२०८३ बैशाख १३

एमालेको महाधिवेशनको बन्दसत्र एक बजेदेखि

काठमाडौं । नेकपा एमालेको बन्दसत्र दिउसो १ बजेदेखि मात्र शुरु हुने भएको छ । यसअघि साढे १२ बजेदेखि शुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र १ बजेदेखि मात्र शुरु हुने भएको हो । 

एमाले नेता महेश बस्नेतले बन्दसत्रअघि अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भएको र बन्दसत्र एक बजेदेखि शुरु हुने जानकारी दिएका छन् । बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । 

सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय यस अघि नै गरिसकेको छ । महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको  छ ।

यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ । महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

Read More

कात्तिक मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक: वाणिज्यमा ग्लोबल र विकासमा गरिमा शीर्ष स्थानमा

काठमाडौँ । नेपाल राष्ट्र बैंक (एनआरबी)ले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना (कात्तिक मसान्त) सम्मको वाणिज्य तथा विकास बैंकहरूको वित्तीय कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको प्रतिवेदनले बैंकिङ क्षेत्रमा मिश्रित अवस्था देखाएको छ, जहाँ वाणिज्य बैंकहरूले बलियो नाफा कमाएका छन् भने विकास बैंकहरूको अवस्था भने दबाबमा देखिएको छ।

एनआरबीका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूले कुल रु १९ अर्ब ३७ करोड खुद नाफा आर्जन गरेका छन्। यस अवधिमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले रु २ अर्ब ५१ करोड खुद नाफा आर्जन गर्दै नबिल बैंकलाई उछिनेको हो। नबिल बैंकले रु २ अर्ब ४६ करोड नाफा कमाउँदै दोस्रो स्थानमा सीमित भएको छ।

तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले समीक्षा अवधिमा रु १ अर्ब ५८ करोड खुद नाफा कमाएको छ। यसैगरी, एभरेष्ट बैंक र एनएमबी बैंकले पनि उल्लेख्य नाफा आर्जन गर्दै उच्च नाफा गर्ने बैंकहरूको सूचीमा आफूलाई कायम राखेका छन्। यद्यपि, सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा कम नाफा कमाएको वाणिज्य बैंकको रूपमा रु १ करोड ६४ लाख मात्रै खुद नाफा देखाएको छ।

विकास बैंकतर्फ हेर्दा, कुल खुद नाफा रु १ अर्ब ७९ करोड पुगेको छ। तर, १७ मध्ये आठवटा विकास बैंकले कात्तिक महिनामा घाटा व्यहोरेका छन्, जसले यो क्षेत्र अझै चुनौतीमा रहेको संकेत गर्छ।

विकास बैंकहरूमध्ये गरिमा विकास बैंकले रु ३९ करोड ७७ लाख खुद नाफा कमाउँदै शीर्ष स्थान हासिल गरेको छ। मुक्तिनाथ विकास बैंकले रु ३८ करोड ४२ लाख नाफासहित दोस्रो स्थान ओगटेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रु ३० करोड २५ लाख नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ।

नाफाको तल्लो स्तरमा मितेरी विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन्, जसले क्रमशः रु ३ करोड ५० लाख र रु २ करोड १८ लाख मात्रै नाफा कमाएका छन्। यसैगरी, नारायणी, कर्णाली, कर्पोरेट, सिन्धु, सलापा, लुम्बिनी र एक्सेल डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा खुद घाटा देखाएका छन्।

एनआरबीको प्रतिवेदनले ठूला वाणिज्य बैंक र साना विकास बैंकबीचको नाफा अन्तर अझै फराकिलो रहेको र विकास बैंकहरू संरचनात्मक तथा सञ्चालनगत चुनौतीसँग जुधिरहेको देखाएको छ।

Read More

मस्कको कम्पनी स्पेसएक्सको मूल्याङ्कन ८०० अर्ब डलर

काठमाडौँ । एलन मस्कको कम्पनी, स्पेसएक्सले आफ्नो मूल्याङ्कन ८०० अर्ब डलर तोकिएको छ । प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसनले शेयरधारकहरूलाई दिएको ज्ञापनपत्रमा यो घोषणा गरेका हुन् । पछिल्लो दोस्रो प्रस्तावले प्रति शेयर ४२१ डलरको शेयर मूल्य निर्धारण गरेको छ ।

