२०८३ बैशाख १३

उद्योगमा विद्युत् कटौती तुरुन्त रोक्न सरकारलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।

उनले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए । विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसंग आग्रह समेत उनको छ ।

यस्तै अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यक्ता भएको बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथी भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको बताए ।

अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पूँजी समेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।
‘आन्तरिक र बाह्य लगानीको लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ । देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनका समयमा आक्रमणको सिकार हुनु दुखःद हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ । र यसको लागि सरकारले उचित पहल गर्नु पर्दछ ।’उनले भने

सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण लगायतका विषय गरेका निर्णयहरु सराहनीय रहेपनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु पर्नेमा अध्यष ढकालले जोड दिए ।

Read More

डिजेल-मट्टीतेलको मुल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि  लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ । 

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४४ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ७ डलरले बढाइएको निगमले जनाएको छ ।

Read More

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । 

बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन्  । 

माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् । 

Read More

ओलीको अपिल- एमाले निर्माणमा योगदान पुर्याएका सबै तपाइको पसिना र रगतले बनेको घर फर्किनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्माणमा योगदान पुर्याएका सबै नेता कार्यकर्तालाई घर फर्किन आव्हान गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै ओलीले विगतमा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिडेका सबै नेता कार्यकर्तालाई हृदयदेखि आफ्नै घर फर्किन आव्हान गरेका हुन् । ओलीले यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो भन्दै देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गर्न काँधमा काँध मिलाएर अघि बढ्न अपिल गरेका छन् ।

ओलीले फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको भन्दै लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको समयमा अलमलमा नपरेर आफ्नै घरमा फर्किन आग्रह गरेका छन् । 

विशेष गरि नेकपा एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकताको विपक्षमा एक दर्जनभन्दा बढी नेताहरु उभिएको समयमा ओलीले यस्तो अर्थपूर्ण अपिल गरेका हुन् ।

ओलीले भनेका छन्: 
दिदीबहिनी तथा दाजुभाइहरू, कमरेडहरु ! 

निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले)ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौँ प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौँ उदाहरण छन्। 

एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।

आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौँ। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।

त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —

जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ — देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ।

हामी एउटै परिवार हौँ — हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु- कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा — हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।

Read More

भदौ २४ गतेको आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट र बिक्रीमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न गरेका पाँच जना पक्राउ परेका छन् । 

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८-९ एक थान पेस्तोल, पेस्तोलको म्याग्जिन एक थान, पेस्तोलमा लाग्ने गोली १५ थानसहित पाँच जनालाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको छ । 

पक्राउ परेका मानिसहरूमा धादिङ, धुनिवेशी गाउँपालिकाका २१ बर्षिय कृष्ण गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, काठमाडौं महानगरपालिका १५ भगवापाउँका  २५ बर्षिय राजन देउला हतियार खरिद तथा बिक्री वितरणमा संलग्न, देश भारत, मोतिहारी सितामणी घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ बर्षिय अकबर खान हतियार खरिद तथा बिक्री वितरणमा संलग्न, काठमाडौं महानगरपालिका १५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ बर्षिय सुमिन शाक्य (हतियार खरिद तथा बिक्री वितरणमा संलग्न) र काठमाडौं महानगरपालिका ३१ बानेश्वर घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ बर्षिय प्रभात मल्ल (हतियार खरिद गर्ने) रहेका छन् ।

Read More

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार जादै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा भ्रमणमा जाने भएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल कार्तिक १७ गते त्यसतर्फ जाने भएका छन् ।  

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका रहेको छ ।  

संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहेको छ ।

भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहने छन् ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

Read More

विप्लव नेतृत्वको नेकपामा विवाद, चिरन भन्छन- एकताको बिषयमा हाम्रो कुरा मिलेन

काठमाडौँ । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा विवाद देखिएको छ ।

विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएपछि अर्को समुह चिरन पुन (मिलन सी) को नेतृत्वले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । 

विप्लवसहितका नेताहरु प्रचण्डको नेतृत्वमा माओवादीमा एकता गर्न नमानेपछि चिरन पक्ष भने माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएको छ ।

विवादका विषयमा लेख्दै चिरन पुनले भनेका छन्: 
आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि  छिट्टै  एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।

