२०८३ बैशाख १३

इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की -दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम जेभी तथा शेयरहोल्डर सम्झौतापत्र मा हस्ताक्षर भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । 

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ । 

कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्धिपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरे । उनले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए । 

भारतीय विद्युतमन्त्री खट्ठरले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल—भारतबीचको विद्युत विनिमयलाई सारभूत रुपमा थप सुदृढ हुनुकासाथै क्षेत्री ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्नेहुँदा यसले दुर्व देशको आर्थिक बृद्धिमा योगदार पुर्याउने उल्लेख गरे । 

मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरुमा स्वपूँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । 

कार्यक्रममा मन्त्री घिसिङले दुईवटा थप अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए । 

दुईवटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ । 

दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ । 

नेपाल भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको छ । 

त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालमा  प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमश २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाटनेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ । 

नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो । त्यसपछि प्राधिकरण र बावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ । बुटवल—गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ । 

त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ दैनिक रुपमा एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको छ ।

Read More

शक्तिशाली आँधी मेलिसा जमैका पुग्यो, ६ लाखलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । शक्तिशाली आँधी मेलिसा क्यारेबियन राष्ट्र जमैकामा पुगेको छ । मेलिसालाई शताब्दीको सबैभन्दा खतरनाक आँधीको रूपमा वर्णन गरिएको छ ।

जमैकाभरि ३०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । सरकारले ६ लाख मानिसहरूलाई सुरक्षितस्थानमा सारेको बताएको छ । आँधीको प्रभावका कारण जमैकामा तीन जना, छिमेकी हैटीमा तीन जना र डोमिनिकन रिपब्लिकमा एक जनाको मृत्यु भएको छ । यो आँधी यति शक्तिशाली छ कि यसले सम्पूर्ण देशहरूलाई तहसनहस पार्न सक्ने चेतावनी दिइएको छ ।

श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्र संघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधी घोषणा गरेको छ । यो आँधी पहिले हैटी र डोमिनिकन रिपब्लिकमा आएको थियो र अहिले जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ ।

यसको अवतरणको समयमा, प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा भइरहेको थियो । यो हावाको गति यति बलियो छ कि यसले ठूला भवनहरू ध्वस्त पार्न सक्छ । यसले बिजुली र सञ्चार प्रणालीलाई पनि नष्ट गर्न सक्छ ।

Read More

गाजामा इजरायलको हवाई हमला, ३० भन्दा बढीको मृत्यु

काठमाडौँ । इजरायलले गाजामा फेरी हवाई आक्रमण गरेको छ, जसमा ३० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको रिपोर्ट छ ।

इजरायलले हमासले पहिले पनि युद्धविराम उल्लङ्घन गरेको र गाजामा तैनाथ आफ्ना सेनामाथि आक्रमण गरेको दाबी गरेको थियो । प्रतिक्रियास्वरूप यो कारबाही गरिएको थियो । यद्यपि, हमासले आरोप अस्वीकार गर्दै युद्धविरामको पालना गरिरहेको बताएको छ ।

इजरायली हवाई आक्रमणले गाजा शहर, खान युनिस, बेइत लाहिया र अल-बुरैज जस्ता घना बस्ती भएका क्षेत्रहरूलाई लक्षित गरेको थियो । गाजा अस्पतालका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि थिए । गाजा शहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको थियो । २० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।

इजरायल र हमासबीच तनाव फेरि एक पटक बढेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकहरूमाथि आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।

उनले हमासले रेडलाइन पार गरेको र अब भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध सैन्य कारबाहीको आदेश दिएका छन् । 

अर्कोतर्फ, हमासले सबै आरोपहरू अस्वीकार गरेको छ । संगठनले कुनै पनि आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।  नेतान्याहूले युद्धविराम सम्झौता अन्तर्गत हमासले गलत शव फिर्ता गरेको पनि आरोप लगाएका छन् । नेतान्याहूले यसलाई सम्झौताको स्पष्ट उल्लङ्घन भनेका छन् । सम्झौतामा हमासले सबै इजरायली बन्धकहरूको शव सकेसम्म चाँडो फिर्ता गर्नुपर्ने थियो ।

यसैबीच, इजरायली आक्रमणका कारण हमासले कैदीहरूको शव फिर्ता गर्ने आफ्नो कार्यक्रम रोकेको छ । यसअघि मंगलबार हमासले अर्को शव फिर्ता गर्ने बताएको थियो। खान युनिसको खाडलबाट सेतो झोला बरामद गरिएको थियो र एम्बुलेन्समा राखिएको थियो, तर त्यसमा के छ भन्ने कुरा अझै स्पष्ट छैन ।

इजरायली मिडियाका अनुसार, नेतान्याहूले गाजामा मानवीय सहायता रोक्ने, कब्जा विस्तार गर्ने वा हमास नेताहरू विरुद्ध हवाई आक्रमण गर्ने जस्ता अन्य विकल्पहरू पनि विचार गरिरहेका छन् । अर्कोतर्फ, इजरायली सेनाले मंगलबार बिहान वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारेर तीन प्यालेस्टिनी लडाकुहरूलाई मारेको छ । इजरायलले उनीहरू आतंकवादी गतिविधिमा संलग्न रहेको बताएको छ ।

