२०८३ बैशाख १३

जेलबाट भागेको आलोचना गर्दै रास्वपालाई रावलको प्रश्न: ‘अरूलाई चुनौती दिनुभन्दा पहिले काम गरेर देखाउनुस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै अरू दललाई चुनौती दिनु अघि आफ्नै काम देखाउन सुझाव दिएका छन्।

उनले आफ्ना अभिव्यक्तिमा राजनीतिक प्रतिस्पर्धा भाषण र आरोपमा सीमित नहुनु पर्ने स्पष्ट पारे।

आइतबार नेपाली रेडियो नेटवर्कसँगको संवादमा रावलले नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा विशाल जनसभा आयोजना गर्दै लाखौँ नागरिकलाई परिचालन गरेको दाबी गरेका हुन् । “हामीले जस्तै जनताको समर्थन मैदानमा उतारेर देखाउनुस्,” उनले लामिछानेतर्फ प्रश्न तेर्स्याए।

रावलले रास्वपाका केही नेताका अभिव्यक्ति प्रति आपत्ति जनाउँदै, नेपाललाई भारतको प्रान्त बनाउने जस्ता भाषण गर्नेहरूमाथि कारबाही गरेर चरित्र देखाउन आग्रह गरे। “आरोप लगाउनुभन्दा व्यवहारमा के गर्नुभयो, त्यो देखिनुपर्छ,” उनको भनाइ थियो।

आफूहरू पछिल्ला ५० वर्षदेखि जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै रावलले रास्वपाका नेताहरू छोटो समयमै विभिन्न विवाद र काण्डमा मुछिएको दाबी गरे। “अर्कालाई औँला उठाउनु अघि आफ्नै काम हेर्नुपर्छ,” उनले भने, “राजनीतिक मैदान सबैका लागि खुला छ, लोकतन्त्रमा कसैले कसैलाई रोक्दैन।”

भदौ २३ र २४ गते देशमा घटेका घटनालाई स्मरण गर्दै रावलले त्यसपछिको राजनीतिक अवस्थाबारे पनि टिप्पणी गरे। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई विदेशी शुभेच्छुकबाट बधाई आएको प्रसंग उल्लेख गर्दै त्यसबेला सरकारको भूमिकामाथि प्रश्न उठाए। आगामी निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय जनताले नै गर्ने उनको धारणा छ।

रावलले रास्वपाका नेताहरू केही वर्षयतामात्र राजनीतिमा सक्रिय भए पनि आफूहरू दशकौँ लामो राजनीतिक अनुभव बोकेर अघि बढेको दाबी गरे। उनले नागरिकता प्रक्रिया, सुरक्षा संयन्त्रको अवस्था, कैदीबन्दी फरार हुने घटनालगायत विषय उठाउँदै नख्खु जेल प्रकरणप्रति पनि आलोचनात्मक टिप्पणी गरे।

रावलले ताजा जनादेशमा जान तयार रहेको समेत उल्लेख गर्दै, “नेपाली कम्युनिष्ट पार्टी चुनावी प्रतिस्पर्धाका लागि तयार छ,” भनी आफ्नो पक्ष स्पष्ट पारेका छन् ।

Read More

जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबाट आन्दोलनको घोषणा

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि माइतीघरबाट आन्दोलन थाल्ने घोषणा गरेको हो । 

ढुंगानाले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउदै उनले सरकारले निर्वाचनको मात्रै रटान लगाएको तर जेनजी आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचारको फाइल खोल्न नसकेको आरोप लगाए । उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्दै निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे । 

उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको आरोप समेत लगाए ।

आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउदै ढुंगानाले देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरूपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन-जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुनेलगायतका माग राखेर आन्दोलन गर्न लागिएको जानकारी दिए ।

उनले राज्य पुनर्संरचनासहितका विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन अथवा संबिधान परिमार्जन सभा गठन गरेर सर्वसहमतिले प्रक्रिया पुर्याएर संबिधान सुधार गर्नुपर्ने माग राखेका छन् । उनले जेनजी जानआन्दोलनमा भएको मानवअघिकार उलंघन, घातक दमन, र निहत्था युवाहरुको हत्याको छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । साथै उनले न्यायालयको विश्वसनीयताका लागि केहि सम्बेदनशील विषय बाहेक अन्य सबै इजलासको प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गरेका छन् ।

Read More

इन्कलाब मञ्चको बंगलादेश सरकारलाई २४ घण्टाको अल्टिमेटम

काठमाडौँ । बंगलादेशी नेता उस्मान हादीको हत्यामा न्यायको माग तीव्र भएको छ । इन्कलाब मञ्चले बंगलादेश सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।

