काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा बिहान केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ ।
बैठकपश्चात साढे १२ बजेदेखि बन्दसत्र सुरु हुने जानकारी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन् । सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय यस अघि नै गरिसकेको छ ।
महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।
यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ । महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।