मूल्याङ्कन पहिले जुलाईमा ४०० अर्ब डलर निर्धारण गरिएको थियो, जब शेयर मूल्य २१२ डलर रहेको थियो । कम्पनीले २०२६ मा आईपीओ सुरु गर्ने योजना पनि सार्बजनिक गरिएको छ । स्पेसएक्सले लाखौं ग्राहकहरूलाई सेवा दिने हजारौं उपग्रहहरूको नेटवर्क, स्टारलिङ्क मार्फत कम-पृथ्वी कक्षाबाट इन्टरनेट सेवा प्रदान गर्दछ ।

स्पेसएक्सको नयाँ मूल्याङ्कन ८०० अर्ब डलर गत जुलाई मूल्याङ्कनको दोब्बर हो, जब शेयर मूल्य २१२ डलर थियो र मूल्याङ्कन ४०० अर्ब डलर थियो ।

शेयर मूल्य अब ४२१ डलर निर्धारण गरिएको छ । यो एक माध्यमिक शेयर बिक्री हो, जसमा कर्मचारीहरू र अवस्थित लगानीकर्ताहरूले आफ्नो शेयर बेच्न सक्छन् । स्पेसएक्स विश्वको सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ ।

स्टारलिङ्क स्पेसएक्सको सफलताको प्रमुख कारण हो । यसले हजारौं उपग्रहहरू मार्फत इन्टरनेट सेवा प्रदान गर्दछ । यसले विश्वका दुर्गम क्षेत्रहरूमा पनि उच्च-गतिको इन्टरनेट प्रदान गरिरहेको छ । लाखौं ग्राहकहरू पहिले नै यसमा जडान भइसकेका छन् । स्टारलिङ्कले अब कम्पनीको आम्दानीको महत्त्वपूर्ण भाग ओगटेको छ । थप रूपमा, स्पेसएक्स रकेट प्रक्षेपणमा अग्रणी छ र स्टारशिप परियोजनामा ​​काम गरिरहेको छ । यो सबैले कम्पनीको मूल्याङ्कनमा योगदान पुर्‍याइरहेको छ ।

स्पेसएक्सले २०२६ मा आफ्नो आईपीओ ल्याउने भएको छ । यस्ता रिपोर्टहरू पहिले पनि बाहिर आएका थिए, तर अब कम्पनीले यस विषयमा स्पष्ट पारेको छ । आईपीओले कम्पनीलाई महत्वपूर्ण कोष प्रदान गर्नेछ, जुन स्टारशिप जस्ता प्रमुख परियोजनाहरूको लागि प्रयोग गरिनेछ ।

मस्कले पहिले नै स्टारलिंकको आम्दानी स्थिर भएपछि आईपीओ सुरु गरिने बताएका थिए । 

आइपीओ पछि, स्पेसएक्स एक सार्वजनिक कम्पनी बन्नेछ । यसले धेरै लगानीकर्ताहरूलाई अवसरहरू प्रदान गर्नेछ । कम्पनीले मंगल ग्रह अभियानको लागि आवश्यक स्टारशिपको विकासलाई तीव्रता दिनेछ । स्टारलिङ्क विश्वव्यापी रूपमा विस्तार हुनेछ । मोबाइल फोनमा उपग्रह इन्टरनेट प्रदान गर्ने प्रत्यक्ष-देखि-बिक्री सेवा पनि आउँदैछ । यी सबैले कम्पनीलाई अझ बलियो बनाउनेछ ।

Read More

सिरियामा आईएसको आक्रमणमा तीन अमेरिकीको मृत्यु

काठमाडौँ । सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डले आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएकाको र आक्रमणकारी मारिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा जानकारी दिदै यो अमेरिका र सिरियाविरुद्ध आइएसआईएसको आक्रमण भएको र यसको कडा प्रतिक्रिया दिने बताएका छन् ।

Read More

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।

माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।  शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । 

अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । 

यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।

Read More

ट्रम्पको ‘गोल्ड कार्ड’ भिसा योजनाविरुद्ध अमेरिकाको २० राज्यमा मुद्धा

काठमाडौँ । अमेरिकी प्रशासनले ल्याएको ‘ट्रम्प गोल्ड कार्ड’ भिसाविरुद्ध क्यालिफोर्नियाको नेतृत्वमा २० अमेरिकी राज्यहरूले यस निर्णय विरुद्ध मुद्दा दायर भएको छ ।

यी राज्यहरूले भिसाको शुल्क पूर्ण रूपमा गैरकानूनी भएको र अस्पताल, विद्यालय, विश्वविद्यालय र सरकारी सेवाहरूमा पहिले नै अवस्थित डाक्टर र शिक्षकहरूको अभावलाई अझ खराब बनाउने तर्क गरेका छन् । राष्ट्रपति ट्रम्पले एक मिलियन डलर शुल्क लिएर विश्वका कुनै पनि व्यक्तिलाई अमेरिकी गोल्ड कार्ड भिसा दिने योजना घोषणा गरेको केहि दिनमै अदालतमा मुद्धा परेको हो ।   

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले यी भिसाहरू डाक्टर, नर्स, इन्जिनियर, वैज्ञानिक र शिक्षकहरू जस्ता उच्च कुशल पेशेवरहरूका लागि भएको र जब विश्वभरबाट प्रतिभा अमेरिका आउँछन्, सम्पूर्ण देशको प्रगति हुने बताएका छन् । क्यालिफोर्नियासँगै, न्यूयोर्क, इलिनोइस, वाशिंगटन र म्यासाचुसेट्स सहित २० प्रमुख राज्यहरू यस मुद्दामा संलग्न छन् । राज्यहरूले एच- १ बी भिसा शुल्क पहिले एक हजारदेखि ७ हजार ५०० डलरसम्म रहेको तर्क गर्दै कंग्रेसको स्वीकृति बिना अचानक तिनीहरूलाई बढाउनु गैरकानूनी भएको बताएका छन् ।

यसबाहेक, यी शुल्कहरू भिसा प्रशोधनको वास्तविक लागत भन्दा सयौं गुणा बढी रहेको र यसलाई प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घनको रुपमा उनीहरुले ब्याख्या गरेका छन् ।

राज्यहरूले ट्रम्प प्रशासनको यस निर्णयले सरकारी र गैर-नाफामुखी संस्थाहरूमा सबैभन्दा ठूलो प्रभाव पार्ने बताएका छन् । स्कूल, विश्वविद्यालय र अस्पतालहरूले पहिले भिसा छुटहरू प्राप्त गर्थे, तर अब प्रत्येक विदेशी शिक्षक वा डाक्टरलाई ल्याउन एक मिलियन डलर खर्च हुनेछ । यसले यी संस्थाहरूलाई उल्लेखनीय आर्थिक कठिनाइको सामना गर्नुपर्नेछ । तिनीहरूले या त सेवाहरू घटाउनेछन् वा अन्य आवश्यक कार्यक्रमहरूबाट कोष कटौती गर्नेछन् ।

अमेरिकी शिक्षा विभागको हालैको रिपोर्ट अनुसार, यस वर्ष लगभग ७५ प्रतिशत अमेरिकी स्कूल जिल्लाहरूले शिक्षकहरू फेला पार्न असमर्थ छन् । विशेष गरी विशेष शिक्षा, विज्ञान र द्विभाषी शिक्षामा शिक्षकहरूको गम्भीर अभाव छ ।

