काठमाडौं, २५ साउन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रा.लि. चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौतामा सानिमा रिलायन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार सानिमा रिलायन्ससँग आवद्ध विमित, अभिकर्ता तथा कर्मचारीहरूले अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्मको सहुलियत पाउने व्यवस्था गरिएको छ। कम्पनीका क्षेत्र प्रबन्धक इशा प्रधानका अनुसार सम्झौतापछि सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा र खर्चमा सहुलियतको सुविधा एकसाथ पाउने छन्।
अध्यक्ष डा. भक्तमान श्रेष्ठले इन्स्योरेन्स कम्पनीसँगको सहकार्यलाई अस्पताल प्रशासनले खुशीपूर्वक स्वागत गरेको बताउँदै आवश्यकता अनुसार थप सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे। सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भई दुई वर्षसम्म प्रभावकारी रहने जनाइएको छ।
सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर, म्यानेजर अरुण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदीप पराजुली लगायतको उपस्थिति थियो।
कम्पनीका अनुसार यस सहकार्यले सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा पहुँच र सुविधा विस्तारमा सहयोग पुग्नेछ।