माओवादी केन्द्रसँग एकता गर्ने तयारी भएको बेला एकीकृत समाजवादी फुटको संघारमा पुगेकै समयमा विप्लव नेतृत्वको नेकपामा पनि विभाजनको रेखा कोरिएको छ ।

Read More

लगानी बोर्ड र उद्योग परिसंघको आयोजनामा सार्वजनिक-निजी क्षेत्र संवाद सम्पन्न

काठमाडौँ । गत भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ ।

लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आज शुक्रबार अर्थ मन्त्रालय सभा हलमा आयोजित संवाद अर्थमन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यता एवं गृह मन्त्री ओम प्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अनिल सिन्हा, नेपाल राष्ट्र बै‌कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

सो छलफलमा अर्थमन्त्री खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरु निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको बताए । उनले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे । 

यस्तै गृहमन्त्री अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतीको विषयलाई गृह मन्त्रालयले गम्भिर रुपमा लिएको बताए । उनले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको बताहुदै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताए । 

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीब्र गतिमा काम गरिरहेको बताए । कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । 

नेपाल राष्ट्र बै‌कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए । 

कार्यक्रममा स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताए ।

मुलुकमा भ्रष्टाचार निवारण, पारदर्शिता एवं सुशासन बढाउन सार्वजनिक निकायबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउन सार्वजनिक सेवाहरूलाई तीव्र गतिमा डिजिटलाइज गरिनुपर्नेमा जोड दिए ।  

उनले देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरुले समेत देखाइसकेको भन्दै हालको चुनौतीलाई पनि अवसरको रुपमा लिन सकिने बताए । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यक्रमको महत्वबारे जानकारी गराउदै परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरूका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढङ्गले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘लगानी बोर्डले अब लगानीकर्ताका लागि ‘एकल बिन्दु सेवा प्रणाली लागू गर्दैछ । जसअन्तर्गत कुनै पनि निजी लगानीकर्ताले लगानी बोर्डमा सिधै आयोजना दर्ता (आवदेन) गर्न सक्नेछ, र उक्त आयोजनाको स्वीकृति प्रक्रिया एकीकृत रूपमा एकल बिन्दु सेवामार्फत अघि बढ्नेछ’, उनले भने । 

विगत एक वर्षयता सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, नियमावली लगायतका कानूनी संशोधन, संस्थागत सुधार र क्षमता विकासका प्रयासहरूको स्मरण गर्दै उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट वक्तव्य, साथै लगानी बोर्डको आगामी चार वर्षे रणनीति र व्यवसायिक योजनाले निर्धारण गरेका महत्त्वाकांक्षी लक्ष्यहरू हासिल गर्नका लागि उच्च प्रतिबद्धताका साथ अघि बढ्ने बताए ।

उनले हालैको जेनजी आन्दोलनले लगानीकर्ताहरूको मनोबलमा पारेको प्रभावप्रति लगानी बोर्ड र समग्र राज्य संयन्त्र पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्दै, सो चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव उत्तरकुमार खत्रीले नयाँ सरकार बनेपछि लगानीकर्ताका लागि लिएको नीति एवं सरकारले गर्न लागेको सुधारका विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले  अर्थतन्त्रका चुनौती, अवसरसँगै सरकारले निजी क्षेत्रलाई कसरी प्रोसाहन गर्न सक्छ भन्ने विषयमा प्रस्तुतीकरण गरे । 

संवादमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्षद्धय हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, जेनजी आन्दोलनका क्रममा प्रभावित उद्योग व्यवसाय प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा प्रतिनिधि, लगानी बोर्डमार्फत लगानी गरेका एवं लगानी गर्न खोजेका परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरु सहभागी थिए ।

Read More

दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेका २६ जना पक्राउ

काठमाडौँ । दाङ, महोत्तरी र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

भारतविरुद्ध अस्ट्रेलिया ४ विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजको दोस्रो खेल जितेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले परजित गरेको हो ।

भारतले दिएको १२६ रनको लक्ष्यपछाएको अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ४६, ट्राभिस हेडले २८ र जोश इंगलिसले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले १८.४ ओभरमा अलआउट हुदै १२५ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले ६८ रन बनाएका थिए भने हर्षित रानाले ३५ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता हासिल गरेको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको तेस्रो खेल आइतबार होबर्टमा हुने तालिका रहेको छ ।

Read More