इन्कलाब मञ्चका सचिव अब्दुल्लाह अल जाबेरले यदि सरकारले आज साँझसम्म हादीको हत्यामा संलग्न सबैलाई पक्राउ गरेन भने आइतबार साँझ शाहबाग स्क्वायरमा अनिश्चितकालीन धर्ना सुरु हुने घोषणा गरेका छन् । हादीको अन्त्येष्टि पछि शनिबार दिउँसो ३ बजे शाहबाग स्क्वायरमा आयोजित र्‍यालीमा अल्टिमेटम जारी गरिएको थियो । इन्कलाब मञ्चले र्‍यालीको क्रममा लगभग दुई घण्टा क्षेत्र अवरुद्ध गरेको थियो ।

जाबेरले गृह सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) जहाँगिर आलम चौधरी र मुख्य सल्लाहकार खुदा बख्श चौधरीका विशेष सहायकको २४ घण्टा भित्र राजीनामा माग गरेका छन् । जाबेरले सरकारसमक्ष दुई मुख्य माग राखेका छन् । पहिलो, हादीको हत्यामा संलग्न सबैलाई पक्राउ गर्ने र दोस्रो, अवामी लिगसँग जोडिएका कथित नागरिक-सैन्य गुप्तचर एजेन्टहरूलाई पक्राउ गर्ने । जाबेरले सरकारलाई सोधे- ‘उस्मान हादीका हत्याराहरूलाई समात्न तपाईंले के गर्नुभएको छ ? यो हत्या एक व्यक्तिको काम होइन, बरु सम्पूर्ण सिन्डिकेट हो ।’

जाबेरले कुनै पनि राजनीतिक दललाई प्रत्यक्ष रूपमा शंका गरेनन्, तर कुनै पनि दल शंकाभन्दा माथि नभएको बताए । उनले हादी अवामी लिगको लागि मात्र नभई धेरै अन्य राजनीतिक दलहरूको लागि पनि समस्या बनेको बताउदै हत्याराहरूको बचाउ गर्ने र सार्वजनिक रूपमा समर्थन गर्नेहरूलाई पनि न्यायको कठघरामा ल्याउनु पर्ने बताए ।

जाबेरले आगामी चुनावलाई बिथोल्ने र शेख हसिनाको अवामी लिगलाई सत्तामा फिर्ता ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले हादीलाई ‘जनताको आवाज’ र ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमसत्ताको प्रतीक’ भनेर वर्णन गरे । 

हादीको अन्त्येष्टिमा शनिबार लाखौंको उपस्थिति थियो । हादीलाई बंगलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहानको छेउमा गाडिएको थियो । यसअघि दिउँसो २:३० बजे अन्त्येष्टि प्रार्थना गरिएको थियो । 

डिसेम्बर १२ मा राजधानी ढाकामा उस्मान हादीलाई गोली हानी गम्भीर घाइते बनाइएको थियो । उनी रिक्सामा सवार हुँदा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानेका थिए ।हादीलाई तुरुन्तै ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उपचारको लागि सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भयो ।

हादी ढाकाबाट स्वतन्त्र रूपमा चुनाव लडिरहेका थिए । हादी इस्लामिक संगठन ‘इन्किलाब मन्चा’ का प्रवक्ता थिए र ढाकाबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडिरहेका थिए । अगस्ट २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको अवामी लिग सरकारलाई ढाल्ने विद्यार्थी आन्दोलनपछि इन्किलाब मञ्च एउटा संगठनको रूपमा देखा परेको छ । यो संगठन अवामी लिगको पूर्ण उन्मूलनको लागि आह्वान गर्न, यसलाई आतंकवादीको रूपमा लेबल लगाउन र युवाहरूको सुरक्षाको माग गर्न सक्रिय रहेको छ । यो संगठनले राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको संरक्षणमा जोड दिन्छ । यसले मे २०२५ मा अवामी लिगको विघटन र चुनावबाट अयोग्य घोषित गर्नमा प्रमुख भूमिका खेलेको थियो ।

Read More

बंगलादेशको चटगाउँस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालीन बन्द

काठमाडौँ । बंगलादेशस्थित भारतीय भिसा आवेदन केन्द्रले चटगाउँस्थित भारतीय भिसा केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ । चटगाउँस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा हालै भएको आक्रमणको प्रयासपछि यो निर्णय गरिएको बताइएको छ ।

केन्द्रले भनेको छ- ‘चटगाउँस्थित भारतीय सहायक उच्चायुक्तको निवासमा हालै भएको सुरक्षा घटनाका कारण यो निर्णय गरिएको हो । चटगाउँमा सबै भारतीय भिसा-सम्बन्धित काम डिसेम्बर २१ देखि अर्को सूचना नभएसम्म निलम्बित रहनेछ । भिसा आवेदन केन्द्रहरू पुन: खोल्ने सम्बन्धमा जानकारी स्थितिको समीक्षा गरेपछि प्रदान गरिनेछ ।’

