२०८३ बैशाख १३

विश्वकप लिग-२: अमेरिकाको लगातार दोस्रो जित

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले युएईलाई ४ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

युएईले दिएको २१२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि मिलिन्द कुमारले सर्बाधिक ७१ रन बनाए भने कप्तान मोनांक पटेलले ५० तथा शुभम रंजनेले अविज्ती ४६ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकीले सर्बाधिक ३ विकेट लिए भने सिमरनजीत सिंहले २ तथा हैदर अलीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो । युएईका लागि हर्षित कौशिकले सर्बाधिक ५३ रन बनाए भने कप्तान राहुल चोपडाले ३६, मुहमद शाहडाडले ३४ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलरसौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंह र शुभम रंजानेले २-२ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ मा अमेरिकाको २२ खेलमा ३२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै युएईको भने १७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

अब सिरिजको अर्को खेल नेपाल र युएईबीच विहिबार हुने तालिका रहेको छ ।

Read More

माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरिएको छ । गृहमन्त्रालयले सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गरेको हो ।

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा लागेका कारण पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका सुरक्षाकर्मी फिर्ता गरिएको छ । हाल उनका सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना सुरक्षाकर्मी रहेका थिए ।

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर मुद्धा दायर गरेको थियो ।

सो मुद्धामा भएको थुनछेक बहसपछि नेपाल गत असार ११ गते विशेष अदालतले तोकेको ३५ लाख धरौटी तिरेर रिहा भएका थिए ।

Read More

बालेनले मागे गृहमन्त्री अर्यालको राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उनको सर्कलले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको तथ्य बाहिरिएको छ ।

गृहमन्त्री अर्यालले क्षमता देखाएर पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकलगायतलाई जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ नगरेको भन्दै राजीनामा मागिएको हो ।

बालेन र उनको सर्कलले गृहमन्त्री अर्यालको राजीनामा मागेर ओली, लेखकलगायतको गिरफ्तारीको लागि दवाब सिर्जना गरेको स्रोतले बतायो ।

गृहमन्त्री अर्यालय पेशाले कानून व्यवसायी हुन् । उनी गृहमन्त्री हुनुभन्दा अघि काठमाडौं महानगरको कानूनी सल्लाहकार थिए । विश्वासपात्र मानिने अर्याललाई गृहमन्त्रीमा बालेनले नै सिफारिस गरेको चर्चा थियो । तर, अहिले ओलीलगायतलाई पक्राउ गर्न नसकेको भनी उक्त समूहमा गुनासो चुलिएको छ ।

बालेनका समेत विश्वासपात्र मानिने रुटिन अफ नेपाल बन्द पेजका सञ्चालक भिक्टर पौडेलले समेत गृहमन्त्री अर्यालको राजीनामा लागि आफ्नो सर्कलमा सर्कूलर गरेको बताइएको छ । जेन–जी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग सर्वसाधारणले समेत उठाउन थालेका छन् ।

यता भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न बनेको आयोगले ओली, लेखकसहित ५ जनाको राहदानी रोक्का राख्ने र उनीहरुले काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकिसकेको छ ।

यता काठमाडौं महानगर प्रमुख शाहले पनि प्रधानमन्त्री कार्कीलाई पटक–पटक भेटेर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई पक्राउ गर्नका लागि दवाब दिएको बताइएको छ । यसो त बालेन र ओलीबीच सुरुवाती दिनदेखि नै राम्रो सम्बन्ध छैन । ओलीले बालेनको र बालेनले ओलीको आलोचना, आरोप–प्रत्यारोप गर्दै आएका छन् ।

Read More

प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको महानिरीक्षक खापुङ्गबाट उद्‍घाटन

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । सो अवसरमा महानिरीक्षक खापुङ्गले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए । 

उक्त अवसरमा महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गरे । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे । 

महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

उद्‍घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, संचारकर्मी, स्थानीयबासीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

Read More

केन्यामा हवाई दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौँ । केन्यामा हवाई दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । प्रसिद्ध मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै गर्दा विमान केन्याको क्वाले क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि विमान पूर्ण रूपमा जलेर खरानी भयो, जसबाट कोही पनि जीवित रहेनन् ।