स्वास्थ्य क्षेत्रमा, २०२४ मा डाक्टर र नर्सहरूलाई लगभग १७ हजार भिसा जारी गरिएको थियो । २०३६ सम्ममा, अमेरिकाले ८६ हजार डाक्टरहरूको अभावको सामना गर्ने अनुमान गरिएको छ, जुन अवस्था ग्रामीण र गरिब क्षेत्रहरूमा पहिले नै तीव्र छ । अमेरिकी सरकारले भिसा शुल्क वृद्धिलाई जायज ठहराउँदै आएको छ । ह्वाइट हाउसले यो कदमले भिसा कार्यक्रमको दुरुपयोग रोक्ने र अमेरिकी नागरिकहरूको ज्याला र जागिरको सुरक्षा गर्ने बताएको छ । यसको विपरीत, आलोचकहरूले यस कदमले अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याउने बताउदै आएका छन् । साथै उनीहरुले पेशेवरहरू अब क्यानडा, अष्ट्रेलिया वा युरोप जस्ता देशहरूमा बसाइँ सर्ने सम्भावना रहेको चेतावनी दिएका छन् ।

साथै, ट्रम्प प्रशासनले भिसा आवेदकहरूलाई विगत पाँच वर्षको लागि उनीहरूको सामाजिक सञ्जाल रेकर्डहरू सोधिरहेको छ । यसले छानबिनलाई अझ कडा बनाउनेछ । सयले समग्रमा, दक्ष विदेशी कामदारहरूको लागि संयुक्त राज्य अमेरिका यात्रा गर्न महँगो र गाह्रो हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ को लागि आवेदन प्रक्रिया सुरु गर्ने घोषणा गरे । कार्डको मूल्य एक मिलियन डलर  छ । यद्यपि, कम्पनीहरूले कार्डको लागि २ मिलियन डलर तिर्नुपर्नेछ ।

ट्रम्पले यो उनको ‘अमेरिका फर्स्ट’ एजेन्डाको एक हिस्सा भएको बताएका छन्, जसको उद्देश्य शीर्ष प्रतिभालाई रोक्नु र कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकामा ल्याउनु हो । ट्रम्पको प्लेटिनम कार्ड पनि चाँडै सुरु हुँदैछ। यसको लागत लगभग ५० लाख डलर हुने अपेक्षा गरिएको छ । ट्रम्पले यस योजनाबाट अमेरिकाले ठुलो रकम हासिल गर्ने लक्ष्य  समेत राखेका छन् ।

Read More

एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, बन्दसत्र साढे १२ बजेदेखि

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो । 

काठमाडौँको भृकुटीमण्डपमा बिहान केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । 

बैठकपश्चात साढे १२ बजेदेखि बन्दसत्र सुरु हुने जानकारी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन् । सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय यस अघि नै गरिसकेको छ ।

महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको  छ ।

यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ । महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

Read More

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा दुवै गोल आत्मघाती गोल भएका थिए । वोल्भ्सका साम जोनस्टोन र यर्सन मोस्क्यूराले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि एक गोल टोलु अर्कोकोडारले गरेका थिए ।

यो जितपछि आर्सनलको १६ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गरेको थियो भने चेल्सीले एभर्टनलाई पनि २-० ले पराजित गरेको थियो । त्यस्तौ फुलहामले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि लिभरपुलको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ भने चेल्सीको १६ खेलमा २८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । 

Read More

अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोली चल्यो, दुई जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् । 

प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छन् । संदिग्ध व्यक्तिले कालो लुगा लगाएको र पैदलै घटनास्थलबाट भागेको बताइएको छ । प्रहरीले एक जनालाई हिरासतमा लिएको छ, तर अनुसन्धानपछि उनी घटनासँग सम्बन्धित नभएको पाइएको छ । त्यसपछि उनलाई रिहा गरिएको छ। ब्राउन विश्वविद्यालय र वरपरको क्षेत्रका लागि घरभित्रै बस्न चेतावनी जारी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलीकाण्डको बारेमा आफूलाई जानकारी गराइएको बताएका छन् ।

Read More

साफ महिला क्लब च्याम्पियनसिप: आज एपीएफको सामना कराची सिटीसँग

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो २ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा एपीएफले ३ खेलमा एक जित र एक बराबरी खेलेको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैगरी कराची सिटीले ३ खेलमा २ बराबरी र एक हार बेहोरेको छ ।

एपीएफ हाल अंकतालिकामा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने भारतको इस्ट बङ्गाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कराची सिटी ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

लिग खेलपछि शिर्ष दुई स्थानमा रहने क्लबबीच फाइनल खेल हुने छ ।

Read More