२०८३ बैशाख १३

प्रचण्डको अपिल- राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध बनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरे ।

प्रचण्डले भनेका छन्- ‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ । राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।’

प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । साथै, उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरे ।

प्रचण्डले भनेका छन्- ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ ।’

Read More

कति शक्तिशाली छ रुसको आणविक शक्तिले चल्ने बुरेभस्टनिक मिसाइल ?

काठमाडौँ । रुसले विश्वको पहिलो आणविक शक्तिले चल्ने क्रूज मिसाइल, बुरेभस्टनिक-९एम७३९ को सफलतापूर्वक परीक्षण गरेको छ । यो मिसाइलको दूरी असीमित भएको दाबी गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार एक भिडियो कन्फरेन्सको क्रममा सबै परीक्षणहरू सम्पन्न भएको बताए । उनले संसारको कुनै पनि देशसँग यस्तो मिसाइल नभएको दाबी गरेका छन् । पहिले, धेरै विज्ञहरू यस्तो हतियार विकास गर्न सकिन्छ भन्नेमा विश्वस्त थिएनन्, तर अब यो वास्तविकतामा परिणत भएको छ ।

रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ मा मिसाइलको सफलतापूर्वक परीक्षण गरिएको बताए । यस परीक्षणको क्रममा, बुरेभस्टनिकले लगभग १५ घण्टा उडान भरेर १४ हजार किलोमिटरको दूरी तय गरेको थियो । गेरासिमोभले यो मिसाइलको अधिकतम दायरा नभएको र यो जति टाढा पनि यात्रा गर्न सक्ने बताएका छन् ।

बुरेभस्टनिक (९एम७३०) परम्परागत इन्धन इन्जिनको सट्टा आणविक रिएक्टरद्वारा संचालित क्रूज मिसाइल हो । यस कारणले गर्दा, यो मिसाइल लगभग असीमित दायरामा उड्न सक्छ र शत्रुको क्षेप्यास्त्र विरोधी प्रतिरक्षा प्रणालीबाट बच्न सक्षम छ ।

अमेरिकी वायु सेनाको रिपोर्ट अनुसार, एक पटक मिसाइल सेवामा प्रवेश गरेपछि, रूससँग १० हजारदेखि २० हजार किलोमिटरको अन्तरमहादेशीय आक्रमण दायरा प्रक्षेपण गर्ने क्षमता हुनेछ । यसले रूसलाई अमेरिकाको कुनै पनि भागबाट आक्रमण गर्न सक्षम बनाउनेछ । ब्यालिस्टिक मिसाइलहरू सामान्यतया यस्तो दूरीमा आक्रमण गर्न प्रयोग गरिन्छ । यो यस्तो दायरामा सक्षम पहिलो क्रूज मिसाइल हो ।

सामान्य ब्यालिस्टिक मिसाइलहरू अन्तरिक्षमा एक निश्चित मार्ग पछ्याउँछन् र ट्र्याक गर्न सकिन्छ । यद्यपि, बुरेभेस्टनिक केवल ५०-१०० मिटरको उचाइमा उड्छ र निरन्तर मार्ग परिवर्तन गर्दछ, जसले गर्दा यसलाई रोक्न लगभग असम्भव हुन्छ । क्षेप्यास्त्र प्रक्षेपण गर्न ठोस-इन्धन रकेट बूस्टर प्रयोग गरिन्छ । प्रक्षेपण पछि, यसको आणविक रिएक्टर सक्रिय हुन्छ, र त्यसपछि यो आणविक शक्तिमा चल्छ । यसमा एउटा सानो आणविक रिएक्टर वा आणविक शक्ति एकाइ हुन्छ, जसले मिसाइललाई असीमित दूरी उडान गर्न सक्षम बनाउँछ ।

यो क्षेप्यास्त्र जमिनमा आधारित प्रक्षेपण प्याड प्रयोग गरेर प्रक्षेपण गरिएको हो । रोयटर्सको अनुसन्धानका अनुसार, यसको प्रक्षेपण स्थल रूसको राजधानी मस्कोबाट ४७५ किलोमिटर उत्तरमा हुन सक्छ । त्यहाँ नौ नयाँ प्रक्षेपण प्याडहरू निर्माण भइरहेका छन् ।

