२०८३ बैशाख १३

नागढुंगा-नौबिसे-मलेखु सडक बुधबारदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौँ । नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आगामी बुधबारदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

सो क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ ।

अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएक छ ।

यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रुपमा प्रयोग सक्ने जानकारी दिएको छ ।

Read More

एनपीएलमा नेपाली बलरको दबदबा, सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेलहरु सकिएका छन् ।  लिग चरणका खेल सकिदा प्लेअफमा खेल्ने चार टिमको टुंगो लागेको छ र प्लेअफको समीकरण पुरा भएको छ । 

अब सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन्  । त्यस्तै बुधबार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।

लिग चरणका खेलमा नेपाली बलरको दबदबा देखिएको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ७ खेलमा सर्बाधिक १५ विकेट लिएका छन् । त्यस्तै सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहोराले १४ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका शाहाब आलम र करण केसीले १२-१२ विकेट लिएका छन् । त्यस्तै लुम्बिनी लायन्सका शेर मल्ल र  कर्णाली याक्सका नन्दन यादवले १०-१० विकेट लिएका छन् ।

त्यस्तै कर्णाली याक्सका सोमपाल कामीले ९ विकेट लिएका छन् भने पोखरा एभेन्जर्सका विपिन खत्री र काठमाडौँ गोर्खाजका रशिद खानले ८-८ विकेट लिएका छन् ।

धेरै विकेट लिने विदेशी बलरमा श्रीलंकाका धनन्जय लक्शान र अमेरिकाका मिलिन्द कुमारले १०-१० विकेट लिएका छन् । 

त्यस्तै एक इनिंगमा काठमाडौँ गोर्खाजका शाहाब आलमले पोखरा एभेन्जर्सविरुद्ध सर्बाधिक ६ विकेट लिदै प्रतियोगितामा एक खेलमा सर्बाधिक विकेट लिएका छन् ।  

Read More

आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर मनाउने गरिन्छ । मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यो दिवस मनाइँदै आएको छ ।

यस बर्षको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा ‘मर्यादित महिनावारी: जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ’ भन्ने रहेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो सातौं संस्करण हो ।

महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने यो विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया हो । प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भए पनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा त्यहाँका संस्कृति र सामाजिक मान्यताअनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ ।

केही संस्कृतिमा महिनावारीलाई सम्मानका दृष्टिले हेरिने भए पनि विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ । यसैका आधारमा महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ । नेपालमा पनि यस्तो अन्धविश्वास रहेको पाइन्छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर २२ गते सोमबार: आजको राशिफल

आज मंसिर २२ गते सोमबार ईसं २०२५  डिसेम्बर ८ नेपाल सम्बत ११४६ थिंलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, ब्रह्म योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मनमा सार्वजनिक हीत र परोपकारको भावना पलाउन सक्छ । कमाएको धनको व्यवस्थापन गर्ने तथा व्यक्तित्वविकासका लागि प्रयास गर्ने समय छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीका स्रोतहरू बढ्नेछन्, पछिसम्म फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्यपक्षका काम गर्न अनुकूल समय छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।

Read More