काठमाडौं । यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै तीन दिन देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहने जानकारी दिएको हो ।
महाशाखाले विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली , मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हो ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत्पश्चात् विस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ।
हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।
बिभागले बर्षा र हिमपातको कारणले देशका नदीनालामा अक्सिमिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवनमा प्रभाव पर्न सक्ने सम्भावना रहेकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
