२०८३ बैशाख १३

प्रधानमन्त्रीको नाममा सहयोग उठाइएको भन्दै प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सुशिला कार्कीको नाम लिएर विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक सहयोग सङ्कलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यलयले प्रधानमन्त्री तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरेको छ ।

साथै यस कार्यालय र प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरेको छ ।

साथै, नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

त्यस्तै हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ असोज २८ गते मंगलबार: आजको राशिफल

आज असोज २८ गते मंगलबार ई.सं. २०२५ अक्टोबर १४ नेपाल सम्बत ११४५ कौलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष अष्टमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: ०३ बजे र सूर्यास्त साँझ ५ बजेर ३८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर २२ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भौमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ- Aries)
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- Taurus)
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह- Gemini)
नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो- Cancer)
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे- Leo)
जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो -Virgo)
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते -Libra)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु -Scorpio)
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -Sagittarius)
मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि- Capricorn)
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द -Aquarius)
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला, नत्र पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि -Pisces)
मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ ।

Read More