दलहरू सहभागी हुन हार्दिक अपिल गर्दछौँ । 

७. भदौ २३ गतेको सरकारी दमन तथा नवयुवाको हत्या र २४ गतेको विध्वंश, अराजकता, सार्वजनिक तथा निजी सम्पत्ति र सञ्चारगृहको तोडफोड, आगजनी र आक्रमणको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई हार्दिक अपिल गर्दछौँ । तर भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगको बहाना बनाएर घटनामा संलग्न अपराधीलाई कारबाही नगरे दण्डहीनता तथा अपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरी विधिको शासनको आधारभूत मूल्य र मान्यताप्रति प्रश्नचिन्ह खडा हुने वास्तविकताप्रति सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ ।

Read More

क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत र पाकिस्तान बीच शान्ति ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । मंगलबार ओभल अफिसमा ट्रम्पसँगको द्विपक्षीय वार्ताका क्रममा मार्क कार्नीले ट्रम्पलाई ‘परिवर्तनकारी राष्ट्रपति’ भनेका छन् ।

कार्नीले भने- ‘तपाईं एक परिवर्तनकारी राष्ट्रपति हुनुहुन्छ… अर्थतन्त्रको रूपान्तरण, नेटो साझेदारहरूद्वारा रक्षा खर्चमा अभूतपूर्व प्रतिबद्धता, भारत र पाकिस्तानबाट अजरबैजान र आर्मेनियामा शान्तिको लागि प्रयासहरू, र आतंकवादी शक्तिको रूपमा इरानको कमजोरीकरण, सबै तपाईंको नेतृत्वमा सम्भव भएका छन् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको सैन्य द्वन्द्व समाप्त भएको दाबी गरेका छन् ।

तर भारतले बारम्बार पहलगाम आक्रमण पछि उत्पन्न पाकिस्तानसँगको द्वन्द्व आपसी सहमतिमा समाधान गरिएको थियो र कुनै तेस्रो पक्षले यसमा कुनै भूमिका नखेलेको बताउदै आएको छ ।

Read More

मनुमती खोलाले भत्काएको स्थानमा कटान रोक्ने अस्थायी काम सम्पन्न

काठमाडौँ । अविरल वर्षाका कारण जोखिमपूर्ण बनेको काठमाडौँ महानगरपालिका वडा नं. १४ को कोहिनुर हाउजिङ नजिक करखुसी समेत भनिने मनुमती खोलाको छेउलाई महानगरले तदारुकताका साथ खतरामुक्त बनाएको छ ।

गत असोज १८ गतेदेखि परिरहेको लगातार वर्षाका कारण सो क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । यसले सडक छेउका सुवास गुप्तालगायत तीनजनाको घरसमेत उच्च जोखिममा परेको थियो । पहिरो गएलगत्तै थप क्षति हुन नदिन काठमाडौँ महानगरले तत्कालै महानगर प्रहरी बल, विपद् व्यवस्थापन विभाग, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूको समन्वयमा बोरा, जस्तापाता, फलामका पाइप, ग्राभेल समेतको प्रयोग गरी नदी कटान रोक्ने अस्थायी काम सुरु गरेको थियो । 

यसरी नदी कटान रोक्ने अस्थायी काम महानगरको, डुबान समस्या समाधान स्वर्णिम योजना अन्तर्गत सञ्चालन गरिएको हो ।

Read More

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जितेर सिरिज ३-२ ले जितेको हो  ।

फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो  । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो  । त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो । 

Read More

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २६ सयले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको २९६० मा कारोबार भएको थियो ।

Read More

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । 

बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूची बारे छलफल हुने एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

राष्ट्रसामु थपिएका नयाँ चुनौतीको सामना गर्नुको विकल्प छैन: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र सामु नयाँ चुनौती थपिएको बताउदै सामना गर्नुको विकल्प नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको उल्लेख गर्दै राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले भनेका छन्- 
निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।

Read More