२०८३ बैशाख १३

बलिवुडका चर्चित अभिनेता अच्युत पोद्दारको निधन

काठमाडौँ, ३ भदौ । बलिवुडका चर्चित अभिनेता अच्युत पोद्दारको ९१ वर्षको उमेरमा निधन भएको छ ।

हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोद्दारको गएराती मुम्बईस्थित जुपिटर अस्पतालमा उपचारको क्रममा निधन भएको जिन्यूजले उल्लेख गरेको छ ।

पोद्दारले मध्य प्रदेशको रेवामा प्रोफेसरको रूपमा काम गरेका थिए । त्यसपछि उनी सेनामा भर्ना भए । १९६७ मा क्याप्टेन पदबाट अवकाश लिए । पछि उनले इन्डियन आयल कम्पनीमा काम गरे । यहाँ काम गर्दा गर्दै उनी रंगमञ्चमा सामेल भए र रंगमञ्च नाटकमा अभिनय गर्न थाले । त्यसपछि उनी ४४ वर्षको उमेरमा फिल्मको दुनियाँमा प्रवेश गरे ।

उनी ‘३ इडियट्स’ फिल्ममा प्राध्यापकको भूमिका निर्वाह गरेर प्रसिद्ध भए । फिल्ममा उनको एउटा प्रसिद्ध संवाद ‘कहना क्या चाहते हो ? निकै लोकप्रिय भयो, यो संवाद मीम्सको दुनियाँमा लाखौं पटक प्रयोग भएको छ ।

अच्युत पोद्दारले ‘३ इडियट्स’ बाहेक ‘दबंग २’, ‘फेरारी की सवारी’ र अमिताभ बच्चनको ‘भूतनाथ’ मा पनि देखा परे । उनले टिभी सिरियल ‘अमिता का अमित’ मा पनि अभिनय गरेका थिए ।