काठमाडौँ, ३ भदौ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्धन गरेको छ । मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।
नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन् । तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि रहेको छ । भिनस्ट्राले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन्।
१८८ से.मी.अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनी सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । सन् २०२४ मा उनले सुडोसा-डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।
भिनस्ट्राले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उन्ले नेपालको नाम धेरै सुनेको र नेपालमा आएर खेल्न उनि धेरै उत्साहित रहेको बताएकी छन् ।
मधेश टिममा निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना रहेका छन् भने प्रशिक्षकमा कोपिला उप्रेती रहेकी छन् ।




