२०८३ बैशाख १३

कोशीमा पानीको तीव्र बहाव, आसपासका बस्तीमा उच्च सतर्कता

काठमाडौं, २० साउन । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।

सोमबार बिहान ६ बजेको मापन अनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए।

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।