बंगलादेशी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि, बिहीबार राति चटगाउँस्थित भारतीय उच्चायुक्तको निवास अगाडि मानिसहरूको एक समूहले धर्ना विरोध प्रदर्शन गरेको थियो । सामाजिक सञ्जालमा प्रसारित विभिन्न भिडियोहरूमा धेरै व्यक्तिहरूले सहायक उच्चायुक्तको निवासमा ढुङ्गा हानेको देखाइएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई लाठीले तितरबितर पारेको छ । प्रहरीले पछि घटनास्थलबाट कम्तिमा १२ जनालाई पक्राउ गरेको छ ।

यसअघि, डिसेम्बर १७ मा, जुलाई ओइक्या नामक प्लेटफर्मले ढाकास्थित भारतीय उच्चायोग घेराबन्दीको घोषणा गरेको थियो । यसपछि, सुरक्षा कारणहरू उद्धृत गर्दै बुधबार दिउँसो जमुना फ्युचर पार्कमा रहेको केन्द्र बन्द गरिएको थियो । यद्यपि, ढाकास्थित भारतीय भिसा आवेदन केन्द्र डिसेम्बर १८ मा पुनः खोलिएको थियो ।

Read More

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् ।

कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गरेका थिए । उनले भने- ‘तपाईँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ । तपाई जहाँ रहे पनि हामी असल मित्रको रुपमा सम्झिनेछौँ ।’ 

सन् २०२५ नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएकाले विभिन्न कार्यक्रमहरु भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू पनि केही कार्यक्रममा सहभागी हुने अवसर मिलेको बताए ।  दुई देशबीच कूटनीतिक सम्बन्धका साथै जनताबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अध्यक्ष दाहालले संसदीय अनुभव आदान प्रदानलाई पनि बढाउँदै लैजानु पर्ने बताए । 

सो अवसरमा राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको उनले बताए । सो अवसरमा राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।

Read More

बोन्डी बीच घटनापछि अस्ट्रेलियाले राष्ट्रिय गुप्तचर निकायको समीक्षा गर्ने

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गत हप्ता भएको बोन्डी समुद्र तट आक्रमणपछि प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् ।

अल्बानीजले आईएसआईएसबाट प्रेरित गत आइतबारको आतंकवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा वातावरणलाई प्रकाश पारेको उल्लेख गर्दै राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका हुन् ।

उनले इस्लामिक स्टेट समूहलाई वर्णन गर्न आईएसआईएस शब्द प्रयोग गरेका थिए । अल्बानीजले भने- ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनको लागि उत्तम सम्भव स्थितिमा हुनुपर्छ ।’

यहूदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीहरूले गोली चलाउँदा पन्ध्र जनाको मृत्यु भएको थियो। अष्ट्रेलियाले आइतबार मृतकलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक समारोह मनाउँदैछ ।

कडा सुरक्षा बीच साँझ ६:४७ बजे एक मिनेट मौन धारण गरिनेछ । एक हप्ता अघि सोही समयमा गोलीबारी सुरु भएको थियो । तीन दशकमा अष्ट्रेलियामा यो पहिलो यस्तो घटना हो, जुन घटनापछि सरकारले बन्दुक स्वामित्व नियमहरूलाई कडा बनाउने योजना बनाएको बताएको छ ।

Read More

नबिल बैंकलाई ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । 

बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए । “यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो । हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ”, सिइओ ज्ञवालीले भने । 

विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ ।

सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

Read More

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाई भेट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्एको योगदानको उच्च प्रशंसा गरेका थिए । सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरेका थिए ।

भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे ।

सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

राजदूत सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे । राजदूत सोङले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताएका थिए ।

Read More

काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान

काठमाडौँ । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।

हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुदै छ ।  

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाईएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । 

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्र्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।

नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।

Read More

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । स्थानीय दक्षिण अफ्रिकी मिडियाका अनुसार जोहानेसबर्गको पश्चिममा रहेको बेकरसडल टाउनशिपमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरूले एउटा अवैध बारमा प्रवेश गरेर चेतावनी बिना नै भीडमाथि अन्धाधुन्ध गोली चलाएको बताइएको छ, जसले गर्दा आतंक र अराजकता सिर्जना भएको थियो । 

प्रहरीले दुईवटा गाडीमा आएका आक्रमणकारीहरूले बार भित्रका मानिसहरूमाथि गोली चलाएका थिए र घटनास्थलबाट भाग्दै अन्धाधुन्ध गोली चलाइरहेका थिए ।  प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए । घटनाको बारेमा थाहा पाएपछि आपतकालीन सेवाहरूले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याएका थिए । गोलीकाण्डमा घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले आक्रमणको अनुसन्धान सुरु गरेको छ, तर अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति वा उद्देश्य पहिचान गरिएको छैन। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको छ ।

यो महिना दक्षिण अफ्रिकामा भएको दोस्रो ठूलो गोलीकाण्डको घटना हो । डिसेम्बरको सुरुमा दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकै गोलीकाण्डको घटना भएको थियो । बन्दुकधारीहरूले त्यहाँको होस्टेलमा आक्रमण गर्दा तीन वर्षीय बालक सहित १२ जनाको मृत्यु भएको थियो ।

Read More