२०८३ बैशाख १३

ओली निवासमा बन्द कोठा बैठक, एमाले महाधिवेशनको मिति आजै टुंगो लाग्ने

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेको हो ।

गत शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक हिजो अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । आज बैठक टुङ्ग्याउने तयारी रहेको बताइएको छ ।

सचिवालय बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइने बताइएको छ । कूल १८ सदस्यीय सचिवालयमा गत शुक्रबार ९ जनाले आफ्नो धारणा राखेका थिए । आज बाँकी पदाधिकारी र सदस्यहरुले धारणा राख्ने र बैठक टुङ्ग्याइने पार्टी उपमहासचिव प्रदीय ज्ञवालीले बताए ।

Read More

तालिबान सरकारको दाबि- कारवाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी आक्रमणको प्रतिकारमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो, तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको बताएका हुन् । उनले ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरे ।

मुजाहिदको दावीको बारेमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए ।

प्रवक्ता मुजाहिदले झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि बताएका छन् ।

मुजाहिदले आइएसआइएसको प्रमुख पाकिस्तानमा रहेको र संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको समेत दाबी गरेका छन् ।

उनले आइएसआइएस अफगानिस्तानबाट हटाइएको दाबी अग्र्दै आइएसआइएसका तालिम केन्द्रहरू पाकिस्तानमा अवस्थित रहेको र अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशविरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने समेत बताए ।

Read More

१४ वर्षदेखि अलपत्र कन्काई पुलको मन्त्री घिसिङबाट निरीक्षण

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । 

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका छन् । 

करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७-६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । 

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने- ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’

स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । 

निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटीलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनवमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । 

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ । 

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेका थिए । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उनले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत थिए । 

Read More

विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा नगरपालिकाका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशाकीय अधिकृत, लेखापा र रौतहट एडभरटाइजिङ एजेन्सीका संचालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

उनीहरुले राष्ट्रिय दैनिक पत्रिकामा ठेक्काको सुचना प्रकाशित गर्नुपर्नेमा सिटी पोष्ट दैनिक जस्तो देखिने सिमित प्रति प्रकाशित गरेर सूचना लुकाएको अख्तियारले आरोप लगाएको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद तथा रौतहट एडभरटाइजिङ्ग एजेन्सीका सञ्‍चालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरको जनाएको छ ।

Read More

चुलु फार ईस्ट हिमालमा फहरायो सशस्त्रको झण्डा

काठमाडौँ ।  सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरुले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते विहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो ।

पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहरणले पर्यटन प्रवद्धनमा कोेशेढुङ्गा समेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालन भईरहेको पर्वतीय उद्धार तालिमको लागि आवश्यक पर्ने प्रशिक्षकहरुको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।

केही समय अगाडी सशस्त्र प्रहरी बल, नेपालले चुलु फार ईस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरुप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमालको आरोहण गर्ने प्रचलन  थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहण पश्चात चुलु फार ईस्ट हिमाल आरोहण गर्ने कानुनी हिसावमा बैधानिकता समेत प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाईन्समा फोर्टिन, पिक्स एक्सपीडिसन मार्फत उक्त हिमाल आरोहण गरेका थिए ।

Read More

कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेका २० जना पक्राउ

काठमाडौँ । प्रहरीले कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४९१ सहित पक्राउ गरेको हो । 

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६०५ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

भारतविरुद्ध फलोअनमा वेस्ट इन्डिज

काठमाडौँ । भारतविरुद्धको जारी दोस्रो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ ।

पहिलो इनिंगमा २४८ रन बनाएर अलआउट भएपछि भारतले वेस्ट इण्डिजलाई फलोअन दिदै फेरी ब्याटिंगका लागि बोलाएको छ । वेस्ट इन्डिजका लागि पहिलो इनिंगमा एलिक अथानाजेले सर्बाधिक ४१ रन बनाए भने शाइ होपले ३६ रन बनाएका थिए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिएका थिए ।

यसअघि भारतले आफ्नो पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगको ब्याटिंग समेत शुरु गरेको छ ।

दुई खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले पछि रहेको छ । 

Read More

बालेन र सुदनविरुद्ध नेविसंघको पनि जाहेरी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन् ।

आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध जाहेरी बुझाएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरू मनिश जंग  थापा, अशोक सिंह बिष्ट र बिजय शाहले बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिएका हुन् । उजुरी पछि केन्द्रीय सदस्य विष्टले २४ घण्टाभित्र जाहेरी दर्ता गरेर  घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेको बताएका छन् ।

भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएकोमा उनीहरुलाई जिम्मेवार ठहर गर्दै कारवाहीको माग गरिएको छ ।

जाहेरीमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको उल्लेख गरिएको छ ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । प्रहरीले अहिलेसम्म जाहेरी दर्ता भने गरेको छैन ।

Read More

ट्रम्पलाई चीनको जवाफ- हामी लड्न चाहदैनौं र डराएको पनि छैनौं

काठमाडौँ । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर निर्णयको कडा आलोचना गरेको छ । चीनले अमेरिकाले मनमानी दोहोरो मापदण्ड अपनाएको आरोप लगाउदै चीनले हाल जारी रहेको द्विपक्षीय वार्तालाई असर पुग्ने बताएको छ ।

ट्रम्पले शुक्रबार नोभेम्बर १ देखि चीनबाट उत्पन्न हुने सबै उत्पादनहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रणको पनि घोषणा गरेका छन् । ट्रम्पले यो कदम चीनको आक्रामक व्यापार नीतिहरूको प्रतिक्रिया भएको बताएका छन् । उनले बेइजिङले दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ-  ‘अमेरिकी निर्णयले चीनको हितलाई गम्भीर रूपमा हानि पुर्‍याउनेछ र द्विपक्षीय व्यापार वार्तालाई बिगार्नेछ । चीन लड्न चाहँदैन, तर यो डराएको पनि छैन । आवश्यक परेमा, प्रतिशोधात्मक उपायहरू लिइनेछ ।’

बेइजिङले अमेरिकाले निरन्तर चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध र निर्यात नियन्त्रण सूचीमा राखिरहेको आरोप पनि लगाएको छ, जसले व्यापार सम्बन्धलाई अस्थिर बनाउने बताएको छ । चीनले चेतावनी दिदै अमेरिका पछि हटेन भने, यसले अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र आफ्नो हितको रक्षा गर्न ठोस कदम चाल्ने बताएको छ ।

यो तनाव यस्तो समयमा बढेको छ जब ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को महिना दक्षिण कोरियामा भेट्ने अपेक्षा गरिएको थियो । तर, ट्रम्पले अब बैठक रद्द गर्ने धम्की दिएका छन् ।

Read More

ओली निवासमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक शुरु भएको हो ।

यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । सो बैठक आज शुरु भएको छ ।

Read More