विमानमा आठ हंगेरी नागरिक, दुई जर्मन नागरिक र एक केन्याली पाइलट रहेको बताइएको छ । 

स्थानीय समय अनुसार मंगलबार बिहान ५:३० बजे विमान क्वालेको पहाडी र घना जंगली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । अधिकारीहरूका अनुसार, डियानी हवाई पट्टीबाट उडान भरेको लगभग ४० किलोमिटर पछि विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको समयमा तटीय क्षेत्रमा भारी वर्षा भइरहेको थियो, जसले गर्दा दृश्यता घटेको थियो । एयरलाइन्सले उडान भरेपछि पाइलटले नियन्त्रण टावरसँग सम्पर्क नगरेको र सम्पर्क स्थापित गर्ने लगभग ३० मिनेटको प्रयासपछि विमानको भग्नावशेष फेला परेको बताएको छ ।

मोम्बासा एयर सफारी एयरलाइन्सले एक विज्ञप्तिमा दुर्घटनाको पुष्टि गरेको छ । कम्पनीले विमानमा रहेका सबै यात्रुको मृत्यु भएको बताएको छ । स्थानीयहरूले बिहान ठूलो विस्फोटको आवाज सुनेको र घटनास्थलमा पुग्दा विमान जलिरहेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । 

मासाई मारा राष्ट्रिय रिजर्भ अफ्रिकाको प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये एक हो, जसले प्रत्येक वर्ष हजारौं विदेशी पर्यटकहरूलाई जंगली जनावरहरूको बसाइँसराइ हेर्न आकर्षित गर्दछ । रिजर्भ डियानीबाट दुई घण्टाको सिधा उडान हो । दुर्घटनाले केन्याको उड्डयन सुरक्षाको बारेमा नयाँ प्रश्नहरू उठाएको छ । २०१८ को अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा प्रतिवेदनले दुर्घटना अनुसन्धानमा केन्यालाई विश्वव्यापी औसतभन्दा तल राखेको छ, जसले देशको उड्डयन निरीक्षणको बारेमा प्रश्नहरू उठाएको छ ।

Read More

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब कमलादीस्थित स्काइवाक टावरमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा Wonders Nepal Pvt. Ltd र एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले स्काइवाक टावरको सेवा उपयोग गर्दा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गरेमा २५ प्रतिशत छुट पाउनेछन्।

यो सहकार्यले ग्राहकहरूलाई मनोरञ्जन सेवामा विशेष सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने बैंकको उद्देश्य रहेको जनाएको छ। बैंकका अनुसार, यस प्रकारका सहकार्यले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल अर्थतन्त्र निर्माणतर्फ योगदान पुर्‍याउनेछ।

Read More

सरकार, दल र जेनजी अगुवाहरुबीच छलफल हुदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरकार, दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बोलाएकी छन् ।

उनले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बुधबार बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ ।

यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।

Read More

चक्रवात ‘मोन्था’ को प्रभाव नेपालका यी जिल्लामा देखिने

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा असर देखिने बताएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको प्राधिकरणले जानकारी दिएको छ । 

उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रभावित हुनेमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला रहेका छन् भने मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला रहेका छन् । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला रहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै मौसम विभागका अनुसार कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ ।

प्राधिकरणको अनुरोध: 
सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

क. अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्ने ।

ख. डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।

ग. प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने। जोखिम देखिए सुरक्षित स्थानमा सर्ने।

घ. धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।

ङ. प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।

च. तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।

छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।

Read More

तिलिचोमा फसेका ७५० जनाको सशस्त्रबाट उद्धार

काठमाडौँ । मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गएरातीदेखि परेको हिउँको कारण आउनसक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गरानुकोसाथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र  सावधानी अपनाउन अनुरोध गरेको छ । सो टोलीले यात्रुहरुको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएराति देखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।

यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरुको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथीसम्म पुगेको छ ।

हिउँमा फसेकाहरुलाई सुरक्षित स्थानान्तरण तथा उद्धार
असोज ११ गते रातीदेखि हिमाली भेगका केही जिल्लाहरुमा परेको हिउँका कारण फसेका व्यक्तिहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तर गरेको छ । हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङ्गको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म सुरक्षितकासाथ ल्याईएको छ भने ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ ।

मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाईएको छ । त्यसैगरी काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।

तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी वेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो ।

मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको स्थापना भएर उच्च भुभाग खोज तथा उद्धार तालिम समेत संचालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ ।

Read More

फिल्म ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए । ‘हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,’ निर्माता तामाङले भने, ‘अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ ।’

भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए । ‘रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,’ निर्माता तामाङले भने, ‘स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि मन पराइदिनु भएको छ ।’

दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए ।  

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ । 

Read More