Read More

मनाङका विभिन्न स्थानबाट दुई सय विदेशी पर्यटकसहित १५ सय भन्दा बढीको उद्धार

मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुबाट हिमपातका कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटकसहित करिब १५ सय जनाको उद्धार गरिएको छ । 

नेपाली सेनाका अनुसार कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई मनाङ्गस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको छ ।

हिमपात र बर्षका कारण हाल प्रशासनले उच्च हिमाली क्षेत्रमा जान रोक लगाएको छ भने पहिलानै त्यहाँ पुगेकाहरुलाई सुरक्षित स्थानमा रहन र सुरक्षा निकायको सम्पर्कमा रहन आग्रह गरको छ ।

Read More

प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन, को को छन् न्यायाधीश ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित  न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । 

संवैधानिक इजलासमा आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध १६ रिटमाथि प्रारम्भिक सुनुवाई शुरु गर्ने भएको छ ।

अधिवक्ताहरू शेरबहादुर रोकाया, विमल पोखरेल,आभाष पोखरेल, दल बहादुर धामी, खड्कबहादुर शाहलगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर  गरेका थिए ।

सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र फागुन २१ गते चुनावको मिति तोकेरनै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

Read More

सुन तोलाको सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार  सुन तोलाको २ लाख ३७ हजारमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २९२० मा कारोबार भएको थियो ।

Read More

हेलिकप्टर दुर्घटनामा परेका पाइलट सकुशल, लुक्ला पुर्याइयो

काठमाडौँ । सोलुखुम्बु लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट विवेक खड्का सकुशल रहेका छन् ।

लुक्ला विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार खड्कालाई कैलाश एयरको हेलिकप्टरले उद्धार गरेर लुक्ला विमानस्थल पुर्याएको छ । उनी सकुशल रहेको र अस्पताल जान पर्ने अवस्थामा समेत नरहेको बताइएको छ ।

हेलिकप्टर दुर्घटनापछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ । 

Read More

जनचाहना पूरा गर्न कांग्रेस तयार छ, संसद् पुनर्स्थापना होइन निर्वाचन चाहिन्छ : पूर्वमन्त्री रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले पार्टीको १५औं महाधिवेशन मंसिर अन्तिम वा पुुसभरीमा हुने सम्भावना रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दैै उनले कांग्रेसको नियमित महाधिवेशन नै हुने बताएका हुन् । नियमित महाधिवेशनमा जानका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि तयार भइसकेको उनले स्पष्ट पारे ।

पूर्वमन्त्री रिजालले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिइसकेको र उनले पनि महाधिवेशन चाहेको बताएका छ । कांग्रेसले आफूलाई सुधार गर्दै भविष्यमा आम जनताको इच्छा, आकांक्षा पूरा गर्नेतर्फ लाग्ने उनले स्पष्ट पारे ।

साथै, प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सरकार, जेन–जी समूह र राजनीतिक दलबीचको त्रिपक्षीय वार्तामा कांग्रेस सहभागी हुने पनि उनले बताए । कांग्रेस चुनावमा जान तयार रहेको र आजको आवश्यकता भनेको निर्वाचन नै रहेको उनले बताए । ‘निर्वाचनको विकल्प छैन । संसद् पुनर्स्थापना कांग्रेसको एजेण्डा होइन । निर्वाचनमै जानुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारले वातावरण बनाइदिनुपर्यो,’– उनले भने ।

Read More

जेनजी आन्दोलनमा लापरबाही गर्ने प्रहरीमाथि कारबाही गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालय असुरक्षित हुने, हातहतियार लुटिने र स्वयं प्रहरी कर्मचारकाे मृत्यु हुने स्थितिका जिम्मेवार प्रहरीमाथि कारबाहीको तयारी गरेकाे छ।

सरकारले प्रहरी विशेष अदालतको गठन गरेर उनीहरुलाई अनुसन्धानमा तान्ने भएको हो । गृह मन्त्रालय स्रोतका अनुसार ३ तहको प्रहरी अदालत गठन गरेर पदाधिकारी तोकिनेछ । सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न र दोषीलाई कारवाही सिफारिस गर्नका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोग गठन गरेको छ।

उक्त आयोगले प्रहरीले फौजदारी कसुरसहित उसले गर्नुपर्ने कामहरुमा कुनै बाधा नभएको जनाएको थियो । त्यसैले प्रहरी विशेष अदालत गठनमा जाँचबुझ आयोग बाधक नभएको मन्त्रालय स्रोतले जनाएकाे छ। त्यस्तो अदालत हप्ता–दश दिनभित्रै गठन गर्ने गरी आन्तरिक तयारी भइरहेको स्रोतले बताएकाे हाे ।

नेपाल प्रहरी ऐन– २०१२ को दफा ३६ ले गरेको व्यवस्था अनुसार प्रहरी विशेष अदालतको स्थापना हुन लागेको छ।

Read More

ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।

ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदैछन् । उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, क्षेप्यास्त्रहरू ठाडो रूपमा प्रहार गरिएका थिए र लगभग ७,८०० सेकेन्डसम्म हावामा रहेको उल्लेख गरेको छ ।

दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत हालसम्म देखिएको छैन । ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन् । दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाबमा छ ।

Read More