२०८३ बैशाख १३

महालक्ष्मी विकास बैंकको नाफा उकालो, लाभांश क्षमतामा उल्लेखनीय सुधार

काठमाडौँ, ५ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले वित्तीय सूचकहरूमा सन्तुलित सुधार गर्दै नाफा, निक्षेप, कर्जा परिचालन र लाभांश वितरण क्षमतामा उल्लेखनीय प्रगति गरेको जनाएको छ।

बैंकको प्रकाशित विवरणअनुसार, आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा खुद नाफा रु. ५० करोड ३ लाख पुगेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको लाभांश वितरण क्षमता वृद्धि भई ११.५१ प्रतिशतमा पुगेको छ। यसले बैंकले निकट भविष्यमा शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने क्षमता बढाएको स्पष्ट संकेत गरेको छ।

वित्तीय विवरणले देखाउँछ कि २०८१/८२ को अन्त्यसम्म बैंकले रु. ५६ अर्ब २२ करोड निक्षेप संकलन गरेको छ। सोही अवधिमा बैंकले रु. ४५ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.०५ प्रतिशतले बढी हो। कर्जा प्रवाह बढ्दो भए पनि बैंकले कर्जा निक्षेप अनुपातलाई ८३.९८ प्रतिशतमा सीमित राखेको छ।

शेयरधनी प्रतिफल (ROE) ११.७९ प्रतिशत पुगेको छ भने खराब कर्जा अनुपात (NPL) ४.८६ प्रतिशतमा कायम भएको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र छ। यसले बैंकको कर्जा गुणस्तर नियामक मापदण्ड अनुरूप रहेको प्रमाणित गर्दछ। त्यस्तै, पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) पर्याप्त भएकाले आगामी दिनहरूमा व्यवसाय विस्तार गर्न बैंकलाई पुँजीगत दबाब नपर्ने बैंकको दाबी छ।

कोष व्यवस्थापनतर्फ पनि बैंकले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। २०८१/८२ आषाढ मसान्तसम्म बैंकको कोष लागत ४.५६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशतले कम हो। कोष लागत घट्दा यसको प्रत्यक्ष सकारात्मक असर आधारदरमा परेको छ। २०८२ साउन मसान्तसम्म बैंकको आधारदर ६.५४ प्रतिशतमा झरेको छ। यसले गर्दा ग्राहकहरूले लिने ऋणमा ब्याजदर पनि कम हुने भएकाले ऋणीहरूलाई प्रत्यक्ष लाभ हुने देखिन्छ।

प्रविधिमैत्री सेवा विस्तारतर्फ पनि महालक्ष्मी विकास बैंक सक्रिय देखिएको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ। यसले डिजिटल वित्तीय सेवाको पहुँचलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले गुणस्तरीय वित्तीय सेवा जनताको घरदैलोमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ। हाल बैंकसँग १०३ शाखा कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ भने ८ लाखभन्दा बढी ग्राहकले नियमित सेवा उपभोग गर्दै आएका छन्। बैंकले आगामी दिनमा पनि दिगो विकास र प्रविधिमैत्री वित्तीय सेवामार्फत आफ्नो भूमिका अझ सशक्त बनाउने लक्ष्य लिएको छ।