क्षेप्यास्त्र विज्ञहरुले रूसले बुरेभेस्टिन क्षेप्यास्त्रको सफल परीक्षण गर्नु चिन्ताको विषय भएको बताएका छन् । यो आफैमा सानो चेर्नोबिल भएको बताएका छन् । चेर्नोबिल युक्रेनको एउटा शहर हो । सोभियत युगमा, अप्रिल २६, १९८६ मा, यो इतिहासको सबैभन्दा खराब आणविक दुर्घटनाको स्थल थियो । चेर्नोबिल आणविक ऊर्जा संयन्त्रको एक रिएक्टर विस्फोट भयो, जसले युक्रेन, बेलारुस, रूस र युरोपका धेरै भागहरूमा विकिरण फैलायो ।

यो क्षेप्यास्त्र एकदमै खतरनाक र खतरनाक कुरा हो । यो विज्ञान-कथा चलचित्रबाट सिधै बाहिरिएको हतियार हो, जसले विश्वव्यापी अस्थिरता बढाउनेछ र हतियार नियन्त्रणलाई अझ गाह्रो बनाउनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युद्ध रोक्न आग्रह गरेका छन् । सोमबार एक विज्ञप्तिमा उनले क्षेप्यास्त्र परीक्षणलाई गलत भनेका छन् । ट्रम्पले एक हप्तामा समाप्त हुने भनिएको युद्ध चार वर्ष पुरानो भएको छ यसमा ध्यान दिनुपर्छ। ट्रम्पले बारम्बार गोल्डेन डोम मिसाइल प्रणालीको उल्लेख पनि गरिरहेका छन्, जुन उनी अमेरिकालाई भविष्यका आक्रमणहरूबाट जोगाउन आवश्यक रहेको विश्वास गर्छन् । गोल्डेन डोम जस्ता रक्षा प्रणालीहरू बुरेभेस्टिक जस्ता खतरनाक हतियारहरूबाट जोगाउन डिजाइन गरिएको छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले यो मिसाइलसँग रूसले अझै पनि धेरै प्राविधिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ । सबैभन्दा ठूलो चुनौती भनेको मिसाइलको आणविक इन्जिन सुरक्षित र भरपर्दो रूपमा सञ्चालन हुने कुरा सुनिश्चित गर्नु भएको बताएको छ ।  मिसाइलको विकास धेरै प्राविधिक कठिनाइहरूले ग्रस्त रहेको र २०१६ देखि दर्जनौं परीक्षणहरूले आंशिक सफलता मात्र पाएको बताएको छ । २०१९ मा, नेनोक्षा क्षेत्रमा परीक्षणको क्रममा भएको विस्फोटमा सात वैज्ञानिकको मृत्यु भएको थियो र नजिकैको सेभेरोडभिन्स्क शहरमा विकिरणको स्तर बढेको थियो । रूसले पछि स्वीकार गर्‍यो कि दुर्घटना आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षणको क्रममा भएको थियो  ।

Read More

रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा गिउलियानो सिमोने र एलेक्स बाएनाले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको १० खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी रियल बेटिसको १० खेलमा १६ अंक रहेको छ हाल छैटौं स्थानमा छ ।

Read More

उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो छठ पर्व

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।  

चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए ।  हिजो साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।  

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिएको छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

Read More

मुस्ताङ प्रशासनको आग्रह: उच्च हिमाली पदमार्गमा यात्रा नगर्नू

मुस्ताङ । मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ । त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताएका छन् । 

सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ।

Read More

विश्वकप लिग- २: आज अमेरिका र युएईबीच खेल हुदै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

हाल विश्वकप लिग-२ मा अमेरिका २१ खेलमा ३० अंकसहित शिर्ष स्थानमा छ भने युएई १६ खेलमा ६ अंकसहित पुछारमा रहेको छ । त्यस्तै नेपाल भने १७ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका र युएईबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ७ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न गरिदै

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न हुदै छ । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।  चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए । 

त्यस्तै षष्ठीका दिन अर्थात् विहिबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।  

षष्ठीका दिन हिजो विहिबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।   त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिन्छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान, यी सात जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने र  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

आज दिउसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

सात जिल्लामा सतर्क रहन आग्रह: 
विभागले आजराती देखि भोली बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ । विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।

Read More