काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारसमक्ष चुनावअघि व्यापक राजनीतिक समझदारी आवश्यक रहेको प्रस्ताव अघि सारेका छन् ।
सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसहितको प्रतिनिधिमण्डलले बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अवलोकन तथा छलफल गरेपछि यस्तो कुरा बाहिर आएको हो ।
सरकारी टोलीमा मन्त्रीद्वय जगदीश खरेल र अनिल कुमार सिन्हा तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । अवलोकनका क्रममा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको तयारी र भावी सहकार्यका विषयमा सरकार र राप्रपा नेतृत्वबीच संवाद भएको बताइएको छ ।
छलफलका क्रममा सरकारका प्रतिनिधिहरूले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरकार अधिकतम प्रयासरत रहेको, निर्वाचन आयोग आवश्यक तयारीमा जुटिसकेको र सुरक्षाका हिसाबले पनि संयन्त्र सक्षम रहेको भन्दै राप्रपा नेतृत्वलाई आश्वस्त गराउने प्रयास गरेका थिए ।
यता राप्रपा अध्यक्ष लिङ्देनले भने मुलुकलाई निर्वाचनभन्दा अघि ‘नवीन समझदारीको फराकिलो बाटो’मा लैजान आवश्यक रहेको धारणा सरकारसमक्ष स्पष्ट रूपमा राखेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । लिङ्देनले राप्रपा एक जिम्मेवार प्रजातान्त्रिक दल भएकाले निर्वाचन प्रक्रियालाई सदुपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यसै क्रममा राप्रपाले विदेशमा रहेका नेपाली नागरिक र एक जिल्लाबाट अर्को जिल्लामा रहेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था यसै निर्वाचनबाट सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
राप्रपाले लामो समयदेखि राजनीतिक दल, सरकार र राजसंस्थाबीच नयाँ समझदारी गरेर राजसंस्था पुनर्स्थापना, नेपाललाई हिन्दु अधिराज्य घोषणा तथा संघीय संरचना खारेज गर्नुपर्ने माग गर्दै आएको छ । पछिल्लो भेटघाटसँगै यी मुद्दा फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आउने संकेत देखिएको छ ।
Read More