२०८३ बैशाख १३

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । यसका लागि आयोगले यसअघि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने देखि स्थानीय तहमा निर्वाचित भएका सबै दलहरुलाई पत्राचार गरेको छ ।  

प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गर्दै विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा रहेको बताएका छन् ।  

आयोगले यसअघि सोमबार फागुन २१ गतेको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको थियो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । 

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ । कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले  कात्तिक ३० अघि नै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

Read More

पोखराको लिची बगान जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरको छ ।

अख्तियारले बुधबार एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर मुद्धामा उनीहरूविरुद्ध ७८ लाख बिगो मागदाबी गरिएको छ ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यस प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियार स्रोतले बताएको छ ।

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हासिल गर्न तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएपछि यो विषय बाहिर आएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।

Read More

नेप्सेमा ४५.३६ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ  । त्यस्तै आज प्रभु इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २६ करोड १६ लाख र युनियन हाइड्रोको २४ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

Read More

टी-२० विश्वकप छनौटमा ओमानको विजयी शुरुवात

काठमाडौँ । ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ  ।

ओमानले समुह सीको पहिलो खेलमा सामोआलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो ।

सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सामोआले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

आजदेखि शुरु भएको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आजै कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार रति ८: ४५ बजेदेखि शुरु हुदैछ भने यस खेलको प्रत्यक्ष प्रशारण आइसीसीले आफ्नो वेभसाइट र एपमा गर्दैछ ।

Read More

म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको  आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् ।

चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो । 

यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो । यो आक्रमण म्यान्मार सरकारले गराएको दाबि गरिएको छ । 

सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्र संघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।

Read More

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

एकीकृत समाजवादीले असोज २४ गते बस्ने गरि सचिवालय बैठक बोलाएको पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगति बारे छलफल हुने ज्वालाले जानकारी दिए ।

Read More

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ ।

अधिवक्ता युवराज सफलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जानकारी दिएका छन् ।

राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ । सफलले जाहेरीमा २५ बर्षसम्मको जेल सजायको माग उल्लेख गरेका छन् । साथै प्रहरीले जाहेरी दर्ता नगरेको बताए । 

यसअघि मंगलबार पनि नेकपा एमालेनिकट अनेरास्ववियुले मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको थियो । प्रहरीले जाहेरी दर्ता नगरेर सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाउने तयारी गरेको बताइएको छ ।

Read More

कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन, छानबिन गर्नुपर्छ: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले घिसिङको मुद्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि सुरुमा छानबिन गर्नुपर्ने बताएका हुन् ।  

बस्नेतले कुलमानले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाउदै सूर्यविनायक-धुलिखेल सडकखण्डमा उनको भतिजो ६० प्रतिशन लगानी रहेको र भतिजोमार्फत भएको उनको अप्रत्यक्ष लगानी भएको लामा कन्ट्रक्सनको भुक्तानी गर्नुपर्ने रहेकाले सडक निरीक्षणमा गएको आरोप लगाएका छन् ।

उनले भने- सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौं । मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन । रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो । कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’

Read More

नेपाल र जर्मनबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ।  यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । 

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रममा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ। यो परियोजना नेपाल विद्युत प्राधिकरण मार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण  र जर्मन विकास बैंक (केएफडब्लु) बीच कार्यान्वयन सम्झौता पनि हुने बताइएको छ । यो सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ ।

यसअन्तर्गत २१ मिलियन युरो सम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले निम्न क्षेत्रमा सहयोग पुर्‍याउनेछ:
– स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीति का लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन ।

– कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु-प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने ग्रीन रसिलेन् अग्रिकल्चार सेन्टर्ड प्राइभेट सेक्टर इकोनोमिक डेभलपमेन्ट कार्यक्रम ।

– शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ जसले दिगो विकासमा योगदान पुर्‍याउने ।

– थप रूपमा, ‘अध्ययन तथा विज्ञ कोष’ मार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान ।

यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल-जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताए । उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

सोहि कार्यक्रममा जर्मन संघीय गणतन्त्रका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा,  दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।

Read More

यस्तो छ विद्युतीय भुक्तानीको सीमाको व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी बारे प्रष्ट पारेको छ । मोबाइल बैंकिङ एप, कनेक्ट आइपिएस र क्युआर कोडमार्फत गरिने कारोबारको सीमाका बारेमा राष्ट्र बैंक प्रष्ट गरेको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ एप, कनेक्ट आइपिएस र क्युआर कोडमार्फत गरिने कारोबारका लागि दिनको ३ लाखको सीमा तोकेको छ भने महिनामा कति भन्ने सीमा तोकिएको छैन । त्यस्तै वेब एप्लिकेसनको सहायतामा कनेक्ट आइपिएस वा इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा दिनको २० लाखको सीमा रहेको छ तर महिनाको सीमा तोकिएको छैन ।

त्यसैगरी बैंक खाताबाट वालेटमा गरिने रकम स्थानान्तरण र वालेटबाट अन्य खातामा गरिने रकम स्थानान्तरणमा दिनको २ लाख र महिनाको १० लाखको सीमा तोकिएको छ भने एक वालेटबाट अर्को वालेटमा रकम स्थानान्तरण गर्न दिनको ५० हजार र महिनाको ५ लाखको सीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै राष्ट्र बैंकले नेपाल सरकारलाई भुक्तानी गर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेशन तथा सेवा शुल्क, खानेपानी महसुल, विद्युत महसुल, दूरसञ्चार शुल्क, सामाजिक सुरक्षा कोषको रकम भुक्तानी, विद्यालय शुल्क, बीमा प्रिमियम भुक्तानीमा माथि उल्लेखित कुनै पनि सीमा नरहने स्पष्ट गरेको छ ।

Read More